तुलसीपुरका गौशालामा बिचरो गाई !

तुलसिपुर । कोचाकोच गाई गोरु । एउटा गाईले अर्को गाईलाई हानेर लडायो भने गाई उठन् सक्ने अवस्था छैन् । गाई-गाई एकअर्काले नै कुल्केर, थिचेर घाइते बनाउछन् । त्यसपछि गाई जीवित रहन्छ कि मर्छ भन्ने एकिन भन्न सकिने अवस्था छैन् । यस्तै हरि बिजोगको छ । यो कुनै कथा होइन्, तुलसीपुर उपमहानगरपालिकाको बजेट व्यवस्थापनमा तुलसीपुरका १८ बेलझुण्डीमा संचालित योगी आदित्यनाथ फाउन्डेसन गौशालाको वास्तविकता हो ।  

गाई बस्तु हेर्ने पाँच जना हेरालु पनि छन् । हिलोको दलदलमा बस्छन् गाई । खानको लागि घाँस, पराल, दानापानी केहि छैन, दिनभर चरणको भरमा रात कटाउने गर्छन् । राम्रै गाई पनि त्यहाँ बस्यो भने बिरामी होला, संक्रमित होला जस्तो हिलो न हिलो छ । ओभानो भन्ने कतै ठाउँ छैन । त्यहि गोठ नजिकै मरेर फालेका गाईको क्षद बिक्षद अंगहरु छन् । वरपर झिंगा भुन्भुनाएका छन् ।

त्यसको र्दुगन्ध हावामा बरालिएको छ जो परपर पुगेर नाक थुन्नुपर्ने अवस्था छ । त्यहि छरपष्ट छन् अल्लि पहिले मरेका गाईगोरुका डड्डी, करङका पाता, टाउकोको खपिट्टो । अनि भित्रको अस्तव्यस्तामा तड्पिएर कति गाई मरे भन्ने तथ्याङ्क नै छैन् । छाडा पशुचौपायाको व्यवस्थापनका लागि संचालित गौशालामा गाइलाई पाल्न होइन्, मार्न लागिन्छ । तर उपमहानगरपालिकाले कुनै अनुगमन नै नगरेको देखिएको छ । योगी आदित्यनाथ गौशालामा तीन सय बढि गाई/गोरु छन् । गौशालाको व्यवस्थापन उपमहानगरपालिकाले गर्दै आएको छ । यति मात्र हैन् हरेक बर्ष छाडा पशुचौपाया व्यवस्थापनका लागि बजेट पनि छुट्याउदै आएको छ ।

बजेट खर्च हुन्छ, व्यवस्थापन हुँदैन्

तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकारी बाबुराम न्यौपानेका अनुसार योगी आदित्यनाथ फाउन्डेसनका गाईगोरु व्यवस्थापनका लागि आर्थिक बर्ष २०७८/०७९ मा ५ लाख ५ हजार रुपैयाँ बजेट बिनियोजन भएको थियो भने २०७९/०८० मा ८ लाख २७ हजार १ सय ४९ रुपैयाँ छुट्याइएको छ । यसरी हरेक बर्ष बजेट परेपनि त्यहाँ गतिलो व्यवस्थापन हुन सकेको छैन् । गौशाला सुरु भएको तीन बर्ष हुँदा पनि अहिले सम्म गाईगोरु हिलोमा बस्न बाध्य भएका छन् । कतै गिट्टी समेत छैन्, छ त मात्रै हिलै हिलो । न त पशुलाई गतिलो बस्ने ठाउँ छ न त पर्याप्त घाँस पानी । न त कम्पाउण्ड वरिपरि बलियो तार जाली । तारजाली बलियो नहुँदा गौशालाकै गाई फेरि सडकमा जाने गरेको छन् । एउटा छाप्रोमा तीन सय बढि गाई गोरु हुलिन्छ । बलियो र भरपर्दो संरचना नहुदाँ भर्खरै केहि दिन अघि मात्र १२ वटा गाई भागेको गौशालाका प्रमुख हेरालु राजु शर्माले बताउनुभयो ।

उहाँले अहिले बर्खाको समयमा गाई चरणका लागि प्रसस्त ठाउँ भएपनि हिउँदमा निकै समस्या हुने गरेको बताउनुभयो । उपमहानगरले पराल उपलब्ध गराउने भएपनि यति धेरै गाईबस्तुलाई नपुग्ने उहाँको भनाइ छ । गाईको बासस्थान, घाँसपात र मरेपछि पनि व्यस्थापन गर्न निकै चुनौति रहेको उहाँ बताउनुहुन्छ । तर तुलसीपुर उपमहानगरले बजार भरिका गाई संकलन गरेर लैजाँदै गर्दा एउटा जेसिबी खाल्डो खन्नका लागि पठाउने गरेको छ ताकि गाई मरेपछि गाड्न सजिलो होस् । डोजरले खाल्डो खनेर फर्किन्छ । गाईगोरु मरेपछि त्यहि खाल्डोमा पुरिन्छ । तर त्यहाँ ५ जना हेरालु हुँदा पनि मरेर खाल्डो फालेको गाई पुरिएको छैन् । जसले गाउँमा र्दुगन्ध फैलाउने र सरुवा रोगको जोखिम हुन सक्ने स्थानीय केशव चौधरी बताउनुहुन्छ ।   ‘यि सबै देख्दा लाग्छ बरु सडममै खान, सुत्न पाएका छन् छाडा चौपायाले । हिलोले बस्नु छैन्, उभिएर रात कटाउछन्, राती घाँस खानु छैन् । दिनभर चरेर पेट भर्छन् । यहाँ मानिसलाई भन्दा बडो दुख पशुहरुलाई उहाले भन्नुभयो’। फाउण्डेसनका अध्यक्ष भरतनाथ योगीले गौशाला व्यवस्थापनका लागि काम गरिराखेको बताउनु भएको छ । उहाँले अहिले बर्खाको समयमा हिलोले गर्दा गाई बस्तुलाई बस्न समस्या भएको स्विकार गर्नु भएको छ । यसकै गृहकार्यमा लागेको भन्दै अबको एक महिनामा गौशाला पूणर् रुपमा व्यवस्थापन गर्ने उहाँको भनाइ छ । ‘गाई गोरु पनि धेरै भएकाले केहि समस्या भएको छ । कर्मचारी थोरै र पशुचौपाया धेरै हुँदा मरेका गाईगोरु पनि तत्कालै पूर्न सकिएको छैन । अब थप कर्मचारी थप्ने र गाई बस्तु बस्ने ठाउँमा बालुवा हालेर व्यवस्थित बासस्थान गराउने गरि लागेको छु उहाँले भन्नुभयो’ । गाई चरणका लागि संस्कृत विश्व विद्यालयको जग्गा, बेलझुण्डी रंगशाला भित्र र विभिन्न ठाउँको गरेर झण्डै पाँच सय बिगाह जग्गा बार्षिक ३० हजारका दरले भाडामा लिएको उहाँले बताउनुभयो । यसो त तुलीसीपुर उपमहानगरले तुलसीपुर १३ बखरियामा पनि तुलसी गौशाला तथा सरसफाइ व्यवस्थापन बहुद्देश्यीय सहकारी संस्थामा छाडा छोडिएका गाई गोरु त्यहाँ लगेर व्यवस्थापन गर्ने गरेको छ । यो गौशाला व्यवस्थापनको लागि उपमहानगरले आर्थिक बर्ष २०७७/०७८ मा ५ लाख ८२ हजार ३ सय रुपैयाँ छुट्याएको थियो । यस्तै २०७८/७९ मा ६ लाख ८५ हजार २ सय ६५ रुयैयाँ छुट्याएको छ भने २०७९/०८० मा १४ लाख २ सय ३६ रुपैयाँ बिनियोजन गरेको छ । यसरी हेर्दा योगी आदित्यनाथ भन्दा तुलसी गौशालामा उपमहानगरले धेरै लगानी गरेको छ । तर जहाँ गाई थोरै छ त्यहाँ लागानी धेरै र जहाँ गाई धेरै छन् त्यहाँ लगानी कम देखिन्छ । तुलसी गौशालामा अहिले २ सय १८ ओटा गाई मध्य एउटा गोरु छ । तुलसी बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बिरबहादुर भण्डारीले अहिले उपमहानगरसंगै मिलेर काम गरेको बताउनुभयो ।

उपमहानगरको ३ बिगाह, गौशालको साढे ३ बिगाह जग्गामा गाई गोरु पालन गरिएको छ भने गाई चरणका लागि ४ बिगाह बढि जग्गा मासिक एक हजारका दरले भाडामा लिएको बताउनुभयो । यसको रकम सहकारी र उपमहानगरले व्यवस्थापन गरेको छ ।

तुलसी गौशाला पनि उस्तै

तुलसीपुर उपमहानगरले उपलब्ध गराएको सुचनामा तुलसी गौशालामा तीन सय ५० गाई गोरु उल्लेख गरिएको छ । यसबिचमा झण्डै डेढ सय गाई कहाँ गए ? कसैलाई थाहा छैन् । नगरलाई नै कति गाई छन भन्ने जानकारी छैन् ।

तुलसी गौशालमा चार जना हेरालुले पशुचौपायाको गोठालो लाग्ने गरेका छन् । यसो हेर्दा आदित्यनाथ गौशालाको तुलनामा यसमा गाई बस्तुको स्याहार सुसार, बस्ने ठाउँ घाँसपातका हिसावले सन्तुष्ट हुने बाटो छ । तर मूख्य कुरा के छ भने बर्षैपिच्छे तुलसी गौशालामा उपमहानगरको लगानी बढ्दै गएको छ भने गाईगोरु थोरै हुँदा खर्च कम हुनुपर्नेमा झन धेरै उपमहानगरले भुक्तानी गरेको देखिएको छ । तुलसी बहुद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष हरिहर पौडेलले गौशालामा अझै थुप्रै काम गर्न बाँकी रहेको बताउनु भएको छ । उहाँले आर्थिक बर्ष २०७९/०८० देखि चालु बर्षको आज सम्म गौशालामा १ सय ८१ गाई मरेको बताउनु भएको छ । पौडेलका अनुसार बजारमा छाडा छोडिएका गाईगोरु पहिलेदेखि बिरामी परेका, बुढा भएका, खान नपाएका, खुट्टाहरु भाचिएका र शरिरका विभिन्न भागमा चोट लागेर घाइते भएको अवस्थामा गौशालासम्म पुग्ने गरेका छन् ।

केहि गाईहरु उपचार पछि सञ्चो हुने र केहि उपचार कै क्रममा मर्ने गरेको उहाँको भनाइ छ । अहिले पशुबस्तु हेरालुका लागि ड्रेस, परिचय पत्र र उनिहरुलाई दिइने तबलको बिल भर्पाइ तयार गर्ने काम भइरहेको बताउनुभयो । बिषेश गरेर बलियो तार जाली आवश्यक रहेको छ भने एका तिरको ढोका हावाले उडाएर फालिदिदा मर्मत गर्नु पर्ने भएको गाईगोरु हेरालु निमा बिकले बताउनुभयो । स्थापना कालदेखि आफुले यो गौशालामा काम गर्दै आएको बताउनुहुन्छ । ‘चौबिस घण्टा मेरो ड्युटी हुन्छ । कहिले त राती गाईगोरु भाग्छन्, खोजेर ल्याउनुपर्छ । यिनि गाईगोरुको माया लाग्छ । आफ्ना साना बालबच्चा जसरी रेखदेख गरेर यहि गौशाला भित्रको एउटा कोठामा बस्छु उहाँले भन्नुभयो’। अझै गाईगोरुको बस्नको लागि ठुलो ठाउँ भएमा सजिलो हुने उहाँको भनाइ छ । गाईगोरु बिरामी भएमा उपमहानगरको टोली पुगेर उपचार गर्ने गरेको पशुसेवा शाखाका डाक्टर मनोज ओलीले बताउनुभयो ।

यता तुलसीपुर उपमहानगरले छाडा गाईगोरु व्यस्थानपनका लागि दुई गौशालालाई बार्षिक १२/१२ लाखका दरले रकम दिने गरेको नगर प्रमुख टिकाराम खड्काले बताउनुभयो । घाँस र हेरालुलाई न्यूनतम ज्याला दिने व्यवस्था उपमहानगरले गरेको छ । गाईगोरु हेर्नका लागि व्यवस्थापन समितिले स्थानीयलाई राख्ने गरेको उहाँले बताउनुभयो ।

यद्यपी मेयर खड्काले गाईगोरुको मलमुत्रबाट पनि आम्दानी गर्न सकिने र हेरालुको पनि केहि पैसा वृद्धि गर्न सकिने भएकाले त्यसबाट लाभ लिन र समुदायमा सेवा दिन सचेत गाएको बताउनुभयो । सेवा मात्र नभएर व्यावसायिक बन्न आग्रह गरेको भन्दै त्यहि मल प्रयोग गरेर धेरै काम गर्न सकिने र फाइदा लिन सकिने बताउनुभयो । उपमहानगरले घाँसपात, दानापानी र औषधिमूलो गर्नको लागि आफै हेर्ने गरेको मेयर खड्काले बताउनुभयो । उपमहानगरले हेरालुले कति पैसा पाउछन् र कति पैसा घाँस पानीमा खर्च गरेको छ भन्ने विवरण राख्दैन् । यस्तै मेयर खड्काले कतिपय गाईगोरु चराउन गएको बेला हराउने, कतिपय गोठबाट भाग्ने कहिलेकाहि एकै पटक ५ देखि ६ ओटासम्म गाई खान नपाएर, बिरामी भएर र बुढो भएर मर्ने गरेको बताउनुभयो ।

गाईगोरुको दयनिय अवस्था आफुले अनुगमनमा देखेको बताउदै उपमहानगरको प्रयासले मात्रै सबै पूणर् नहुने बताउनुभयो । गौशाला संचालकलाई केहि दाता र मलमुत्रको उचित प्रयोग बिक्रि र राम्रा गाई बेचेर गौशाला व्यवस्थित गर्न सकिने बताउनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस