खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई कारबाही गर्दै आयोग

काठमाडौँ । गत २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई कारबाही हुने भएको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने २ हजार ४४० जना उम्मेदवारमाथि निर्वाचन आयोगले कारबाही गर्ने भएको हो ।

खर्च विवरण सार्वजनिक नगर्नेमा १ हजार ४३ जना प्रतिनिधि सभा सदस्य र १ हजार ३९७ जना प्रदेश सभा सदस्य रहेका छन् । आयोगले निर्णय गरे कानुनबमोजिम खर्च विवरण सार्वजनिक नगर्ने प्रत्येक उम्मेदवारले १५ हजार रुपियाँ जरिबाना तिर्नुपर्ने छ ।

आयोगको अनुसार खर्च विवरण सार्वजनिक नगर्नेमा मधेश प्रदेशका उम्मेदवारको सङ्ख्या सबैभन्दा बढी छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ २ हजार ४११ जना उम्मेदवार थिए भने प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फ ३ हजार २२४ गरी कुल पाँच हजार ६३५ जना उम्मेदवार थिए ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस