३८५ घर डुबान, २४७ जनाको उद्धार

काठमाडौंमा बाढी :

२१ भदौ, काठमाडौं । गएरातिको अविरल वर्षाले काठमाडौं उपत्यकामा बाढी आएपछि ३८५ घर डुबानमा परेका छन् भने डुवानमा परेमा २४७ जनाको उद्धार गरिएको छ ।

महानगरीय प्रहरी कार्यालयकाअनुसार काठमाडौंको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको छ ।

काठमाडौंबाट २३२ र ललितपुरबाट १५ मजदुरको उद्धार गरिएको प्रहरीले बताएको छ । अहिलेसम्म डुबानबाट मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंकाअनुसार पशुपतिको गुह्वेश्वरी क्षेत्र, अनामनगर, शंखमुल, घट्टेकुलो, बानेश्वरका केही क्षेत्र पनि जलमग्न भएको छ । भारी वर्षा हुँदा सो क्षेत्र विगतमा पनि जलमग्न बन्ने गरेको थियो ।

बागमती किनार क्षेत्रमा सुकुम्बासी बस्तीहरुमा बाढी पसेको छ । वर्षापछि बागमतीमा ठूलो बाढी आउँदा किनारका बस्तीमा बाढी पसेको हो ।

यस्तै अविरल वर्षाले बागमतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र डुबानमा परेको छ ।

मन्दिरमुनिको चौर डुबानमा परेपछि दिवंगत पितृका नाममा भाद्रकृष्ण औँसीमा श्राद्ध गर्न आउने भक्तजन प्रभावित भएका छन् ।

पानीसँगै आएको बाढीले यस क्षेत्रको सडकमा क्षती पुर्याएको छ । जोरपाटी सुन्दरीजल सडक विस्तारका क्रममा ठाउँ ठाउँमा अलपत्र रहेको भाग बाढीले प्रभावित भएको छ । अधिकांश भित्री सडक जलमग्न भएको छ ।

आइतबार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले उपत्यकाका धेरै स्थान प्रभावित भएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस