सांसद अरुण चौधरी रिहा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी रिहा भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित चौधरी कैलाली कारागारबाट रिहा भएका हुन् ।

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएपछि चौधरी बिहान रिहा भएका हुन् ।

१३ वर्षको पुरानो आगजनी मुद्दामा दोषी ठहर सांसद चौधरी गएको माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । उनी २० गते कारागार चलान भएका थिए । थरुहट आन्दोलनताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ साल भदौ ३ गते ट्र्याक्टर जलाएको घटनामा २०७० साल वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस