लुम्बिनीका सहरी विकासमन्त्री चौधरीलाई थप ३ मन्त्रालयको जिम्मा

२२ भदौ, बुटवल । लुम्बिनी प्रदेशको पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीलाई थप ३ वटा मन्त्रालयको जिम्मा दिइएको छ ।

गठबन्धनमा रहेका दलहरुबीच भागवण्डा मिलाउन नसक्दा मन्त्रिपरिषद विस्तारमा समय लागेपछि कांग्रेसको भागमा पर्ने तीनवटा मन्त्रालयको जिम्मेवारी मन्त्री चौधरीलाई दिइएको हो ।

मन्त्री चौधरीले उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, वन वातावरण तथा भु संरक्षण मन्त्रालय र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालय गरी ३ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । मन्त्रिपरिषद विस्तार नहुँदासम्म लागि मुख्यमन्त्री कुलप्रसाद केसीले तीन मन्त्रालयको जिम्मेवारी आफूलाई प्रदान गरेको मन्त्री चौधरीले बताए ।

नेपाली कांग्रेसका मन्त्रीको आकांक्षी धेरै भएपछि पार्टीले मन्त्री टुंगो लगाउन सकेको छैन । लुम्बिनीमा साउन २८ गते माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका थिए ।

सोही दिन नेपाली कांग्रेसका चौधरी र माओवादी केन्द्रका कृष्णध्वज खड्का आर्थिक मामिला मन्त्री, जनता समाजवादी पार्टीका सहसराम यादव भौतिक पूर्वाधार विकासमन्त्री तथा जसपाकै दुईजना र स्वतन्त्र सांसद अजय शाही विना विभागीय मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री केसीले ५ वटा मन्त्रालय आफैंसँग राखेका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस