२०५४ सालका गाविस अध्यक्ष भण्डारी प्रदेश सभा सदस्यमा विजयी, अभिषेकले जोगाउन सकेनन् विरासत

धनगढी – २०५४ सालमा तत्कालीन मटेला गाविसमा एमालेका तर्फबाट गाविस अध्यक्ष निर्वाचित भएका दमन भण्डारी २७ वर्षपछि एमालेकै तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई २ सय ६६ मताअन्तरले पराजित गरे।

भण्डारीले ११ हजार ६१२ मत पाउँदा कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे। यसअघि २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा अभिषेकका बुवा पृथ्वीबहादुर सिंह यसै निर्वाचन क्षेत्रबाट १७ हजारभन्दा बढी मत ल्याएर विजयी भएका थिए। त्यतिबेला माओवादी, समाजवादी र कांग्रेसको गठबन्धनसँग एमालेका उम्मेदवार अफिलाल ओखेडा १३ हजार मत पाएर पराजित भएका थिए।

गत असारमा मन्त्री भएकै बेला दुर्घटनामा परी पृथ्वीबहादुर सिंहको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो। यस उपनिर्वाचनमा स्वर्गीय सिंहका छोरा अभिषेक निर्वाचन लडे पनि बुवाको विरासत जोगाउन सकेनन्।

एमाले उम्मेदवार दमन भण्डारी निर्वाचित हुँदा यहाँका बाँकी ६ दलले ५० मत पनि पाउन सकेनन्। ६१ हजार ७ सय ६८ मतदातामध्ये ३० हजार ३ सय २८ जनाले मतदान गरेका थिए। तीमध्ये २९ हजार ७०४ मत सदर भए।

सदर भएको मतमध्ये सबैभन्दा धेरै एमालेले पाउँदा सबैभन्दा कम नेसनल रिपब्लिक नेपाल पार्टीले पायो। उडिरहेको माहुरी चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका कमल घर्ती मगरले २ मत मात्रै पाए। नेपाल मजदुर किसान पार्टीका खगेन्द्र बहादुर शाहीले २४ मत पाउँदा जनमत पार्टीकी सुशीला देवी विष्टले २६ मत पाइन्।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपक बहादुर खड्काले २८ मत पाउँदा राष्ट्रिय मातृभूमि पार्टीमा गजेन्द्र बहादुर थापाले ३५ मत पाए। बझाङ उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालका रामबहादुर जाग्रीले ४४ मत पाए।

उपनिर्वाचनमा ११ दलका उम्मेदवार रहेकोमा एमाले, कांग्रेस र माओवादीबाहेक सबैको जमानत जफत भएको छ।

को हुन् दमन भण्डारी ?

बझाङ प्रदेशसभा १ मा निर्वाचित भएका नेकपा एमालेका उम्मेदवार ५७ वर्षीय दमनबहादुर भण्डारी छबिसपाथिभेरा गाउँपालिका –१ भण्डारी गाउँमा जन्मिएका हुन्। २०४१ सालमा एसएलसी दिएर काठमाडौँ जाँदा अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरू गरेका थिए।

उनी नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववियुमा आबद्ध भएका थिए। उनले नेपाल ल क्याम्पसबाट बीएल गरेपछि बझाङ फर्किएर सामाजिक कार्यमा लागे। २०५४ सालमा उनी नेकपा एमालेका तर्फबाट मटेला गाविसका अध्यक्ष निर्वाचित भए।

२०५५ साल नेकपा जिल्ला कमिटी सदस्य हुँदै २०५६ सालमा गाविस राष्ट्रिय महासंघका जिल्ला अध्यक्ष निर्वाचित भए। त्यसपछि उनी युवा संघ नेपालका सेती अञ्चल सचिवसमेत बने। नेकपा एमालेभित्र राम्रो काम गर्दै गएका दमन २०६९ सालमा जिल्ला कमिटी सचिवका रुपमा चुनिए।

२०७८ सालदेखि हालसम्म उनी नेकपा एमाले बझाङ जिल्ला कमिटी अध्यक्ष छन्। उनले यसअघि बझाङमा लैङ्गिक हिंसाविरुद्ध अभियान पनि चलाएका थिए। उनलाई एमालेभित्र इमान्दार, भद्र र शालिन पात्रका रुपमा लिने गरिन्छ। उपनिर्वाचनको मुखमा यही वैशाख ११ गते उनले बुबा गुमाएका थिए।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस