सुकुम्बासी मेयरको घरमा सरकारी भान्से

तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्कालाई धेरैले सुकुम्बासी मेयरका रुपमा चिन्दछन् ।

 उहाँको परिचय यतिमा मात्रै सिमित छैन् । उहाँलाई धेरैले सादगी नेताको रुपमा लिने गरेका छन् ।

 उहाँले  चुनाव जित्नुको कारण अरु पनि थिएन । सुकुमवासी नेता त्यसमा पनि सादगी भएकै कारण उहाँले गत वर्ष भएको चुनावमा ३१ हजार ४०८ लोकप्रिय मत ल्याएर नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । 

गतवर्ष निर्वाचनकै समयमा रोटी पकाउँदै गरेको तस्बिर सामाजिक संजाल फेसबुकमै पोष्ट गरिएपछि उहाँको जीवनशैलीबारे धेरैले प्रशंसा गरेका थिए । उहाँको जीवनशैलीबाट प्रभावित भएर धेरैले मेयर खड्कालाई उर्जावान व्यक्तिको रुपमा रहेको प्रतिक्रिया दिए ।

 तर निर्वाचनपछि उहाँ निर्वाचन अघि भन्दा उल्टो लयमा देखिनुभएको छ । सत्ता र शक्तिमा पुगेपछि जसरी पनि राज्यको सम्पति दुरुपयोग गर्नुपर्छ भन्ने मानसिकता उहाँमा पनि हावि भएको छ । 

मेयर खड्काले राज्यकै रकम खर्च गरेर कर्मचारीलाई घरको व्यक्तिगत काममा लगाउनुभएको छ । दोस्रो स्थानीय तहको निर्वाचन २०७९ मा सुकुम्बासीको नारा र सर्वहारा वर्गको काम गर्ने भन्दै चुनाव जितेका मेयर खड्काले आफ्नो घर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ को अक्कासीमा उपमहानगरपालिकाकै खर्चमा घरायसी प्रयोजनका लागि कर्मचारी राख्नुभएको हो ।  

मेयरले आफ्नो घरमा भान्साको लागि कर्मचारी राखेको भन्ने गुनासो प्राप्त भएपछि गरिएको स्टिङ अपरेसनका क्रममा नगरकै तलबमा मेयर खड्काको घरमा व्यक्तिगत काममा कर्मचारीलाई राखिएको खुलेको हो । 

ति कर्मचारीले उपमहानगरपालिकाबाट मासिक १५ हजार तलब बुझ्ने गरेका छन् । यतिसम्मकी उनलाई महिनामा एक पटक उपमहानगरपालिकामा आएर रजिष्ट्ररमा महिनाभरकै हाजिर गर्न लगाउने सुविधा उपलब्ध गराइएको छ  ।

उपमहानगरपालिकामा सबै कर्मचारीलाई ई-हाजिरीको व्यवस्था गरेपनि उनको लागि छुट्टै सुविधाको व्यवस्था गरेको प्रमाण फेला परेको छ । 

ति कर्मचारी मेयरको नजिकको नातेदार भएकाले निर्वाचित भए लगत्तैबाट उनलाई घरमा भान्सेको रुपमा राखिएको हो । नगरप्रमुखको निजी निवास टाढा भएको अवस्थामा मात्र सरकारी आवाशिय सुविधा लिएको खण्डमा यस्तो कर्मचारी राख्न सकिन्छ ।

तर नियम विपरित मेयर खड्काले आफ्नो घरायसी भान्सामा उपमहानगरबाट तलब भुक्तान गरेर कर्मचारी राखेको पाईएको हो । राज्यको ढुकुटीबाट तलब भुक्तानी भएपछि कुनै पनि  कर्मचारीले कार्यालय समयमा मेयरको व्यक्तिगत काम गर्न पाइदैन् । 

२०७९ बैशाख ३० गते भएको स्थानीय तहको दोस्रो निर्वाचनमा निर्वाचित नगरप्रमुख खड्काले आफु निर्वाचित भए लगत्तै आफ्ना नातेदारलाई भान्सेको रुपमा राखेको पाईएको हो ।

उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसीले वास्तविकता लुकाउन आफुलाई यो बिषय जानकारीमा नआएको उल्लेख गर्नुभएको छ । उहाँले आफु उपमहानगरमा केहि समय अघिमात्र आएका कारण आफु यसबारेमा बेखबर भएको दाबी गर्नुभयो ।

उहाँले उपमहानगरपालिकाबाट तलब भुक्तानी भएपछि कार्यालय समयमा उपमहानगरकै काम गर्नुपर्ने पनि बताउनुभएको छ । यसबारेमा जानकारी गराउँदा पनि सानो समस्या भन्दै पन्छिन खोज्नुभयो ।  

‘जे भएपनि मेयर हिसावकितावमा क्लियर हुनुहुन्छ, मैले यस्तो क्लिन मेयर त नेपालमै देखेको थिएन ।’ उहाँले भन्नुभयो -‘तर अहिलेको बारेमा मलाई थाहा भएन् ।’

प्रमुख प्रशासकिय अधिकृत केसी यसबारे थप जानकारी लिने भनेर उम्कन खोज्नुभएको छ । ‘म केहिसमय अघिमात्र तुलसीपुर आएको हँु, । मलाई यसबारेमा केहि जानकारी थियन ।’ उहाँले भन्नुभयो-‘वास्तविक कुरा के रहेछ म बुझ्छु र यो विषयको समस्या समाधान गर्नेछु ।’

जबकी प्रमुख प्रशासकिय अधिकृतको अनुमति बिना कुनैपनि कर्मचारीलाई तलब भुक्तानी गर्न नमिल्ने प्रावधान छ । त्यसैमा नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको मिलोमतोमा निजी काम गराएर तलब भुक्तानी भईरहेको छ ।

एकातर्फ उपमहानगरमा विद्युतिय हाजिरीमार्फत मासिक तलब भुक्तानी हुन्छ । तर उपमहानगरले भने यसरी भर्ना गरिएका कर्मचारीलाई रजिष्टरमा हाजिरी गराएर तलब भुक्तानी गर्दै आएको छ । 

उपमहानगरपालिकाका सुचना अधिकारी बावुराम न्यौपानेले नगरप्रमुखको सचिवालयमा खटाएको कर्मचारी नै नीजि निवासमा काम गरिरहेको सत्य नै रहेको जानकारी दिनुभयो । यसबारेमा हामीले सुचना माग गर्दा पुरा विवरण दिन नमानेका सुचना अधिकारी न्यौपानेले अरु अधिकार आफुमा नभएको प्रतिक्रिया दिनुभएको छ । रेडियो हाम्रो पहुँचबाट साभार ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस