मानपुर । एकाविहानै गाग्रोमा पानी लिन मानपुरको पन्चेधारा पुग्न नपाउँदै मानपुरकी सुषमाले धारा नजिकै कुनामा दिनहुँ जसो एक हुल वाल समूहलाई देख्छिन् । उनीजस्तै ती वालकहरु भने पँधेरोमा पानी भर्न होइन, गाजा चरेश लुकिलुकि सेवन गर्नका लागि हो ।
मानपुरको पन्चेधारामा मात्र होइन, वनकट्टिको बाँसको झ्यांङमुनी पनि यस्तै अल्लारे स्कुले विद्यार्थी जस्ता स्कुल ड्रेसमै सर्को तानिरहेका देखिन्छन् । ‘अपरिचित मान्छे आयो कि अन्तै मोडिन्छन्, होइन भने अन्तै मोडिन्छन्’, त्यहाँका स्थानीयबासीले यस्तै देख्दै आएका छन् ।
पछिल्लो समयमा दाङ जिल्ला लागुऔषध दुर्व्यसनीको ग्राफलाई उचो बनाउँदै गएको प्रहरीको तथ्यांकले देखाउँछ । यसमा अधिकांश १८ बर्ष मुनिका वालवालिकाहरु नै छन् । वालवालिकाहरु लागुऔषध दुर्व्यसनीको कुलतमा फसेको सबैभन्दा पहिले अभिभावकलाई जानकारी हुन्छ, त्यसपछि स्कुलमा उनीहरुलाई पढाउने शिक्षकलाई पनि जानकारी हुन्छ, तर उनीहरुले पहिचान गरिसकेका दुर्व्यसनीलाई कहिल्यै सार्वजनिक गर्दैनन् । यही कारणले पनि वालवालिकामा लागुऔषध दुर्व्यसनी एउटा चुनौतिका रुपमा बढिरहेको छ ।
‘लागुऔषध दुर्व्यसनीले नै यहाँ वालश्रम र वालविवाह जस्ता सामाजिक अपराधको अवस्था सृजना गरेको छ, वालश्रम रोक्नका लागि सबैभन्दा पहिले हामीहरु लागुऔषध दुर्व्यसनीका सन्दर्भमा एक पटक फेरी पनि गम्भीर बन्नुपर्ने अवस्था आएको छ’ इलाका प्रहरी कार्यालय तुलसीपुर र तुलसीपुर उपमहानगरपालिकाको महिला, वालवालिका तथा सामाजिक शाखाले आइतबार मानपुरमा आयोजना गरेको वालश्रम न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा तुलसीपुर १७ का वडाध्यक्ष थलराज पुरीले भने ।
उनले आफ्नो वडामा वालश्रमभन्दा पनि वालावस्थामै दुर्व्यसनीको समस्या अत्यधिक रहेको भन्दै यसमा गम्भीर हुन वडाका अभिभावकहरुलाई आग्रह गरे । दुर्व्यसनीकै कारण वडामा विभिन्न खाले सामाजिक अपराध र घरेलु हिंसाका घटना समेत दोहोरिदै आएको पनि उनको अभिव्यक्ति थियो ।
तर वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथिको भनाइमा तुलसीपुर उपमहानगरपालिका चाँडै वालश्रम मुक्त वडा घोषणा हुने क्रममा छ । यहाँ वालश्रमिकको समस्या धेरै छैन । कहिकतै होटल, यातायात र इटाभट्टाहरुमा वालश्रमिकहरु रहेछन् भने त्यहाँ स्थलगत अनुगमन गरी उनीहरुलाई उद्धार गरी अभिभावकको जिम्मा लगाउने र पठनपाठनको व्यवस्था मिलाउने पनि उनले प्रतिवद्धता व्यक्त गरे ।
वडा सदस्य शुशिला बुढाथोकीको बुझाइमा होस् वा अर्का वडासदस्य मदन बस्नेतको बुझाइमा पनि वालश्रमभन्दा वालवालिकामा लागुऔषध दुर्व्यसनीकै समस्या बढि रहेको भनाइ थियो । उनीहरुले यसरी वालवालिकाले लुकिछिपि लागुऔषध सेवनगर्ने स्थानहरुमा विशेष सुरक्षा निगरानी बढाउन पनि इलाका प्रहरी कार्यालय तुलसीपुरलाई आग्रह गरेका थिए ।
तुलसीपुर उपमहानगरपालिका महिला, वालवालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले कार्यक्रममा विषय प्रवेश गराउँदै वालवालिकालाई माया दिएर मात्रै भविष्यका कर्णधार बनाउन सकिने भन्दै पढ्ने उमेरका वालवालिकाहरु कतै वालश्रममा रहेका छन् भनेर सबै मिलेर मुक्त गरौं भन्ने अभिव्यक्ति दिइन् ।
‘वालवालिकालाई सुधार्न ढिलो गरेर हुँदैन, आजैदेखि अभियानमा जुटौं, किनकि वालक जन्मने वित्तिकै दुध चुस्न लालाहित हुन्छ, एक घण्टापछि चुसाउला भनेर हुँदैन’, मायाको भनाइ थियो वालवालिका प्रति । आजका वालवालिका हरेक हिसावले स्वस्थ र सक्षम भएभने मात्रै मुलुकले भविष्यमा दक्ष जनशक्ति पाउने हो भन्दै समुदाय सबैभन्दा बढी वालवालिकाप्रति जिम्मेवार बन्नुपर्ने उनको सुझाव थियो ।
आफैले समन्वय गरेको कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्सपेक्टर झलक प्रसाद शर्माले वालवालिकाहरु दुर्व्यसनीका कारण पढ्ने अवसरबाट समेत बन्चित भएको तथा पारिवारिक हिंसाको अवस्था सृजना भएको बताए । साथै उनले आफ्नो बच्चा कुलतमा लागेको छ भने त्यसबाट मुक्त बनाउनका लागि प्रहरीसँग साझेदारी र सहकार्य गर्न पनि उनले अभिभावकहरुलाई सुझाव दिए ।
साथै उनले वालवालिकाहरुप्रति माया देखाएर उनीहरुलाई वालश्रम मुक्त बनाउन पनि आग्रह गरेका थिए । साथै उनले वालश्रम, वालविवाह र लागुऔषध दुर्व्यसनी सम्बन्धी विद्धमान कानुनी व्यवस्थाका विषयमा पनि जानकारी दिएका थिए । प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत उपमहानगरपालिकाका १९ वटै वडामा यस्ता कार्यक्रमहरु भैरहेको पनि उनले सो अवसरमा जानकारी दिएका थिए ।