एमाले जिल्ला कमिटीले साउनभित्र पार्टी सदस्यता नविकरण गरिसक्नुपर्ने

काठमाडौं । नेकपा एमालेले पार्टीका सबै जिल्ला कमिटीलाई साउन महिनाभित्रमा पार्टी सदस्यता नविकरण गरेर भदौसम्म संगठन विभागबाट प्रमाणीकरण गरिसक्न निर्देशन दिएको छ ।

बुधवार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । साथै, अधिवेशन गर्न बाँकी ११ वटा जिल्लामा आगामी कार्तिकभित्र अधिवेशन गरिसक्नुपर्ने निर्णय भएको छ ।

अहिले भएको कमिटीलाई संगठन कमिटीमा रूपान्तरण गर्ने, समन्वय कमिटीलाई प्रभावकारी बनाउन २० प्रतिशतसम्म सदस्य मनोनयन गर्न पाउने र त्यहाँभित्र सचिवालय बनाउन पाउने निर्णय भएको पनि उनले बताए ।

साथै, पार्टीले सहकारी तथा गरिबी निवारण विभागको सचिवको जिम्मेवारी परितोष पौडेललाई दिने र भूमि व्यवस्था विभागको सचिवको जिम्मेवारी विजय सुवेदीलाई दिने निर्णय गरेको छ ।

बैठकले प्रदेश कमिटीले अनुमोदनका लागि पठाएका प्रस्तावलाई अनुमोदन गरेको छ ।

त्यस्तै, बैठकले गत वर्ष एक वर्षका लागि पार्टीका सबै केन्द्रिय सदस्यहरूलाई सम्बन्धित भूगोल भन्दा बाहिरको जिम्मेवारी दिएकोमा अब आफ्नै भूगोलको जिम्मेवारीमा फर्काउने निर्णय गरेको उनले जानकारी दिए ।

ज्ञवालीले नयाँ कार्यविभाजनको आधार अब केन्द्रिय सदस्यलाई सबैभन्दा तल्लो इकाइका रूपमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रको जिम्मा दिने, जिल्ला वा प्रदेशको पनि लिनसक्ने व्यवस्था मिलाइने बताइ ।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस