२३ भदौ, दाङ । वारीमा टमाटरका दाना जति राता हुन्छन्, रोल्पा त्रिवेणि गाउपालिका—२ का किसान हिरामणि घर्तिको मन त्यतिनै भारी हुन्छ । पाकेको टमाटरमा उत्साह होइन खिन्नता देख्छन् हिरामणि । वेमौसममा एक सय सम्म प्रतिकिलोमा टमाटर बेच्ने किसानले यो बर्ष प्रतिकिलो ५० रुपैया भन्दा बढि मुल्य पाएनन् । अचेल त उनीहरुले प्रतिकिलो ५ रुप्पेमा बेच्न खोज्दा पनि टमाटर वारीमै सड्न थालेको छ ।
यस वर्ष ५० नाघेन टमाटरको भाउ । असार महिनासम्म प्रतिकिलो १० देखि २० रुपैयासम्म बेचियो तर भदौमा भने ५ रुपैयाप्रतिकिलोमा विक्रि गर्न खोज्दा समेत व्यापारीले लग्न चाहेनन् । राम्रो खेति गरेका किसानहरुले एकजनाको करिब ८देखि १० क्विन्टलसम्म टमाटर उत्पादन हुने गरेको छ त्रिवेढिामा । हप्तामा दुई दिन लाग्ने हाटबजारमा पनि किसानहरुले उत्पादन गरेका टमाटर विक्रि नहुँदा रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. २ नुवागाउँका किसानहरु चिन्तित छन् ।
विक्रि गर्न टिपेका टमाटरले बजार नपाउँदा पशुचौपायालाई खुवाउन बाध्य भएको तरकारी किसानहरुले बताएका छन् । नुवागाउँमा सबै घरधुरीले तरकारी खेती गरेका छन् । त्यहाँका किसानहरु हाटबजार लाग्ने भएपछि सबै गाउँलेहरु तरकारी टिपेर करिब ढाई घण्टा हिडेर हाटबजार लाग्ने ठाउँमा तरकारीहरु बेच्न पुग्ने गर्दछन् । साथै त्रिवेणी गाउँपालिका वडा नं. १ बाट पनि ३–४ घण्टा लाग्ने बाटोको यात्रा गरी तरकारी विक्रि गर्न किसानहरु आउने गर्दछन् । आफुले उत्पादन गरेको तरकारी विक्रि नभएपछि निराश भएर त्यही तरकारी लिएर घर फर्किने गरेको त्रिवेणी गाउँपालिका वडा नं. २ निवासी किसान हिरामणि घर्तीले बताए । किसानहरुको मेहनतलाइ विचौलियाहरुले कत्तिपनि मुल्यांकन नगर्ने गरेको किसानहरुको आरोप छ ।
गाउपालिकाको ‘२ नं. वडामा मात्रै २÷३ ठाउँमा हाट बजार लाग्ने गर्दछ । ‘शनिबार र मंगलबार लागे हाटबजारमा विक्रि गर्नको लागि तरकारी लगिएको हुन्छ खरिद गर्ने व्यापारी भने आउँदैनन’, घर्तीले भने । ‘टमाटर विक्रि नहुँदा मंंगलवार र बुधबार गरी करिब ६० क्विन्टल टमाटर पशु चौपायालाइ खुवाउन बाध्य भएको बताएका छन् । कोरोना महामारीका कारण बाहिर कमाउन जान पाइएन गाउँमा बसेर खेती सुरु गरियो तर तरकारी विक्रि नहुँदा फाल्नु परेको बताए ।
उत्पादन गरेको तरकारीले बजार नपाउँदा छाक टार्न मुस्किल हुने गरेको छ । कहिले काँही डोकोमा बोकेर पनि तरकारी विक्रि गर्न जानु पर्ने बाध्यता रहेको छ घर्तीले दुःख व्यक्त गरे । आफ्नो मुख्य पेशा नै तरकारी खती भएकोले घरपरिवार सबै मिलेर उत्पादन गरेको तरकारी समयमा विक्रि नहुँदा आफूहरु मर्कामा परेको घर्तीको भनाई छ । तरकारी खरिद गर्न फाटफुट गरी १–२ जना व्यापारीहरु आउँछन् प्रतिकिलो ५ रुपैयाँका दरले टमाटर लैजान आग्रह गर्दा पनि विक्रि हुन नसकेको बताए । नुवागाउँमा लाग्ने हाटबजारमा होलेरी, दहवन, सल्यान कपुरकोट र विशेषगरी रुन्टिगढी गाउँपालिका अन्तर्गतका व्यापारीहरु आउने गरेको घर्तीले बताए ।
वर्षायाम सुरु भएपछि बाटो विग्रिएका कारण रोल्पाको त्रिवेणी गाउँपालिकाको नुवागाउँसम्म पुग्न कठिन हुन्छ त्यसैले यहाँसम्म तरकारी खरिद गर्ने व्यापारीहरु नआएको घर्तीको भनाइ छ । पटक पटक सडक कटिङ हुने भएकाले पनि यहाँ उत्पादन भएका तरकारीहरु निकास हुन नसकेको उनले बताए । त्यस्तै सोही वडामा रहको गाउँले कृषि सहकारी संस्थाका अध्यक्ष निमप्रसाद वलीले गाउँमा सबैले उत्पादनको गरेको तरकारी यसरी खेर जाँदा किसानहरु मर्कामा परेको बताए ।
किसानहरुले २–४ पैसा भए पनि आउने आशमा विक्रि गर्नको लागि टमाटर टिपेर हाटबजारसम्म पुर्याउँछन् तर त्यहाँ तरकारी खरिद गर्न व्यापारी नै नआएउँदा तरकारी कुहिएर खेर गएको वलीले बताए । त्रिवेणी गाउँपालिका क्षेत्रमा भएको तरकारी उत्पादन अनुसार बजार नपाउँदा किसानहरु निराश छन् ।