बाढीपीडितलाई समयमै राहत दिन राष्ट्रियसभाका सांसदको माग

राष्ट्रियसभाका सांसदहरूले बाढीपीडितलाई समयमै राहत दिन सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको बिहीवारको बैठकको शून्य समयमा उनीहरूले प्राकृतिक विपद्बाट पीडित भएकालाई चाँडोभन्दा चाँडो राहतका साथै बसोबासको प्रबन्ध मिलाउन जोड दिए ।

राष्ट्रियसभा सदस्य सुमित्रा बीसीले बाढीपहिरो जस्ता प्राकृतिक विपद्बाट पीडितलाई राहत उपलब्ध गराउनु राज्यको दायित्व भएको बताइन् । उनले गत कात्तिकमा जारजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पीडितलाई हालसम्म राहत उपलब्ध नगराएको, पालमुनी बस्दा दैनिक जीवन कष्टकर बनेकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद शारदादेवी भट्टले सरकार बाढीपहिरो आउनुपूर्व उद्धार र राहतको तयारीमा जुट्नुपर्ने बताइन् ।

सांसद तुलसाकुमारी दाहालले विद्यालय शिक्षा कमजोर बन्दै गइरहेको भन्दै शैक्षिक अवस्था सुधार गर्न सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिइन् ।

सांसद मृगेन्द्रसिंह यादवले किसानले सुलभ रुपमा मल पाउनुपर्ने बताए ।

यसैबीच बिहीवार विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमध्ये विभिन्न मन्त्रालयका विषयमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यतालिका छ ।

प्रकाशित मिति : २०८१ असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस