दाङ । चाडपर्व आउदै गर्दा दाङका बजारहरुमा चहल पहल बढेको छ । मुख्य बजारहरु घोराही, तुलसीपुर, लमही, बिजौरी, नारायणपुर, भालुवाङमा किनमेल गर्नेहरुको चहल पहल बढेको हो ।
गाउँघरमा दशैँको लागि भनेर घर लिपपोत गर्न थालिएको छ भने शहर बजारहरुमा भने नयाँ कपडा, गरगहना सँगै खाद्यान्न किन्नेको भिड लाग्ने गरेको छ । गाउँघरबाट सामान किनमेलका लागि बजार आउने जानेको यातायातका साधनमा समेत चाप बढेको छ ।
यसैबिच सरकारी निकायले बजारमा अनुगमन निरन्तर भइरहेको दाबी गरे पनि उपभोक्ताले बजारको अवस्था नसुध्रिएको गुनासो गरेका छन् ।
बजारमा कालोबजारी र अनियमिता हुँदा आफूहरु ठगिँदै आएको उपभोक्ताको गुनासो छ । व्यापारीले मनलाग्दी भाउ लिने गरेका र सुपथ मूल्य पसलमा जाँदा चिनिलगायत अत्यावश्यक वस्तुको अभाव रहेको तुलसीपुरका शेरबहादुर पुनले गुनासो गर्नुभयो ।
अहिले चाडपर्व केन्द्रित बजार अनुगमन हुँदै आएको छ । चाडपर्वमा बढी सामानको माग र खपत हुने हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने र नापतौलमा ठगी गर्नेजस्ता समस्या नहोऊन् भनेर अनुगमन गरिरहेको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले बताउनुभयो ।
उहाँका अनुसार अहिले पनि अधिकांश पसलमा म्याद गुज्रिएका वस्तु खुलेआम बिक्रिवितरण हुने गरेका छन् । उपभोक्ताको सचेतना अभाव र व्यवसायीको चरम लापरबाहीका कारण म्याद गुज्रिएका वस्तुको बिक्रिवितरण हुने क्रम रोकिन नसकेको उहाँले बताउनुभयो ।
कोरोना संक्रमण मथ्थर हुदै गर्दा र चाडपर्व आउदै गर्दा व्यापार पनि राम्रो हुने व्यापारीहरु आशामा छन् । यता दाङ जिल्ला उद्योग बाणिज्य संघले उपभोक्ता अधिकार प्रति सचेत र इमान्दार बन्न व्यवसयाीहरुलाई आग्रह गर्दै आएको छ ।
कमाउने नाममा कालोबजारी, मूल्य बृद्धी र मिसावट नगर्न सबै व्यवसायीहरुलाई सचेत पारिएको संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताउनुभयो । प्रहरीले पनि सरसमान र व्यक्तिगत सुरक्षामा ध्यान दिन नागरिकहरुलाई आग्रह गरेको छ ।