तीन महिनामा १८८ जना प्रतिवादीहरु पक्राउ


दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन महिनाको अवधिमा विभिन्न मुद्धामा संलग्न १८८ जना प्रतिवादीहरु पक्राउ गरेको छ । कार्यालयमा दर्ता भएका १४४ मुद्धामा संलग्न १८८ प्रतिवादीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

उनकाअनुसार पक्राउ परेकामध्ये ९३ जना प्रतिवादीहरु पुर्पक्षका लागि कारागार चलान भएका छन् । यस्तै पक्राउ परेका ९६ जना प्रतिवादीहरु धरौटीमा तथा फैसला भइ छुटेको प्रमुख अर्यालले बताए ।

प्रहरीले तीन महिनाको अवधिमा दश वटा लागु औषधका २४ जना, बन मुद्धाका ४ जना, बन्यजन्तु जरायोको सिंह कारोबारको आरोपमा ३ जनालाई पक्राउ गरी कार्वाहीका लागि प्रक्रिया अघि बढाएको र अदालतबाट फैसला भई सजाय पाइसकेका तर फरार रहेका ११ जनालाई पनि पक्राउ गरेको छ । यस्तै १५ जना प्रतिवादीलाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रमुख अर्यालले जानकारी दिए ।

यस्तै प्रहरीले मेडिकलहरुमा समेत लागुऔषध बिक्रि वितरण गरेको समेते फेला पारेपछि तीन जना मेडिकल संचालकलाई कार्बाहीका लागि औषधि विभागमा पठाएको छ ।

कार्यालयले तीन महिनाको अवधिमा अवैधरुपमा नदिजन्य वस्तुको चोरी निकासी गर्ने ७० वटा ट्याक्टर, ५ वटा टिप्पर र २ वटा जेसिबीसमेत नियन्त्रयमा लिएको छ । इलाका प्रहरी कार्यालयले यस अवधिमा नदिजन्य वस्तुको चोरी निकासी गर्नेबाट १८ लाख ८५ हजार राजश्व संकलन गरेको प्रमुख अर्यालले बताए ।

दशैँको अवसरमा आज पत्रकारसंग गरेको अन्तरक्रियामा चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी सक्रिय रहेको उनले बताए । चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैति, दुर्घटना लगायतका घटना न्युनीकरणका लागि सादा पोषाकका परिचालन गरिएको प्रमुख अर्यालले बताए ।

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस