
विजौरी । अब चुनाव आउँन २ दिन मात्र बाँकी छ । यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । यतिबेला गाउँ शहरमा चुनावको रौनक बढेको छ । मंगलबार रातीदेखि मौन अवधि सूरु भैसकेको छ । तर कतिपय मतदातामा कसरी मतदान गर्ने अन्योलता बढेर आएको छ ।
विगतका निर्वाचनमा मतदाता शिक्षा पर्याप्त हुने गथ्र्यो । तर यसपटकको निर्वाचनमा प्रत्यक्षरुपमा मतदाता शिक्षा कार्यक्रम नहुँदा समस्या भएको छ । प्रत्यक्षरुपमा मतदाता शिक्षा कार्यक्रम नहुँदा धेरै मत बदर हुने अनुमान गरिएको छ । तर अधिकांस मतदाताहरुले कसरी भोट हाल्ने भन्ने बारेमा थाहा नभएको बताउँछन् ।
तुलसीपुर–१७ वनकट्टी निवासी कल्पना चौधरीले कसरी भोट हाल्ने भन्ने बारे पर्याप्त जानकारी नभएको बताउनुभयो । पहिलो पटक मतदान गर्ने लाग्नु भएका चौधरीले मतपत्र यहाँ सिकाउँदा सानो रैछ तर चुनावको दिन ठूलो हुन्छ भन्छन्, भोट कसरी हाल्ने हो उहाँले भन्नुभयो । विगतका निर्वाचनमा मतदाता शिक्षा घरदैलो कार्यक्रम हुने गरे पनि यसपटकको चुनावमा भोट हाल्नेबारे कसैले नसिकाएको तुलसीपुर उपमहानगरपालिका–१६ फचकलुवामा बस्ने सरिता केसीले बताउनु भयो । पहिलो पटक मतदान गर्न लागेको बताउँदै मतपत्र बिग्रिन्छ की भन्ने चिन्ता लागेको छ । मतदाता शिक्षा पनि नभएकोले अलि गाह्रो हुन्छ कि ? केसीले भन्नुभयो ।
यता जागिरको सिलसिलामा जिल्ला बाहिर रहेकाहरुलाई जिल्लामा आउँदा झन उम्मेदवारहरुसँग पनि भेट नहुँदा कसरी भोट हाल्ने भन्ने समस्या भएको छ । तुलसीपुर –१८ मनिकापुरका तिर्थराज वली जागिरको सिलसिलामा जिल्ला बाहिर हुनुहुन्थ्यो तर भोट हाल्नकै लागि आउनु भयो । तर भोट माग्न आएका उम्मेदवारहरुसँग भेट नहुँदा मतदानमा केही समस्या हुने बताउनुभयो । विगतको निर्वाचनको मतपत्र भन्दा यसपाली अलि फरक भएकाले पनि झुक्किने सम्भावना बढी भएको उहाँको भनाई छ ।
मतदाता शिक्षाको अभाव हुँदा यसपालीको निर्वाचनमा मत बदरको संख्या बढ्न सक्ने तुलसीपुर –१८ मनिकापुर निवासी मदन कुमार बस्नेतले बताउनुभयो । विगतका निर्वाचनमा प्रत्यक्षरुपमा मतदाता शिक्षा कार्यक्रम हुँदा त मत बदर हुन्थ्ये उहाँले भन्नुभयो, तर अहिले मतदाता शिक्षा नहुँदा झनै मत बदर हुने जोखिम छ ।
खासगरी सत्ता गठबन्धन दलहरुकाबिचमा चुनावी तालमेल भएकाले शिक्षित मतदाताहरु समेत झुक्किने अवस्था रहेको उहाँले बताउनुभयो । मतपत्रमा धेरै चिह्न भएकाले मतदाता अलमल हुने जोखिम उत्तिकै छ । पहिलो पटक मतदानमा भाग लिनेहरुलाई अझ धेरै अलमल समस्या हुने उहाँका भनाई छ । यसपालि गठबन्धन गरेका दलहरुका साझा उम्मेदवार छन् । त्यसमा झुक्किन सक्ने अवस्था छ ।
सरदर पा“च प्रतिशत मत बदर हुने आयोगको दावी
निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले यसपाली सरदर पाँच प्रतिशत मत बदर हुने दावी गर्नुभयो । विगतका जस्तो प्रत्यक्ष मतदाता शिक्षा कार्यक्रम नभए पनि अप्रत्यक्षरुपमा कार्यक्रम भईरहेको उहाँले बताउनुभयो । सामाजिक संजाल, रेडियो, टेलिभिजन, सञ्चारमाध्यम, मोवाइल रिङ व्याकटोनलगायतका माध्यमबाट मतदातालाई सूसुचित पार्ने काम भइरहेको उहाँले बताउनुभयो ।
दाङमा कहा“ कति छन् मतदान केन्द्र
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दाङमा १ सय ५३ मतदान स्थल रहेका छन् भने ४ सय ६१ मतदान केन्द्र रहेका छन् । जसअनुसार दाङमा पुरुष मतदाताहरु २ लाख ७ सय ९९ जना, महिला मतदाता २ लाख ९ हजार ९९ जना र अन्यमा २ जना गरी जम्मा ४ लाख ९ हजार ९ सय मतदाता रहेको निर्वाच्न कार्यालयले जनाएको छ ।
त्यस्तै दाङका दश स्थानीय तह मध्ये सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा १ सय २६ मतदान केन्द्र रहेका छन् भने सबैभन्दा कम मतदान केन्द्र भएका राजपुर गाउँपालिका र बंगलाचुली गाउँपालिकामा १८ रहेका छन् । त्यसपछि क्रमशः तुलसीपुर उपमहानगरपालिकामा १ सय १९, लमही नगरपालिकामा ४०, राप्ती गाउँपालिकामा ३५, गढवा गाउँपालिकामा ३३, बबई गाउँपालिकामा २६, शान्तिनगर गाउँपालिकामा २५ र दंगीशरण गाउँपालिकामा २१ मतदान केन्द्र रहेका छन् ।
त्यसैगरी दाङमा सबैभन्दा धेरै घेराही उपमहानगरपालिमा मतदाता हरेका छन् । जसमा पुरुष ५४ हजार २ सय २१ र महिला मतदाता ५८ हजार ७ सय ६ जना रहेका छन् । दोस्रोमा मतदाता धेरै हुने स्थानीय तह तुलसीपुर उपमहानगरपालिका रहेको छ । जसमा पुरुष मतदाताको संख्या ५२ हजार १ सय ३३ रहेका छन् भने महिला मतदाता ५५ हजार ५ सय ४३ रहेका छन् ।
त्यस्तै क्रमशरुपमा लमही नगरपालिकामा पुरुष मतदाता १७ हजार ५३ रहेका छन् भने महिला मतदाता १७ हजार ३ सय २९ रहेका छन् ।
राप्ती गाउँपालिकामा पुरुष मतदाता १५ हजार ८ सय ६२ र महिला मतदाता १६ हजार ४ सय ६१ रहेका छन् । त्यसपछि गढवा गाउँपालिकामा पुरुष १५ हजार १ सय ९० र महिला १४ हजार ६ सय ११ मतदाता रहेका छन् । बबई गाउँपालिकामा पुरुष १० हजार ९ सय ६२ र महिला ११ हजार १ सय ८२ जना मतदाता रहेका छन् ।
त्यस्तैगरी शान्तिनगर गाउँपालिकामा पुरुष मतदाता दश हजार २ सय १३ र महिला मतदाता दश हजार ६ सय ५० जना हरेका छन् । दंगीशरण गाउँ पालिकामा पुरुष ८ हजार ८ सय ९९ र महिला ९ हजार २ सय ७ जना मतदाता रहेका छन् । राजपुर गाउँपालिकामा पुरुष ८ हजार ४ सय ७ र महिला ७ हजार ३ सय १६ मतदाता रहेका छन् भने बंगलाचुली गाउँपालिकामा पुरुष ७ हजार ८ सय ५९ र महिला ८ हजार ९४ मतदाता संख्या रहेको छ ।
ढुक्क रहेर मतदान गर्न सुरक्षा निकायको आग्रह
यसैबीच जिल्ला प्रशासन कार्यालयले ढुक्क भएर मतदानको व्यवस्थापन भैसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मतदान स्थलको सुरक्षा एवं बाह्य सवै सुरक्षा मिलाइ सकिएको बताएका छन् । मतदानमा कुनै उल्लेख्य सुरक्षा चुनौति नरहेको पनि प्रजिअ रेग्मीले बताउनु भएको छ ।