फोरलेनकै कारण प्रेममा परें, फोरलेनकै कारण भताभुंग भो…

नियमित जस्तै आज पनि मलाई जागिर खान घोराही पुग्नुपर्ने तर सधै झैं आज मसँग सवारी साधन थिएन, थियो त केवल घोराहीसम्म पुग्ने कोही चिनेजानेको मोटरसाइकल वा सानो सवारीवाला भेटिन्छ कि भन्ने आशा अनि केही उपाय नलागे सार्वजनिक यातायातको सुविधा लिनुपर्ने बाध्यता । आखिरमा मलाई मेरो दोस्रो यथार्थ नै काम लाग्यो । पश्चिमतिरबाट बत्तिदै आएको गाडी मोतिपुर गेटमा रोकें र चढें ।

गाडी भरिभराउ नै थियो । सीट खाली थिएनन्, मात्रै गाडीको बिचभाग तिरका दुई सिट बाहेक । म बसें, छेउको सिटमा झोला राखें । गाडी गुड्यो……..। अलि अगाडी पुग्दा निदाइसकेको रै’छु…। यत्तिकैमा एउटा युवती गाडी चढिन् र भनिन्, ब्याग उठाउनुस् न बस्नुप¥यो…… । हस्, मैले झोला आफ्नो काखमा लिएँ । उनी बसिन, गाडी गुड्यो…. थोरै दूरी पार गरेपछि मैले सोधें, काँसम्म पुग्ने तपाइँ ? घोराहीसम्म… उनको जवाफ थियो । ए..ए.. मैले टाउको हल्लाएँ । उनले पनि सोधिन, तपाइँ नि ? म पनि घोराही नै हो….. म बोलें ।

कुराकानीको क्रम चल्दै गयो । मलाई अंग्रेजी बोलौं बोलौं लाग्यो, मैले उसको आँखामा आँखा जुधाउँदै अंग्रेजीमै सोधें ! योर नेम ? उ लजाए झैं गरी अनि हाँसी..हें हें….र प्रतिप्रश्न गरी किन ? यत्तिकै जान्न मन लाग्यो, किन भन्न मिल्देन र ? मैले एउटाको उत्तर आइनपुग्दै अर्को प्रश्न थपें । मिल्छ, आइएम समीक्षा उसले जवाफ दिइ । मुस्कुराउँदै मैले तुरुन्तै प्रतिप्रश्न गरें, यु समीक्षा अर योर नेम समीक्षा….? उ अँझ लजाउँदै भनी माइ नेम इज समीक्षा….। या या ओके मैले बुझेझैं गरेर टाउको हल्लाएँ…….।
अंग्रेजी फिटिक्कै नजान्ने मान्छे म, जानेका जति अंग्रेजीमा नजानेका जति नेपालीमै के–के, के–के सोधिरहें । धेरै प्रश्नहरु गरें, उसले उत्तर दिइरही । धेरै पटक फुक्र्याएँ, उ लजाइरही । म बोलिरहें कतिकति बेला उस्ले पनि मतिर हेर्न थालि । फाट्टफूट्ट मेरा आँखामा आँखा पनि जुधाउँदै लजाउन थाली । मैले कुरा बुझिहालें । अब कसरी अगाडी बढौं, म सोचमा परें ! एकछिन सन्नाट छायो । म केहीबेर नबोलेपछि उसले मतिर पुलुक्क हेरी । सायद ऊ कुरा अगाडि बढाउन चाहन्थी तर उसले त्यसो गरिने मैले उसको चाहना र अवस्था दुबै बुझें । केटी मान्छे, लजाइ होली । उसै पनि गाडीभरि मान्छे थे ।

यद्यपि म चैं उसले पनि केही कुरा गरोस् भन्ने चाहन्थें । त्यसैले त ऊ बोल्ने प्रतीक्षामा मौन थिएँ । चिसो मौसम भएर होला, गाडीका सबै झ्यालहरु बन्द थिए । हामी बसेको सिटको झ्यालको कुण्डी फूत्किएको रहेछ । झ्यालको सिसाको छेउतिर साना दुईवटा प्वाल थिए । जहाँबाट बेलाबेलामा थोरै हावाको झोक्का भित्र छिथ्र्यो अनि उसको नबाँधिएको केसका केही धर्साहरु बेलाबेलामा फूरुरु गर्दै मेरो अनुहारसम्म लुट्पुटिन आइपुग्थे…. । उसले अप्ठ्यारो माने झैं गर्थी तर मलाई नराम्रो लागेन, समग्रमा राम्रै लाग्यो । ऊ मेरो अनुहारमा आइपुगका धर्सा स्याहार्दै भन्थी, कपाल पनि……। उसले धेरै पटक कपाल स्याहारी । यद्यपि बोल्ने छाँट छैन, म पनि मौन छु । अनि बारम्बार मेरो अनुहारमा झम्टिन आइपुग्छ उसको कपाल…..। लाग्यो सायद यो मेरो मौनता तोड्न आएको हो ।

आखिर मैले नै मौनता तोड्नुपर्ने देखियो, उसले हिम्मत गर्ली जस्तो लागेन मलाई । प्रसँग जोड्ने सोच बनाएँ.. । उ मेरो छेउको सिटमा बसेको हुनाले फेस टू फेस कुरा गर्न अलि अप्ठ्यारो भइरहेको थियो । केटीहरुसँग कुरा गर्दा वरपर हेरेर कुरा गर्ने मेरो बानी छ, आँखा जुधाउन सक्दिन । केही दिनअघि मेरो एकजना केटी साथीले मलाई सिकाएकी थिइ, आइन्दा कुरा गर्दा आँखामा आँखा जुधाएर कुरा गर्नु । यताउता हेरेर कुरा गर्दा अलि राम्रो मानिदैन । साथीले सिकाएको कुरा यहाँ लागु गर्ने कोसिस गरें । म अलि तेर्छो फर्किएँ, ऊ तिर । अनि उसलाई आफूतिर हेर्न आग्रह गरें, उसले स्वीकारी । उसको आँखामै हेर्दै भनें समीक्षा युआर सो ब्युटिफूल…आइ लाइक यु एण्ड युअर नेम…….। होला खुब, उ नपत्याए झैं गरी । होके साँच्चै, मैले विश्वास दिलाउने कोसिस गरें । ऊ बेलाबेलामा मात्र मसँग आँखा जुधाउँथी, अघिपछि यताउता, माथि÷तल हेरे झैं गर्थि तर यस पटक चैं उसले पनि मेरो आँखामा हेरेर भनी थ्याङ्क यु……….म मुस्कुराएँ, अनि ऊ फेरि लजाइ र घोप्टो मुन्टो लगाइ । मै चैं उसलाई हेरिरहें….।

म कुराकानी जोड्ने क्रममै छु…….। किन यसरी लजाएको ? राम्री मान्छे भएर पनि लजाउँ छन् त ! डल्ली… यसपटक पनि उसलाई फूक्र्याएँ…। त्यसो होइन, उसले जवाफ दिइ । अनि किन घोप्टो मुन्टो, म तिर हेरन….मैले अलिक कडा स्वरमा अनुरोध गरें । क्वीन्टलको बोरा बोके झैं गरेर उसले टाउको उठाइ, अनि म तिर हेरी….. ओहो ! कति नसालु उसका आँखा……! भाङ खाएको महादेव झैं भएँ म, लठ्ठ…। सतिदेवीलाई छल्न गएको कामदेव झैं उसैको अगाडि ढल्छु कि जस्तो पो भयो…..।

मलाई लाग्यो ऊ म मा लिन छे । म उसका आँखामा एकटकले हेरिरहेको छु अनि उसले मेरा आँखामा….। ऊ कहाँसम्म पुगी मलाई थाह भएन् तर म भने समुद्र झैं शान्त उसका आँखामा प्रेमको गहिराइ खोज्दै अघि बढिरहें । उसले आँख झिम्क्याउँदा समेत कतै बाटो अलमलिए झैं हुन थाल्यो । ति कञ्चन नयनभित्र प्रेमिल डुबुल्की मार्नुको मज्जा बेग्लै आहा !…. म अझ गहिराइमा पुग्न थालें…..गइरहें…गइरहें…। हामी एकअर्काको एकदमै नजिक–नजिक हुँदै गयौं । मुटुको धड्कन अलिक तेज हुन थाल्यो, जीउ तात्तिएजस्तो…फोक्सोले आफ्नो गति बढायो । मुख बन्द थिए, नाकलाई मात्रै श्वासको रफ्तार थाम्न निकै गह्रो भएजस्तो….। रगत यति छिटो दौडिन थाल्यो कि, बेग धान्न नसकेर कतै रक्तनली नै फुट्लान्जस्तो अनि अनुहार सिम्रिक घसे झैं…..लाल । सिंगो संसारसँग हामीलाई कुनै मतलब नै थिएन । हामी आफ्नै संसारमा थियौं, उ र म मात्र भएको संसार थियो । हो, हामी कसैले बाधा नपुर्याउने संसारमा एकअर्काभित्र हराइरहेका थियौं । ड्याङ्ङ… आवाज आयो । ओ…… सबै चिच्याए, समीक्षाको र मेरो टाउको जोडले ठोकियो, निकै पीडा भयो । समीक्षालाई के भयो, मलाई थाह छैन । मैले निधार छामिरहें, एकछिन पछि मात्र मैले आँख खोलें….र हेरें वरपर बसेका मान्छेहरु मलाई हेरर मुसुमुसु हाँसिरहेका छन् । छेउमा समीक्षा छैन, सिट खाली छ ! मेरो निधारमा फुडुल्को छ ।

झस्ल्याङ्ग भएँ, निद्रा खुल्यो । निदाएका कारण सम्हालिन नसकेर हुत्तिएछु र चिच्याएछु….। यता उता हेरें, दिउसोको ३ः१० बजाएको थियो, घडीले । २ बजे मोतिपुरबाट म चढेको गाडी घोराही–तुलसीपुर सडकखण्डको अम्रइ भन्ने ठाउँमा आइपुगको थियो । अम्रइनजिकै बिच सडकमै ठूलो खाल्डो छ, त्यो गड्याङगको आवाज र हलचल गाडीले त्यही खाल्डो छिचोल्दाको रै’छ । यो अभागी खप्पर काँ त्यति राम्री केटीसँग ठोक्किन पाउँथ्यो र ? म बसेभन्दा अगाडिको सिटको कुण्डीमा ठोक्किएको रै’छ…….। आजको यात्राले निधारमा ठूलै फूडुल्को उपहार दियो अनि लाज त कत्तिकत्ति । धन्न चिनेको मान्छे कोही थिएन, गाडीमा । पीडा र लाजले टाउको उठाउने हिम्मत नै आएन । केहीबेर त्यही फूडुल्को छामेर र निहुरिरहें…….।

गाडीले सेवारखोला तरे सर्राको उकालो चढ्दै थियो । पीडा अलि कम भए झैं भयो, निधारबाट हात हटाएँ तर लाज पचाउन सकिन र टाउको उठाइन, निहुरिरहें । घच्याक्क, घच्याक्क गाडीको गुड्ने र रोकिने क्रम उस्तै छ । त्यतिबेला भने मेरो मनमा थुप्रै प्रश्नहरुको तछाड मछाड चल्न थाल्यो । २३ किलोमिटर बाटोमा डेढ घण्टा किन लाग्छ होला ? जहाँ गति सीमित प्रतिघण्टा ४० कि.मि. लेखिएको छ । यी बाटै भरि भएका खाल्डाहरु पुर्ने कस्ले होला ? गत साउनमै बन्नुपर्ने फोरलेन अझै किन नबनेको होला ? कही नभएको जात्रा हाँडी गाउँमा झैं भएको छ, फोरलेन । आखिर तीनै तहको सरकार त बनाएकै छौं । कि यो काम हामी नागरिकै हो ? देशमा संघीयता ल्यायौं भने त विकासको मूल नै फुट्छ भन्दै गरिएको भाषणहरु फगत शब्दको खर्च मात्र थियो ? कहिलेसम्म होला यस्तै यथार्थ भोग्नुपर्ने ? सार्वजनिक यातायतामा घोराही–तुलसीपुरको यात्रा गर्दा कतिले मैले झैं प्रेम गरे होलान् ? कतिको त विवाह नै भयो होला ! कतिले घर बनाए होलान्, विदेश गए होलान् ! घडेरी किने होलान्, जागिर खाए होलान् । तर ब्युझँदापछिको यथार्थ निधारमा फूडुल्कै त होला !

गाडीको घ्याच्च, घ्याच्च चलिरहेकै छ । म सोच्न थालें समस्या हुनु ठूलो कुरा होइन, समाधानतर्फ नसोच्नु नेतृत्व तहका मान्छेहरुको गल्ती हो भने बेथिति सहेर बस्नु आमनागरिकको गल्ती । घोराही–तुलसीपर सडकखण्ड निमार्ण होस् या मर्मत सम्भारको सवालमा निकै लापरबाही भएको छ । यो बेतिथिकाविरुद्ध आमनागरिकहरु सडकमै उत्रिनुपर्ने हो ? युवालाई समाजको खम्बा मान्छि, यसमा हामी सचेत युवाको भूमिका के हुन सक्ला ? सोच्दै थिएँ…. ल सबैजना यही उत्रिनुस् है, गाडी बसपार्क जान्न । बसको ढोकाबाट सहचालक बोल्यो । ओहो ! तुलसीपुर चोक आइसकेछ । काखको झोला पीठ्युँमा बोकें । अघिको लाज अझै पचिसकेको थिएन, गाडीमा सवार कसैको अनुहारमा नहेरी गाडीबाट झरें र अघि बढें, अफिसतिर…..।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस