तुलसीपुर खानेपानीको उपाध्यक्षमा सितारामको गोल !

तुलसीपुर । तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको भर्खरै सम्पन्न निर्वाचनबाट उपाध्यक्ष पदमा सिताराम शर्माले गोल गरेका छन् । फुटबल चुनाव चिन्ह पाएका शर्माले २२७२ मत ल्याई विजयी भएका छन् ।

यसअघि पनि संस्थामा कोषाध्यक्षको जिम्मेवारीका साथै तुलसीपुर खानेपानीको आर्थिक जिम्मेवारी सम्हालेका शर्माले आफ्नो निकटतम् प्रतिद्वन्दीबाट ७८७ मतान्तरले विजयी भएका हुन् ।

शर्माका प्रतिद्वन्दी गिरिधारी पौडेलले १४८५ र अर्का प्रतिद्वन्दी पूर्णप्रसाद धितालले ७१ प्राप्त गरेका थिए ।

दुई कार्यकाल खानेपानीमा जिम्मेवारी सम्हाली सकेका सितारामलाई यसपटक फुटबल चुनाव चिन्हबाट निर्वाचित हुँदै खानेपानीमा गोल गरेका छन् ।

यसअघि राप्ती सार्वजनिक यातायात व्यवसायी समितिको कार्यालय प्रमुखको जागिर बाहेक उनले अधिकांश समय खेलकुद क्षेत्र, तथा सामाजिक क्षेत्रमै खर्चिए । जिल्ला खेलकुद विकास समिति दाङको पूर्व कोषाध्यक्ष, टेवलटेनिस संघको कोषाध्यक्षको भूमिकामा काम गरिसकेका शर्माले तुलसीपुरमा कभर्डहल निर्माणमा पनि अतुलनीय भूमिका निर्वाह गरे ।

कभर्डहल निर्माणका लागि जग्गा संरक्षण गर्नेदेखि लिएर तुलसीपुरको गौरवकैरुपमा रहेको अरनिको मैदानलाई चारैतिर पर्खाल निर्माण गरी संरक्षणको अगुवाइमा पनि सितारामको भुूमिकालाई आम तुलसीपुरबासीले बुझेका छन् । पछिल्लो समय तुलसीपुर खानेपानीको कोषाध्यक्षमा रहँदा पनि उनी उपभोक्ताका निकै लोकप्रिय बनेका पनि छन् ।

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस