दंगीशरण । नेतृत्व विकास, स्थानीय स्रोत पहिचान तथा ब्यवसाय उत्प्रेरणा सम्बन्धी ३ दिने तालिम विहीबार दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ । नेतृत्वदायी कार्यक्रम र व्यवसायमा महिलाहरुको अर्थपूर्ण सहभागिता तथा प्रतिनिधित्व गराउने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । दंगशिरण गाउँपालिकाको आयोजना तथा महिला पुनःस्थापना केन्द्र ओरेक परियोजना कार्यालयको सहकार्यमा मंगलबारदेखि शुरु भएको तालिम विहीबार सम्पन्न भएको हो ।
तालीममा प्रशिक्षक राजेन्द्र कुमार रायमाझी र मोहन विक्रम वलीले महिलाहरुलाई सामाजिक परिवेश तथा गरिबी, पहुँच तथा नियन्त्रण, स्थानीय निकाय तथा संरचना विश्लेषण, गरिबीका आयामहरु, स्थानीय स्रोत पहिचान कसरी गर्ने, मानव अधिकारमुखी अवधारणाको विकास, ब्यवसाय सञ्चालन गर्ने प्रक्रियालगायतविषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
तालीममा दंगीशरणका विपन्न वर्ग, द्वन्दपीडित महिला र पुरुष गरि १२ जनाको सहभागिता रहेको थियो ।
तालिमपछि सहभागी महिला सगुन चौधरीले भनिन् ‘पहिला टोलका महिलाहरुलाई आफ्नो हकअधिकार बारे थाहा थिएन आजभोलि त विद्यालय व्यवस्थापन समिति, अभिभावक समिति र वडा नागरिक मञ्चहरुमा प्रतिनिधित्व गर्न थालेका छन् । यस्ता तालिमले हामीमा ईच्छा शक्ति बढाएको छ ।’
कार्यक्रममा ओरेकका जिल्ला संयोजक ईश्वरी थापाले सहभागी मध्ये ३ जना महिलाहरु ब्यवसाय सञ्चालन गर्ने ईच्छा ब्यक्त गरेपछि घुम्तीकोष मार्फत २५, २५ हजारका दरले ७५ हजार गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, उपाध्यक्ष पिमाकुमारी खड्का र प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर खड्कालाई हस्तान्तरण गरेकी छिन् ।
संयोजक थापाले कुनै पनि ब्यवसाय सञ्चालन गर्नका लागि योजनासहित गाउँपालिकामा आएर सो रकम लिइ ब्यवसाय सञ्चालन गर्न आग्रह गरिन् । ‘यो रकम तपाईहरुको सहयोगका लागि हो यसलाई ब्याज बिना नै फिर्ता गर्ने गरि ब्यवसायमा लगानी गर्नुहोस् ।’ संयोजक थापाले भनिन् ।
सिकेका सिपलाई ब्यवहारमा कार्यान्वयन गरौं : अध्यक्ष चौधरी
दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले तालिमबाट सिकेका कुरालाई ब्यवहारमा लागु गर्न आग्रह गरेका छन् । गतवर्षदेखि दंगीशरणका नागरिकहरुमा क्षमता अभिबृद्धि गर्नका लागि चार सयभन्दा बढी महिलाहरुलाई तालिम दिईसकेको भन्दा कार्यान्वयन गर्ने महिलाहरुमा संख्यामा कमी देखिएको बताए ।
हरेक कार्यक्रममा विपन्न वर्गलाई प्राथमिकतामा राख्दै सहयोग स्वरुपक कार्यक्रम सञ्चालन गरे पनि ब्यवहारमा लागु नभएको बताए । ‘आर्थिक अवस्थालाई बलियो बनाउँन सहयोग गर्छौ काम गर्नुस् भन्दा पनि ध्यान नदिएका कारण नागरिकहरुको जीवनस्तरमा परिवर्तन आएको छैन । सहयोग लग्ने त्यसको महत्व नबुझेकाले समस्या आएको हो ।’ अध्यक्ष चौधरीले भने ।
कार्यक्रममा उपाध्यक्ष पिमाकुमारी खड्काले कुनै पनि कार्यमा लगानी मात्र नभई फलदायी तरिकाले काम गर्नुपर्ने बताइन् । सिप सिकाइ कार्यक्रममा सहभागिता मात्र जनाएर कुनै उपलब्धि नहुने भन्दै यसलाई ब्यवहारिक रुपमा लैजानुपर्ने बताइन् । कार्यक्रमको सहजीकरण ओरेककी कल्पना चौधरीले गरेकी थिइन् ।