दाङमा चिनिएका काँग्रेस नेताहरुनै क्षेत्रीय प्रतिनिधिमा पराजित

२३ भदौ, तुलसीपुर । दुई दशक भन्दा बढी समयदेखि निरन्तर क्षेत्रीय प्रतिनिधि चुनिदै आएका कांग्रेसका पूर्व जिल्ला सचिव कुमुदकुमार शर्मा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा हार व्यहोरेका छन् ।

शर्माले समाजिक सञ्जालमा स्टाटस लेखे ‘दूई जना हाल कार्यरत शिक्षक र एक जना नेसंविका कर्मचारीसंग अपवित्र गठजोड गरी मेरो राजनीतिक यात्रा रोक्न सफल इकाइ सभापति लालबहादुर गिरीलाई हार्दिक शुभकामना।’

तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी शर्मा पार्टीको नेपाली कांग्रेसको १४औं महाधिवेशनका क्रममा वडाबाट क्षेत्रीय प्रतिनिधिका एकजना उम्मेदवार थिए । नेतृत्व चुन्न निर्वाचन भयो । उक्त निर्वाचनबाट शर्मा निर्वाचित हुन सकेनन् ।

पराजय भोगेपछि उनले लेखेको स्ट्याटसले राजनीतिक बृत्तमा निकै चर्चा पायो ।

कांग्रेस जिल्ला कार्यसमिति सदस्य गोविन्द रेग्मी यसैपाली लमही नगरपालिका वडा नं. १ बाट क्षेत्रीय प्रतिनिधिमा पराजित भए । योगदानका हिसावले उनी यो महाधिवेशनमा निर्वाचित हुनु पर्दथ्यो ।

उमेरका हिसावले पनि रेग्मी राजनीतिक रिटायर्ड लाइफको अवस्थामा छैनन् । तर, उनले हार बेहोर्नु पर्यो ।

त्यस्तै महाधिवेशन प्रतिनिधि तथा यस अघिका पूर्व क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालीसकेका मदन रसिक पनि क्षेत्रीय प्रतिनिधिमा आउन सकेनन् ।
शान्तिनगर गाउँपालिका वडा नं. ४ बाट उनी उम्मेदवार बनेका थिए ।

जनआन्दोलन २०६२÷०६३का जिउँदो सहिदका रुपमा चिनिने कृष्ण गिरी पनि निर्वाचित हुन सकेनन् ।

शान्तिपूर्ण जनआन्दोलनका क्रममा उनलाई तत्कालीन शाही सेनाले घोराहीको शहिद चोक नजिकै गोली हानेको थियो । त्यसै कारण आज उनी ह्विल चियरमा छन् ।

कांग्रेस महासमिति सदस्य टेकबहादुर डाँगी घोराही उपमहानगरपालिका वडा नं. ११ मा पराजित भए ।

घोराही उपमहानगरपालिका वडा नं. ५ धर्नाका क्रियाशील सदस्यहरुले गिरीको योगदानमा अहिलेका लागि पूर्णबिराम लगाइ दिए । गिरी कांग्रेस दाङको पूर्व जिल्ला सदस्य पनि हुन ।

त्यसैगरी घोराही उपमहानगरपालिका वडा नं. ५ मै दलित नेता खड्कबहादुर विश्वकर्माले पराजय व्यहोर्नु पर्यो । नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष सम्मको जिम्मेवारी सम्हालेका नेता विश्वकर्मालाई उनको कर्मथलो धर्नाका क्रियाशील सदस्यहरुले विश्वासको मत दिएनन् ।

धर्नाकै महिला नेतृ लोका विक पनि पराजित भइन् । जो जिल्ला समन्वय समिति दाङकी सदस्य पनि हुन ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा काँग्रेसका पूर्व महासमिति सदस्य समेत रहेका तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत पनि पराजित भए । सुरुमा गणना गर्दा धुर्ब आचार्यसंग बराबर मत थियो ।

गोलापर्थाबाट नेतृत्व चयन गर्ने कुरा चल्दा कुरा मिलेन । फेरि मत गणना गर्दा आचार्यको २२० र बस्नेतको २१९ मत मात्रै पुग्यो । बस्नेत एक मतले हार व्यहोर्न विवश भए ।

नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष मुरारीप्रसाद शर्मा लमही नगरपालिका वडा नं. १ बाट पराजित भए ।

माथि उल्लेखित नेताहरु केही प्रतिनिधि पात्र मात्रै हुन । अन्य धेरै स्थापित र पुराना नेताहरु वडाबाटै पछारिएका छन् ।

यद्यपी तुलसीपुर ५ बाट चुनाब लडेका काँग्रेसका पूर्व जिल्ला सभापति तथा पूर्व माननीय गेहेन्द्र गिरीले भने क्षेत्रीय प्रतिनिधिमा बाजी मारेका छन् ।

निर्वाचनका परिणामहरुलाई लिएर काँग्रेसभित्रै टिके पर्था समाप्त भएको तथा लोकतान्त्रिक अभ्यासको थालनी वडाबाटै सुरु भएको तर्क गर्नेहरु पनि धेरै छन् ।

तर, अहिलेको अभ्यासमा पनि केही बिकृति र विसंगतिहरु देखिएको कांग्रेस अगुवा नेताहरुको तर्क छ ।

कांग्रेसको संशोधित विधानले महाधिवेशनमा स्थानीय पालिकादेखि प्रदेश र केन्द्रीय महाधिवेशनमा सहभागिताका लागि कांग्रेस केन्द्रीय सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यहरु, राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेश सभा तथा संविधानसभाका निर्वाचित, पराजित तथा वन्द सूचिका नेताहरु, क्षेत्रीय सभापतिहरु र जिल्ला सभापतिलाई पार्टीको कुनै पनि माथिल्लो तहमा पुग्नका लागि तल्लो बुथबाट निर्वाचित हुनु नपर्ने ब्यबस्था गरेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस