म्यादी प्रहरीमा पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनका लागि चाहिने एक लाख १९ हजार म्यादी प्रहरी भर्नामा पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिने भएको छ ।

आगामी ३० वैशाखका लागि घोषित निर्वाचनका लागि तयार गरिएको ‘म्यादी प्रहरी भर्ना छनौट मापदण्ड–२०७८÷२०७९’ को खाकामा म्यादी प्रहरी भर्ना गर्दा पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता दिने व्यवस्था राखिएको हो ।

म्यादी प्रहरी भर्ना गर्दा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा काम गरी पेन्सन वा उपदान प्राप्त गरिरहेका पूर्वसुरक्षाकर्मीलाई पहिलो प्राथमिकता दिइने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए ।

केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार म्यादी प्रहरीको भर्ना प्रक्रिया सम्भवतः फागुन मध्य वा अन्तिमबाट सुरु हुनेछ । ‘यसपटक एक लाख १८ हजार २३१ जना म्यादी प्रहरी भर्ना गर्न प्रस्ताव गरेका छौं’ उनले भने, ‘निर्वाचनमा नियमित जनशक्तिबाट मात्र सुरक्षा प्रदान गर्न पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।’

केसीका अनुसार म्यादी प्रहरीका लागि माग गरिएको ४ अर्ब रुपैयाँ बजेट स्वीकृत भइसकेको छैन ।

प्रहरीले तयार पारेको म्यादी प्रहरीको प्रारम्भिक छनौट मापदण्ड अनुसार जिल्ला–जिल्लाबाट म्यादी प्रहरी भर्ना गरिनेछ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाउने प्रस्ताव छ ।

म्यादी प्रहरीलाई नियुक्ति दिएको दिनदेखि ५० दिनसम्म काममा लगाइने मापदण्डमा उल्लेख छ । यसरी नियुक्त भएका म्यादी प्रहरीलाई छिमेकी जिल्लामा खटाइने व्यवस्था मापदण्डमा राखिएको छ ।

मापदण्डमा उल्लेख भएअनुसार म्यादी प्रहरीले प्रहरी जवानको सरह सुविधा पाउनेछन् । प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार ५० दिनमा उनीहरुको तलब ठाउँ अनुसार ५७ हजारदेखि ९८ हजार रुपैयाँसम्म हुनसक्छ ।

म्यादी प्रहरीले नियुक्ति पाएको दिनबाट ५० दिनसम्म काम गर्नेछन्, त्यसवापत उनीहरुले प्रहरी जवान सरहको सुविधा पाउनेछन् । २५ लाख रुपैयाँ बराबरको बिमा प्रस्ताव गरिएको छ ।

म्यादी प्रहरीले पाउने सुविधाको ५० प्रतिशत रकम ३० दिन काम गरेपछि र बाँकी काम सकिएपछि भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।

मापदण्ड अनुसार म्यादी प्रहरी हुन १८ वर्ष पूरा गरी ५४ वर्ष ननाघेको हुनुपर्नेछ । साधारण लेखपढ गर्न जान्ने र कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार नठहरिएको र शारीरिक र मानसिक रुपले तन्दुरुस्त रहेको हुनुपर्ने पनि भनिएको छ । यसरी नियुक्त भएका म्यादी प्रहरीले जनपथ प्रहरीसँग मिलेर काम गर्नुपर्ने छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस