राजनितिकर्मी अव कृषि पेशामा जोडिनु पर्छ : युवा व्यवसायी नेपाली

अझै पनि नेपाललाई कृषि प्रधान देश भनिन्छ, तर नेपाल खाद्यन्नमै आत्मनिर्भर हुन सकेको छैन । अझै पनि करिब ४२ प्रतिशत खाद्यन्न विदेशबाट आयात गर्न नेपाल बाध्य छ ब। सरकारले कृषिका माध्यमबाट मुलुकमा समृद्धि हासिल हुने भन्दै अरबौँ रुपैयाँ यो क्षेत्रमा लगानी गरेको छ तर यहाँ व्यवसायीक कृषि फस्टाउन सकेको छैन । आयातको ठुलो हिस्सा कृषिजन्य वस्तुको आयातमै रहेको छ ।

विदेशबाट बेसार नआए हाम्रो भान्साले पूर्णता पाउन सक्ने अवस्था छैन । जिरा उतैको, खुर्सानी उतैको, चामल उतैको, मैदा उतैको । अर्थात् सम्पूर्ण कृषिजन्य वस्तु विदेशबाट आयात गर्नुको विकल्प नेपालसँग छैन । यही अवस्थामा तुलसीपुर उपमहानगरपालिका–१८ मनिकापुरका युवा शंकर नेपालीले भने कृषिमा समृद्धि खोजिरहेका छन् । नेपाली भान्सामा उपयोग हुने हरेक वस्तु नेपाली उत्पादन हुनुपर्दछ, ताकि नेपालले कृषिमा आत्मनिर्भर बन्न सकोस् भन्ने पनि उनको चाहना छ ।
यही चाहनालाई आत्मसात गर्दै उनले विगत दुई वर्षदेखि नेपाल संस्कृत विश्वविद्यालयका करिब ४५ विगाहा बाँझो जमिन लिजमा लिएर यो क्षेत्रलाई कृषि पकेट एरिया तथा कृषि अनुसन्धान केन्द्र बनाउने अठोटमा छन् । कृषिबाट समृद्धि खोज्ने उनै युवा व्यवसायी नेपालीसँंग पत्रकार खेमराज रिजालले गरेको कृषि वार्ताको सारसंक्षेप ।

कहिलेदेखि थाल्नु भो कृषि क्षेत्रमा लगानी ?
हामीले चार वर्ष अघि अर्थात् वि.स २०७६ सालदेखि व्यवसायीक कृषिको यो अभियान सुरु गरेका हौँ । सबैभन्दा पहिले हामीले कम्पनी रजिष्टारको कार्यालयमा अम्बिकेश्वरी बहुउद्देश्यीय कृषि अनुसन्धान केन्द्र नामको संस्था दर्ता गर्यौ । त्यसपछि हामीले नेपाल संस्कृत विश्वविद्यालयसँग खेर गइरहेको जग्गालाई कृषि क्षेत्र बनाउने उद्देश्यका साथ जग्गा लिजमा लियौँ । एक विगाहा जग्गाकोप्रति वर्ष ४० हजार रूपैयाँ तिर्ने गरी साढे ४५ विगाहा जग्गा लिजमा लिएर तुलसीपुर उपमहानगरपालिका— १८ को वर्लेनी डाँडामा कृषिकर्मको सुरुवात गरेका छौँ । सुरुमा हामी केही युवाहरू यो संस्थामा जोडिएपनि अहिले मैले मात्रै यो संस्था सञ्चालन गरी कृषि उत्पादनमा लागेको छु ।

यस क्षेत्रका कर्मशील युवाहरू धमाधम अमेरिकालगायत अन्य मुलुकहरूमा वैदेशिक रोजगारीमा विदेश पलायन भइरहेका छन्, तपाई चाँहि यो पेसालाई किन रोज्नुभो ?
मलाई नेपाल आमा मन पर्छ । म मा नेपाली मन छ । नेपालमै केही गर्न सकिन्छ भन्नेमा मलाइ पूर्ण विश्वास पनि छ । नेपाल सरकारले मुलुकलाई कृषि प्रधान मुलुक भने पनि यसमा खासै अर्थपूर्ण लगानी गर्न सकिरहेको छैन, तथापी हामी युवाहरू यो क्षेत्रमा मेहनतसाथ लाग्यौँ भने हामीले नेपाली माटोमा सुन फलाउन सक्छौँ । पँचास लाख रूपैयाँ खर्च गरी अनागरिक भएर अमेरिकामा दाश बन्नुभन्दा नेपालमै त्यो भन्दा कम लगानी गरे मालिक बनेर बस्न सकिन्छ भन्नेमा मलाई पूर्ण विश्वास पनि छ ।
हामीले भान्सामा प्रयोग गर्ने बेसारसमेत बाहिरबाट आयात गरिरहँदा हाम्रा हजारौँ हेक्टर खेतीयोग्य जमिनहरू बाझै रहेका छन् । कम्तिमा गरेर न हेरौँ भन्ने मेरो यो प्रयोग पनि हो । खासमा मैले यो फर्मलाई अर्गानिक एग्रो हव बनाउन चाहेको छु । साथै कृषि अनुसन्धान केन्द्र पनि बनाउन चाहन्छु । मुलुकका विभिन्न जिल्लामा कृषि विषय अध्ययन गर्ने विद्यार्थीहरूका लागि यो क्षेत्रलाई अनुसन्धानको थलो समेत बनाउने गरी मैले गुरुयोजना बनाएको छु । अहिले भर्खरै मात्र मैले व्यवसायीक कृषि फर्मलाई चलायमान बनाउन सुरु गरेको छु ।

अमेरिकालगायत पश्चिमा मुलुकमा गएर गरेको श्रमको कमाइ कहिल्यै नेपाल भित्रन सक्दैन भन्ने मलाई विश्वास छ । विकशित मुलुक सकेसम्म आफ्नो देशको पैसा आफ्नै देशमा रहोस् भन्ने सिद्धान्तमा चलिरहेका हुन्छन् । त्यहाँ कमाइ गर्ने हरेक व्यक्तिको आम्दानी र खर्चलाई उनीहरूले करिब– करिब बरावरी बनाइदिने गरेका हुन्छन् ।

सुरुवातीका चरणमा यस क्षेत्रमा के कृषि कर्म थाल्नु भएको छ ?
अहिले मैले यो फर्ममा कम्तिमा दुई सय बाख्रा, खसी बोका पालिरहेको छु । विभिन्न चार प्रजातिका बोका बाख्रा यहाँ छन् । वयर बोकालगायतका बीउ बोका पनि फर्ममा छन् । सुधारिएको खोर बनाएर नमुना बाख्रापालनको थालनी भएको छ । त्यसैगरी मौसमी तथा वेमौसमी खेतीको पनि सुरुवात भएको छ । काउली, बन्दा, वोडि, सिमि, टमाटर तथा ठुलो क्षेत्रफलमा बेसार खेती पनि सुरु गरेको छु । यसमा कम्तिमा दश जनालाई मैले मासिक रोजगारी पनि दिएको छु ।

तरकारी टिप्ने सिजनमा दैनिक पचास जना जति दैनिक ज्यालादारीमा स्थानीय श्रमिकहरूलाई काम दिनेसम्म भएको छु । अर्को आम्दानीको आधार भनेको यहाँको आप विक्री पनि हो । एक वर्ष बिराएर यहाँ सयौँ क्वीण्टल आफ उत्पादन हुन्छ । यसबाट कम्तिमा १५ लाख रूपैयाँभन्दा बढी वार्षिक आम्दानी पनि हुन्छ । त्यो सिजनमा आप टिप्नकै लागि कम्तिमा एक सय जनाले एक महिनाको रोजगारी पाउने गरेका छन् । आन्तरिक रोजगारी वृद्धि गर्न पनि मेरो यो व्यवसायी फदलायी हुने मैले विश्वास लिएको छु ।

अमेरिकालगायत पश्चिमा मुलुकमा गएर गरेको श्रमको कमाइ कहिल्यै नेपाल भित्रन सक्दैन भन्ने मलाई विश्वास छ । विकशित मुलुक सकेसम्म आफ्नो देशको पैसा आफ्नै देशमा रहोस् भन्ने सिद्धान्तमा चलिरहेका हुन्छन् । त्यहाँ कमाइ गर्ने हरेक व्यक्तिको आम्दानी र खर्चलाई उनीहरूले करिब– करिब बरावरी बनाइदिने गरेका हुन्छन् । विदेश पलायन हुन भनेको नेपाल आमामाथि अन्याय गर्नु हो । त्यसैले पनि मेरो रोजाइमा सम्भ्रान्त मुलुकको रोजगारी कहिल्यै परेन । आफू समृद्ध बन्न र मुलुकलाई नै कृषि क्षेत्रमा समृद्ध बनाउन भविष्यमा भने मैले हामीले निर्माण गरेको बहुवर्षीय योजनाअनुसार अघि बढ्ने सोच बनाएको छु ।

भावी योजना भन्नु भो के कस्ता योजना बुन्नु भएको छ ?
फेरि पनि मैले भन्न चाहन्छु, खास गरी यो प्लट कृषिकै लागि उपयुक्त छ । जग्गा प्रशस्त छ । यसैले पहिलो फोकश कृषिमै हो । त्यसपछि यस क्षेत्रलाई मैले पर्यटनमा पनि जोड्ने योजना बनाएको छु । निकट भविष्य मै यो फर्मभित्र एउटा रैथाने रिसोर्ट निर्माण हुने छ । त्यसमा नेपाली संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतीहरू, नेपाली स्वादको अर्गानिक खाना ।

पौडी पारखीहरूका लागि स्वीमिङ पुल र यो क्षेत्रमा पहिले पनि आष्ट्रिच पालन भएकाले दृश्यावलोकनका लागि मात्रै भए पनि दुई÷चार वटा आष्ट्रिच ल्याएर पाल्ने पनि हाम्रो योजनामा छ । मासु र बीउका लागि कम्तिमा दुई सय जति बाख्रा पालन, मासुका लागि एक सय जति रागा, दुधका लागि दशवटा उन्नत जातका गाई र दशवटा भैँसी यस फर्ममा पालिने छ । यहाँ उत्पादन हुने खसी बोका तथा रागाको मासु विक्रीका लागि नेपालका मुख्य सहरहरू बुटवल, काठमाण्डौ, पोखरा र नेपालगञ्जमा यहीको उत्पादन विक्री गर्ने गरी अम्बिकेश्वरी मिटमार्ट सञ्चालनमा ल्याइने छ ।

युवा शक्ति भनेको देशलाई डो¥याएर सहि गन्तव्यमा लैजाने शक्ति हो । लाखौँ रूपैयाँ लगानी गरेर अनागरिकका रूपमा विदेशिको दाश नबनौँ । नेपालमै आफू अनुकुलको व्यवसाय गरेर मालिक बनौँ । र अर्को कुरा यहाँ राजनिति गर्नेहरुले पनि कृषिकर्मलाई चासो नदिने, चुनावी नारा वनाइरहने भएकोलेपनि यहाँ दैनिक युवा नेपालीहरु विदेशिन वाध्य पारिएको छ ।

मैले सुरुदेखि हालसम्म यो फर्ममा करिब १ करोड ५० लाख लगानी गरिसकेको छु । गुरु योजनाअनुसार काम थाल्नका लागि कम्तिमा ८ करोड लगानी हुने हाम्रो बहुवर्षीय गुरु योजनामा उल्लेख छ । क्रमश कमाउन सुरु भएपछि मास्टरप्लानअनुसार थप क्षेत्रमा लगानी गर्ने मेरो सोच छ । अनि अर्को कुरा हामी अर्गानिक उत्पादनमा विश्वास राख्छौँ । त्यसैले मैले यही फर्मभित्रै पशुचौपायाको मलमुत्रलाई मलको रूपमा प्रयोग गर्ने गरी कृषि उत्पादनको थालनी गरेको छु ।

थप प्राङ्ग्रारिक मल उत्पादनका लागि गड्यौला खेतीको पनि केही दिनमै सुरुवात गर्ने सोच बनाएको छु । किटनासक औषधीका रूपमा यही बगैचामा भएका तीनेपाती र निमको प्रयोग गरिने छ । यो अर्थमा पनि हामीले उत्पादन गरेका सबै कृषि उपजहरू अर्गानिक हुने छन् भन्ने पूर्ण विश्वास पनि दिलाउन चाहन्छु ।

यति धेरै जग्गामा बहुदेश्यिय कृषि अनुसन्धान केन्द्र सञ्चालन गरिरहँदा राज्यकातर्फबाट केही अनुदान तथा सहुलियत ऋण पाउनुभएको छ?
अहिलेसम्म त्यसतर्फ लागेको छैन । तर कृषि क्षेत्रलाई समृद्ध बनाउन सरकारले किसानहरूलाई प्रोत्साहन गर्न सहुलियत ऋण दिनुपर्दछ भन्ने मेरो मान्यता हो । त्यसैले कृषि विकास बैंकले मेरो कृषि कर्ममा सहुलियत कृषि ऋण दिने छ भन्ने मलाई केही विश्वास छ तर अहिलेसम्मको अवस्था हेर्दा सरकारले वास्तविक किसानलाईभन्दा झोले किसानलाई अनुदान छरिरहेको देखिन्छ । यसलाई सुधारेर वास्तविक किसानलाई सहज रूपमा बिना प्राविधिक झण्झट सहुलियत कृषि ऋण लगानी गर्नुपर्दछ भन्ने मेरो चाहना हो ।

अन्तमा केही भन्न चाहनुहुन्छ ?
सबै नेपालीले नेपाल आमालाई माया गराँै । नेपालमा अझै धेरै खेतीयोग्य जमिन बाझै छ । यो माटोमा अन्न मात्र होइन, सुन फलाउन सकिन्छ भन्ने विश्वास सबै नेपाली युवाहरूले राखौँ । युवा शक्ति भनेको देशलाई डो¥याएर सहि गन्तव्यमा लैजाने शक्ति हो । लाखौँ रूपैयाँ लगानी गरेर अनागरिकका रूपमा विदेशिको दाश नबनौँ । नेपालमै आफू अनुकुलको व्यवसाय गरेर मालिक बनौँ । र अर्को कुरा यहाँ राजनिति गर्नेहरुले पनि कृषिकर्मलाई चासो नदिने, चुनावी नारा वनाइरहने भएकोलेपनि यहाँ दैनिक युवा नेपालीहरु विदेशिन वाध्य पारिएको छ । अनि राजनितिकर्मीहरु पेशाविहिन भएर पनि भ्रष्टाचार मौलाएको छ । त्यस कारण राजनितिकर्मीहरु पनि कृषिपेशामा जोडिन जरुरी छ । यस तर्फ राजनिति गर्नेहरुले विशेष ध्यान दिनुपर्छ । अन्तमा मलाई मेरो कृषि कर्मका सन्दर्भमा केही कुरा राख्ने अवसर दिनुभएकोमा विशेष आभार प्रकट गर्दछु । र नेपाली भान्सामा सबै नेपाली उत्पादन उपलब्ध हुन सकुन् भन्ने कामना पनि गर्दछु ।

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस