नेपालको पहिलो विद्यार्थी आन्दोलन

जयतु संस्कृतम् एक चेतनापूर्ण परिवर्तकारी आन्दोलनका रुपमा परिचित आन्दोलन हो । यो मुलतः राणाहरुको जाहानिया प्रवृत्ति र जनदमनको बिरुद्ध सल्किएको प्रजातान्त्रिक ब्यवस्थाका निमित केन्द्रित प्रथम विद्यार्थी आन्दोलनकारुपमा परिचित छ । राणाहरुको स्वेच्छाचारी प्रवृत्ति, मनोगत निर्णय, जनताप्रति दासगत धारणा, शिक्षालाई नीजत्वमा निहितराख्ने मनसायका कारण उत्सृजित विद्रोहको स्वरुप हो जयतु संस्कृतम् आन्दोलन । यसै आन्दोलनका एक पात्रको भोगाई यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ । यसको स्वरुप यथार्थ चित्रण र परिस्थितिका वारेमा अभिब्यक्त धारणा यहाँ प्रस्तुत गरिएको छ ।

विक्रम संम्वत २००४ सालमा तीन धारा संस्कृत पाठशालामा अध्ययनरत विद्यार्थीले शुरु गरेको आन्दोलन नै नेपालको राजनीतिक इतिहासमा पहिलो आन्दोलन हो । यो विद्यार्थी आन्दोलनलाई जयतु संस्कृतम् आन्दोलन २००४ ले चिनिन्छ । नेपालका विकट क्षेत्रबाट अध्ययनको लागि काठमाडौं आइपुगेका विद्यार्थीहरुको जयतु संस्कृतम् आन्दोलनका एक सदस्य पं प्रेम नारायण शर्मा गौतमले जयतु संस्कृतम् आन्दोलनको बारेमा र तीनधारा पाठशालामा अध्ययन गर्ने क्रममा भोगेका आफ्ना अनुभवहरु विस्तृत रुपले बताउनुभएको टिपोटलाई मैले यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु । जयतु संस्कृतम् आन्दोलनका आन्दोलनकारी सदस्यहरुलाई विक्रम सम्वत् २००४ मा राणा सरकारले पटक पटक गरी देश निकाला गरिएका अर्थात डाँडो कटाईएका ४२ जनालाई पचास वर्ष पुगेको उपलक्ष्यमा आयोजीत ‘स्वर्ण महोत्सव २०५४’ समारोहमा काठमाडौंको तीनधारा संस्कृत पाठशालामा अभिनन्दित योद्धा प्रेम नारायण शर्मा गौतमसँगै म बंशीकुमार शर्मा गौतम पनि गएको थिए । त्यँहा उपस्थित अभिनन्दित योद्धाहरुले धेरै वर्षपछि साथीहरुसँग भेटघाट हुने अवसर जुटाई दिएकोमा ‘स्वर्ण महोत्सव २०५४’ समारोहकाका आयोजकलाई धन्यवाद दिएका थिए । अभिनन्दित योद्धाहरुले आन्दोलनको बारेमा खुलेर चर्चा गरेका थिए । त्यस समयमा भोगेका कुराहरु एकआपसमा साटासाट गरेका थिए । धेरै वर्षपछि साथीहरुसंग भेटन पाउँदा नेपालका ती ऐतिहासिक पुरुषहरु खुसिले गदगद देखिन्थे । आफनो कलिलो पढने उमेरमा राजनीतिले पारेको प्रभाव कै कारण अहिले मुलुकमा आमूल परिवर्तन भएकोमा उनीहरु दंग थिए । अभिनन्दित ब्यक्तिहरुले त्यसबेला देश निकाला भएपछि वनारस पुग्दासम्म पाएका सुख दुःख एक आपसमा साटासाट गरेका थिए । उहाँहरुका कुरा सुन्दा वास्तवमै एकतन्त्रीय राणा शासनको अन्यका लागि उहाँहरुले गरेको संर्घष अतुलनीय छ । उहाँहरुलाई राज्यले जति सम्मान गरेमा पनि कमि हुन्छ । त्यस्ता युग पुरुषहरुको कुरा प्रत्यक्षरुपले सुन्न पाउँदा मैले आफुलाई भाग्यमानि ठानेको छु । नेपालको वास्तविक राजनैतीक इतिहास पढेरभन्दा प्रत्यक्षरुपमा ग्रहण गरिने मैले अनुभव गरेको छु । स्वर्ण महोत्सव २०५४ समोरोहमा उपस्थित अभिनन्दित योद्धा मध्ये एक सदस्य पं प्रेम नारायण शर्मा गौतम मेरो पिताजी हुनुहुन्छ उहाँले भनेका कुरालाई मैले जस्ताको तस्तै यहाँ प्रस्तुत गरेको छु । प्रेम नारायण गौतम कतै शर्मा पनि लेखिएको छ । दाङ र सल्यान दुवै ठाँउमा परापूर्वकालदेखि बस्दै आएको हुनाले अधिकांस अभिलेखमा ठेगाना दाङ लेखिएता पनि कतै कतै सल्यान पनि लेखिएको पाइन्छ ।

स्वर्ण महोत्सव समोरोह समिति २०५४ द्वारा प्राप्त अभिनन्दन पत्र

प्रारम्भिक शिक्षा सल्यानमा गरेपछि थप शिक्षा अध्ययन गर्नका लागि काठमाडौं गएको उहाँले बताउनु भएको थियो । त्यसबेला काठमाडौं जान भारतको बाटो भएर जानु पर्ने र कठिन समेत हुने उहाँले बताउनु भएको छ । दुर्गमको मान्छे उहाँलाई पहिलो पटक काठमाडौं देख्दा वास्तवमै इन्द्रको अमरावति नै होकि जस्तो भान भएको थियो । हिन्दुका अराध्यदेव पशुपतिनाथ, गुह्येश्वरी भगवती, गौरिघाट, दक्षिणकाली, पाटन कृष्ण मन्दिर, भादगाँउका देवीदेवताका मन्दिर, स्वयम्भुलगायतका मन्दिरहरुको दर्शन गरि पाठशालामा भर्ना हुनको लागि पहिलो पटक तीनधारा संस्कृत पाठशालामा गएको अनुभव सुनाउनु भएको थियो । पाठशाला भर्ना भएपछि आफुले विज्ञता हाँसिल गर्ने अठोटका साथ छात्रावासका लागि रुकुमका भुवनेश्वर गौतमले सहयोग गरेको उहाँले स्मरण गर्नु हुन्छ । पाठशालामा अध्ययन गर्न पाउँदा आफुलाई धेरै भाग्यमानि महशुस गरेको उहाँले पटक पटक सुनाउनु भएको छ । छात्रावासमा सबै साथीहरु मिलेर बसेको र खाना खादाको क्षण स्मरणीय भएको उहाँको भनाई थियो । यसरी त्यहाँ हुने हरेक शैक्षिक, राजनैतिक तथा अन्य चेतनानै आफ्ना निमित्त जीवन संघर्षको प्रेरणा भएको उहाँको ठहर छ ।

वि.स. १९४१/१९४२ मा उक्त संस्कृत छात्राबास निःशुल्क खाने बस्ने व्यवस्थासहित संस्कृत अध्ययनका लागि धीरशम्सेर द्वारा स्थापना भएको हो । पाठशालासँगै हामीलाई बस्ने ठाउँ दिइएको थियो । सबै ब्राह्मण भएकोले चोखोनितो गरि धोती बेरेर पिर्कामा बसी खाना खाने चलन थियो । दालभात त्यहीं पाक्थ्यो सबैले त्यहीं खान्थ्यौ र त्यस ठाँउलाई पाकशाला भनिन्थ्यो । खाना पकाउने उपाध्याय ब्राह्मणले धोती फेरेर खाना पकाउनुपथ्र्यो । भान्छामा अन्यलाई प्रवेश निषेध थियो । त्यहाँ रहने हामी सबै एकआपसमा समसामयिक विषयमा छलफल गर्थ्यौ । आफ्नो अध्ययनलाई निरन्तरता दिन्थ्यौं । समयक्रमसँगै अध्ययनयात्रा बढ्दै थियो यसै क्रममा तीनधारा संस्कृत छात्रावासमा अध्ययनरत बिद्यार्थीहरु सबै मिलेर २००४ साल असार १ गते पाठशालामा सुविधाको माग राखेर आन्दोलन शुरु गरेका हौं । ‘हामीले पाठशालामा संस्कृतबाहेक अरू भाषा पनि पढाओ भनेर एक महिने अल्टिमेटम दिएर आन्दोलनको घोषणा गर्यौं । हाम्रा माग थिए संस्कृत महाविद्यालयको स्थापना गरि सबै तहका परीक्षा नेपालमै हुनुपर्ने । संस्कृत शिक्षालाई तत्कालीन राजनीतिक सामाजिक परिस्थिति अनुकुल परिवर्तन गर्नुपर्ने आधुनिक विषयहरु नागरिकशास्त्र, इतिहास, भूगोल, अर्थशास्त्र, सामाजिक शिक्षा, अंग्रेजी, जस्ता विषयहरु योग्य शिक्षकबाट पढन पाउनु पर्ने जस्ता थिए । उक्त माग पुरा गराउँन पाठशालामा आवागमन बन्द गरेका थियौ । यहि आन्दोलन नै नेपालको पहिलो संगठित विद्यार्थी आन्दोलन हो । वास्तवमा आन्दोलनको उद्देश्य जहानीया राणाशासनको बिरुद्धमा थियो ।

पं प्रेम नारायाण शर्मा गौतम

आन्दोलन चर्कदै जादा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत फैलिदै गएको थियो । तत्कालीन क्षेत्रका सुरक्षा निकायहरुले बाहुनका छोराहरुलाई धरपकड गर्न मन गरेका थिएनन् । उनीहरुको भित्रि मनशाय आन्दोलनकारीको समर्थन थियो । त्यस्तो परिस्थितिलाई बुझेर राणा सरकार सकभर सम्झाएर बुझाएर विद्यार्थीका सामान्य माग पुरा गराउने पक्षमा थिए । तर त्यतिखेर संस्कृत पाठशालाका डाइरेक्टर थिए हेमराज बडागुरुज्यू । उनी राणा सरकारका सल्लाहकार समेत थिए । त्रिचन्द्रमा जस्तै इतिहास, गणित, समाजशास्त्र, भूगोल, राजनीतिशास्त्र पढ्न पाउ भनेर आन्दोलित भएपछि वडागुरुज्यू निकै रिसाएका हुन । हामीभन्दा उमेरले पाका पूर्णप्रसाद ब्राह्मण हाम्रा नेता थिए उनका पछि पछि श्रीभद्र खनाल, काशीनाथ गौतम, कमलराज रेग्मी, राजेश्वर देवकोटा लगायतका हामीहरु थियौ । हामीले सरकारलाई पाठशालामा सुधारको लागि एक महिने अल्टिमेटम दिएका थियौ तर सुधार भएन । मध्यमा परीक्षा उत्तीर्णका लागि वनारसै जानुपर्ने भयो । अन्ततः हामीहरुले आन्दोलन सुरु गर्यौ । हामीले पाकशाला र पाठशाला दुवै बहिष्कार गरी, हडतालमा बस्यौ । आन्दोलनमा सबै विद्यार्थीहरुलगायत अमूर्तरुपमा गुरुहरुको पनि साथ थियो । त्यस समयमा गुरुहरुको समस्तर भएपनि त्रिचन्द्रका गुरुहरुलाई ३००।– र पाठशालाका गुरुहरुलाई ६०।– रुपियाँ मात्र पारिश्रमिक दिइदो रहेछ । यसैका कारण पनि उहाँहरुको अमूर्त समर्थन थियो । त्यहाँबाट त्रिपुरेश्वर नदी किनारामा रहेको पार्टीमा आन्दोलनकैरूपमा सप्ताह लगायौ हाम्रो खाने बस्ने ब्यवस्था त्यहि हुन्थ्यो ।

सप्ताहमा राजधानीबासिहरुको पनि उल्लेख्य सहभागिता भएको थियो । जनसमर्थन र आर्थिक सहयोग जुटदै गएपछि हामी आन्दोलन गर्न झन् हौसिएका हौ । हामीहरुले कपडाका पल्ला समातेर ‘जयतु संस्कृतम् भिक्षां देही’ भन्दै बजार परिक्रमा गरेपछि आर्थिक संकलन राम्रो भयो । आन्दोलनलाई मत्थर पार्न सरकार पक्षबाट हर प्रयास भए । तर कुनै पनि प्रयास विफल भएपछि राणा सरकारले आन्दोलनलाई दवाउने नीति लिएर अगाडि बढयो । जसका कारण विद्यार्थीहरु छिन्नभिन्न भएका थिए आन्दोलनमा केहि सुस्तता देखापर्यो । फेरि परीक्षाताका संगठित भएका विद्यार्थीहरुले २००४ साल मंसिर २१ गतेबाट आन्दोलन पुन शुरु गरे उक्त आन्दोलन अझ शसक्त र कडा प्रकृतिको थियो । राणा सरकारले मंसिर २२ गते आन्दोलनमा उत्रेका विद्यार्थीहरुलाई कठोर निर्णय गरेर देश निकाला गर्यो । आन्दोलनकारी विद्यार्थीहरुलाई नेपालको राजधानीमा आउन नपाउने, नेपालमा जागिर खान नपाउने तीनधारा संस्कृत छात्रावासमा खान बस्न नपाउने तथा अन्य कुनै पनि सरकारी विद्यालयमा पढ्न नपाउने । चारपाटा मुडेर डाँडो कटाइयोे । २००४ मंसिर २२ गते परीक्षा नै बहिष्कार गरेको तथा आन्दोलन नछाडेको भन्दै ३८ जना विद्यार्थीहरुलाई चारपाटा मुडेर डाँडो कटाईएको हो । त्यस दिनको सम्झना आउँछ जब देश निकाला भएपछि काहाँ जाने के गर्ने भन्ने चिन्तामा थिंए । सिहदरबारबाट बाहिर निस्कदा आन्दोलनकारीहरुलाई सहयोगको लागि उपत्यकाबासिहरुले सबैलाई बालाजु जाने भनेका रहेछन् बालाजु बालाजु भन्ने आवज सुनेपछि म पनि बालाजु गंँए त्यहाँ उपत्यकाबासिहरुले खानेपिने ब्यवस्था गरिदिएका रहेछन् । त्यसदिन मेरो साथी दाङ रामपुरका ऋषिराज घिमिरे साह्रै रोयो आन्दोलन नगर्न सुझाव दियो म देश निकाला भएपछि साह्रै पीर मानेको थियो पछिसम्म मलाई उसको संझना आईरहन्थ्यो । त्यसदिन सबै साथीहरु बालाजु जम्मा भएका रहेछन । त्यसदिन हामी त्यहि बसी भोलीपल्ट त्याहाँबाट आन्दोलनलाई शसक्त बनाउदै पढाइलाई निरन्तरता दिने अठोटका साथ भारतको वनारस पुग्ने उदेश्य लिएर प्रस्थान शुरु गर्यौ । हामी त्रिशुली, गोरखा, पोखरा, स्याङ्जा, हुँदै पाल्पा आएका थियौ ।

तीनधारा संस्कृत पाठशाला

पाल्पामा मेरो जीवनको एउटा अवस्मरणीय संझना छ । हामी चार जना साथीसँगै थियौं एउटा ब्राह्मणको घरमा बास वस्न पुगेका थियौ घर भब्य र सुन्दर थियो आगन सफा चौडा थियो दुई वटा घर थिए । घरधनीको नाम त मैले बिर्सेछु । उनी पनि राणा साशनको बिरोधी र त्यसक्षेत्रका कहलिएका विद्वान् रहेछन । उनले हामीलाई राजनीतिका कुरा धेरै सिकाए । खाना खाने समयमा दुई दुई जना पालै पालो खाना खानु पर्ने । त्यति ठूलो घरमा किन एक पटकमा दुई जनाले मात्र खान खाने ब्यवस्था भनेर हामी दुई साथी कानेखुसि गर्दै भान्साकोठामा गएका थियौं । त्यति ठूलो भान्साकोठामा दुई ठाँउमा खाना राखिएको छ । खाना खुवाउने मान्छे बस्ने सानो अर्को कोठा रहेछ । जब हामी खाना खान बस्यौ चाँदीको थालमा भात, सुनको कचौरामा घिऊ, काँसको कचौरामा दाल, चाँदीकै कचौरामा तरकारी, चाँदीकै गिलास सुनको चम्चा रहेछ । खाना सकिने बित्तिकै फुत्त भन्सारी बाहिर आएर खाना थपिदिने र फेरी सानो कोठामा गएर बस्ने चलन रहेछ । खाना खाईसकेपछि घरधनीले नानी हो तिमीहरुलाई जीवनभर सम्झनाको लागि पालै पालो खाना खुवाएको हो । दुई सेट मात्र खाना खाने सामाग्री भएकोले त्यसो गर्नु परेको उनले बताएका थिए । भोलीपल्ट त्यहाँबाट बिदा हुँदा उनले केही बाटो खर्चसमेत दिएको सम्झना छ ।

नेपालभरी विशेषगरी पश्चिम नेपालमा राणाविरोधी चेतना फैलनुमा आन्दोलनकारी बिद्यार्थीको ठूलो भूमिका छ । त्यहाँबाट वुटवल भैरहवा नाका भएर भारतको सुनौली नौतनुवा हुँदै वनारस पुग्यौं । वनारसमा नेपालीहरु प्रशस्त मात्रामा पढ्न गएका रहेछन् ? बि.पि. कोइरालासहित राणा सरकारको बिरोधमा काँग्रेसको स्थापना भएको रहेछ । हामीहरुले जयतु संस्कृतम् कै आन्दोलनबाट अगाडि बढ्ने या काँग्रेससँग मिलेर राणा सरकारको बिरोधमा आन्दोलन गर्ने विषयमा एक मत हुन सकेनौ । हामीहरु बिच फुट भयो म चाँहि काँग्रेसमा सहभागी भए । काँग्रेसको कार्यसमितिमा रहेर आन्दोलनमा सहभागी भए । हामीहरुले त्यँहीबाट राणा सरकारको बिरोधमा आन्दोलन शुरुवात गर्यौ । वास्तवमा जयतु संस्कृतम् नामले चिनिने विद्यार्थी आन्दोलन नै नेपालको राजनीतिक परिवर्तनको मियो बन्यो ।

तीनधारा छात्रावास

२००७ सालको आन्दोलनमा हामीहरुले आआफ्नो जन्मस्थानका जिल्ला जिल्लामा आन्दोलन चर्कायौ । तसर्थ नेपालको राजनैतिक परिवर्तनमा २००४ सालको विद्यार्थी आन्दोलनको महत्वपूर्ण भुमिको छ । यदि उक्त आन्दोलनले राणा विरोधी भूमिका नबनाएको भए देशले परिवर्तनका खातिर ज्यादा समय पर्खनु पर्थ्यो । जन समर्थनको निर्माण, राणाहरुका बिरुद्ध जनसमुयदायलाई बिरोध गर्न सक्ने सामथ्र्यको निर्माण, राष्ट्रभित्रै आन्दोलनको वातावरण, युवा एकता जस्ता कुरामा उक्त आन्दोलन सफल मानिन्छ । राणाहरुमा रहेको हैकमी प्रवृत्तिलाई झक्झक्याउन उक्त आन्दोलन प्रथम मार्गदाता मानिन्छ । उक्त आन्दोलन केबल शैक्षिक चेतनायुक्त, राष्ट्रभक्तिपूर्ण स्वतन्त्रताप्रिय थियो । त्यसमा कसैको अन्तरनिहित स्वार्थ थिएन । त्यहीँ निस्वार्थ आन्दोलननै राणापतनको मियो बन्यो । यसरी गरिएको आन्दोलनमा संलग्न सबै योद्धाहरुमा जीवनको उत्तरार्धसम्म नकुनै वैयक्तिक चाहना, पदलोलुप प्रवृति तथा स्व उन्नयनका निमित समर्पण देखियो । केवल ‘राष्ट्र हितार्थ जीवनोत्सर्ग केवलं मनुसस्य धर्मं’ भन्ने उक्ति चरितार्थ पाईन्थ्यो । वर्तमान समयमा पनि यसै आन्दोलनको स्वरुप आउन सके मात्र सच्चा राष्ट्रिय भावना जागृत हुन सक्थ्यो ।

प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस