
काठमाडाैं । सरकारले संघीय संसदको बजेट अधिवेशन आगामी बैशाख २५ गते बोलाउने तयारी गरेको छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संसदको आगामी बजेट अधिवेशन बैशाख २५ अथवा २६ गते बोलाउने तयारी गरिएको जानकारी दिनुभएको हो ।
उहाँले आगामी अधिवेशनमा समितिमा छलफलका क्रममा रहेका विधेयकहरुलाई छिट्टै टुंग्याएर संसदमा लैजाने तयारी भइरहेको बताउनुभयो । त्यस्तै संविधान र संघीयतालाई कार्यान्वयन गर्ने सवालमा थुप्रै ऐनहरु संशोधन गर्नु आवश्यक रहेको भन्दै ऐन संशोधन गर्नेगरी अगाडी बढिने पनि उहाँको भनाइ छ ।
उहाँले बजेट अधिवेशन भएपनि धेरैभन्दा धेरै विधेयक पारित हुने विश्वास व्यक्त गर्नुभयो। मन्त्री गिरीले सहकारी समस्या समाधानका लागि अध्यादेश ल्याउन सकिने पनि जानकारी गराउनुभयो । यद्यपि छिटो पारित गर्नेगरी संसदमा विधेयक नै आउनसक्ने पनि उहाँले बताउनुभयो ।
मन्त्री गिरीले संसद बैठक सञ्चालनमा गतिरोध उत्पन्न हुनुपर्ने कुनै कारण नै नभएको बताउनुभयो । उहाँले संसदलाई सहज ढंगले चलाउनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग छलफल भइरहेको र सकारात्मक कुरा भएको बताउनुभयो ।