तपाई हामी सबैलाई थाहा छ सन १८६० सालमा स्कटल्यान्डका भौतिकशास्त्री जेम्स क्लार्क म्याक्सवेलले पृथ्वीको वायुमण्डलमा विद्युत चुम्बकीय तरंगको प्रभाव अर्थात् अस्तित्व हुन सक्ने अनुमान गरेका थिए । त्यसकै आधारमा सन १८८८ मा जर्मनीका भौतिकशास्त्री हेनरी हर्जले यस कुरालाई प्रमाणित गरिदिए । ध्वनि तरंग प्रमाणित, पत्ता लागेपछि सन १८९५ सालमा पहिलो पटक इटलीका गलिल्मो मार्कोनीले ध्वनि तरंगलाई एक ठाउँबाट अर्को ठाउँमा तारबिना पुर्याउन सफल भए । त्यसपछि सन १९०१ सालमा रेडियो तरंग फैलाउने क्षमता राख्ने प्राबिधिक यन्त्र ट्रान्समिटरको पनि निर्माण गरे । यसरी बिनातार ध्वनि तरंगको सुरुवात गर्नुका साथै रेडियोको महत्वपूर्ण यन्त्र ट्रान्समिटरको निर्माण कार्यमा सफलता पाएका कारण रेडियो आविष्कारका रुपमा मार्कोनीलाई लिइन्छ र चिन्दछौ पनि ।
नेपालको सनदर्भमा कुरा गर्दा सन १९२९ सालमा पहिलो पटक रेडियो भित्रियो । त्यति बेला बेलायतबाट बिबिसि सेवा काठमाडौंमा मात्र सुनिन्थ्यो । र त्यो बेलाको राणाहरुको बढी वर्चस्व र राज भएका कारण त्यतिबेला रेडियो सुन्ने पनि राणा परिवार मात्रै थियो ।अन्य नागरिकले रेडियो सुन्न अनि बोक्न पाउँदैनथे रेडियो सुनेको बोकेको पाएमा कठोर यातना दिनुका साथै जेल सजाए पनि कठोर तरिकाले दिने गर्दथे । सन १०६० सालको दशकसम्म आइपुग्दा काठमाडौंका केही धनि सम्भान्त परिवारले रानाहरुको अनुमति लिएर रेडियो सुन्न पाउथे । वि.सं. २००३ सालमा नेपाल बोडकास्टिङ नामबाट रेडियो प्रसारण सुरु भयो । बिडम्पना भन्नुपर्छ तपाईलाई नढाटि भन्नुपर्छ त्यसको एक बर्षपछि वि.सं. २००४ मा फागुनमा बोडकास्टिङ जबरजस्ति बन्द गराइयो । त्यसैबेला चलिरहेको राणा बिरुद्धको आन्दोलनका क्रममा तत्कालीन काँग्रेस पार्टी नेतृत्वमा रहेको मुक्ति सेनाले भोजपुर कब्जा गर्ने क्रममा टान्समिटर ल्याएर २००७ सालमा मंसिर २५ गते भोजपुरबाट रेडियो आरम्भ गरेको पाइन्छ । पछि त्यसलाई सिंहदरबार काठमाडौं ल्याएर हालको रेडियो नेपाल बनाइयो । यसरी सुरु भएको रेडियो आज जिल्ला जिल्लामा एफ एम रेडियोको रुपमा फैलिएको पाइन्छ ।
एफ एफएम रेडियो प्रसारणका सन्दर्भमा सबैभन्दा महत्वपूर्ण र संवेदनशील पक्ष भाषा र शैली हो । एफएम रेडियो प्रसारण माध्यम भएको हुँदा एकपटक प्रसारण भैसकेको भाषा र शैली सच्याएर पुनः प्रसारण गर्ने समभव हुँदैन । सञ्चार माध्यम क्षेत्र आफैमा अरुलाई सहि भाषा र शैली प्रसारण गर्ने माध्यम हो । यसैले आफैमा गलत भाषाशैली प्रसारण गर्दा श्रोताप्रति बिश्वासघात हुन्छ । नेपालमा पछिलो समय खुलेका निजी स्तरका धेरै एफएमहरु छन । आज सञ्चार क्षेत्र फराकिलो छ । बिश्वमै कुनै पनि एउटा सञ्चार माध्यमको भर परेर बस्नुपर्ने अवस्था छैन । श्रोताले तत्कालै आफ्नो निर्णय परिर्वतन गर्न सक्छन त्यसकारण प्रस्तोताले यी कुराहरुमा ध्यान दिन जरुरी छ ।
प्रष्ट विचार
एफएम रेडियो प्रसारण गरिने आवाज प्रष्ट उच्चारण हुनुपर्छ । अन्यथा एफएम रेडियो सुने व्यक्तिले कार्यक्रम प्रस्तोताको आवाज बुझन सक्दैन र नबुझेको कुरा पुनः सन्न पनि सक्दैन । यसर्थ एफएम रेडियो सुन्नेमा बोल्ने व्यक्ति छनोट गर्दा प्रष्ट उच्चारण गर्न सक्ने ब्यक्तिको छनोट गनुपर्छ भने एफएम रेडियो कार्यक्रम चलाउने ब्यक्तिले पनि आफ्नो उच्चारण प्रष्ट बनाउन सदैब ध्यान दिनुपर्छ । यदि कोही स्पष्ट बोल्न र शब्दलाई प्रष्टसँग उच्चारण गर्न सक्दैन भने ऊ सफल उद्घोषक वा आरजे हुन सक्दैन । यसर्थ प्रस्तोताका लागि प्रष्ट उच्चारण हुन जरुरी हुन्छ ।
सरल भाषा
प्रसारण माध्यम भएको हुँदा एफएम रेडियोमा प्रयोग गरिने भाषा सरल हुनुपर्छ । एफएम रेडियोमा प्रयोग गरिने भाषा शिक्षित र अशिक्षित दुवै अर्थात् श्रवण गर्न सक्ने सबैले बुझ्ने खालको सरल हुनुपर्छ । समाजमा धेरै थरि मानिसको बसोबास हुन्छ । यसर्थ एफएम रेडियोमा बोल्दा ती सबैसँग भिज्न सक्नुपर्छ । समाज अनुसारको संस्कृति र संस्कृतिअनुसारको रहनसहन हुने भएकोले एफएम रेडियोमा प्रयोग गरिने भाषा सोही किसिमको सरल र सबैले बुझ्ने हुनुपर्छ । त्यसका लागि छोटो र सरल वाक्यको प्रयोगलाई लोकप्रिय मानिन्छ ।
सरल लेखन
एफएम रेडियोमा प्रयोग गरिने स्क्रिप्ट वा समाचार अत्यन्तै सरल हुनुपर्छ अर्थात् बोलीचालीको भाषामा तयार गरिएको हुनुपर्छ । स्क्रिप्ट तथा समाचारलाई नहेरी पढे जस्तो भान पर्ने गरी तयार हुनुपर्छ । शब्दहरु लेख्दा वा बोल्दा दोहोरो अर्थ लाग्ने गरी प्रयोग गर्नु हुँदैन । त्यसो भयो भने विषयवस्तुले विवाद सिर्जना गर्दछ । यसर्थ एफएम रेडियोमा प्रयोग भएका वाक्यांशहरु सरल हुनुपर्छ ।
विषयवस्तुको छनोट
एफएम रेडियोमा तयार गरिने सबैजसो कार्यक्रमहरुमा प्रयोग गरिने विषयवस्तु उद्देश्य अनुसारको हुनुपर्छ । कार्यक्रमको उद्देश्य एकातिर र आफुले प्रस्तुत गरेको सामाग्री अर्कोतर्फ भयो भने श्रोता निक्कै अलमलमा पर्छन् यसर्थ विषयवस्तुको छनोट र कार्यक्रमको उद्देश्य बीच तालमेल हुन जरुरी हुन्छ । समय, समुदाय र संस्कृतिअनुसारको विषयवस्तु छनोट गर्नुपर्छ । कुन समाजमा के कस्ता मानिसहरु बसोबास गर्छन सोहीअनुसारको विषयवस्तु छनोट गर्नुपर्छ । यसै गरि कुन वर्गका लागि कसले कार्यक्रम सञ्चालन गर्ने हो सोही अनुसारको प्रस्तुति पनि आवश्यक मानिन्छ ।
तत्कालीन समयको सम्बोधन
रेडियो एफएमका प्रसारण गरिने कुनै पनि सामग्री तत्कालीन समयलाई सम्बोधन गरेको हुनुपर्छ । समाचारको हकमा अहिलेसम्म भएको घटनालाई अपडेट गर्न जरुरी हुन्छ । बिहानको समाचार साझसम्म पुरानो हुन सक्छ यसर्थ उक्त घटना साँझसम्मको स्थिति के छ ? त्यसलाई प्रसारण गनुपर्छ । त्यस्तै विभिन्न कार्यक्रमको हकमा पनि वर्तमान अवस्था झल्किने खालको सम्बोधन गर्न जरुरी हुन्छ । जस्तै पानि परिरहेको समयमा पानीसँग सम्बन्धित कुरा गर्ने पानीसँग सम्बन्धित गीत बजाउने, रातको समयमा रातको कुरा, बिहानको समयमा बिहानको कुरा झल्किने खालको प्रस्तुति प्रसारण गरिनुपर्छ । त्यसका अतिरिक्त चाडपर्व, संस्कृतिअनुसारमको बोलि प्रयोग गनुपर्छ । साथै समय वा दिनलाई सम्बोधन गर्दा बार नभइ अहिले, आज र भोलि भनेर सम्बोधन गर्नु राम्रो हुन्छ ।
सम्मानपूर्वक सम्बोधन
बोलिचालीको भाषामा एकले अकोलाई तपाई भनेर सम्बोधन गरिन्छ । यसर्थ जुनसुकै उमेर वा पदमा रहेका व्यक्तिसँग कुराकानी गर्दा या उनीहरुका बारेमा समाचार तयार गर्दा सम्मानपूर्वकरुपमा तपाई भनेर सम्बोधन गनुपर्छ । कतिपय एफएम रेडियोका कार्यक्रम प्रस्तोता वा अन्तर्वार्ताकारले सानो उमेरको व्यक्तिलाई तिमी भनेर सम्बोधन गरेको वा अन्तर्वार्ता सुरु गर्दा प्रतिष्ठित व्यक्तिलाई जी भनेर सम्बोधन गरेको पाइन्छ भने बिदा गरिसकेपछि उनी थिए भनेर सम्बोधन गरेको पाइन्छ । यसरी प्रसारण भएको शब्दले सुन्ने मानिसलाई खल्लो मशसुस गराउने हुँदा तिमीको ठाउँमा तपाई जी को ठाउँमा ज्यू तथा उनीको ठाउँमा उहाँ जस्ता सम्मानजनक शब्द प्रयोग गर्नु राम्रो मानिन्छ किनकि बोल्ने भाषा लेख्ने भाषा जस्तो हुँदैन । पत्रपत्रिकामा समाचारहरु छाप्दा उनी भनेर गरिएको सम्बोधन जति सरल सुनिन्छ रेडियोमा त्यति नै अप्ठ्यारो सुनिन्छ ।
कार्यक्रमअनुसारको शैली
कतिपय शब्दहरु लेखाइ र पढाइमा भिन्न हुन्छन् । यसर्थ रेडियोमा पनि कार्यक्रमअनुसारको शैली प्रयोग गर्नुपर्छ । एकपटक कथालाई समाचारको शैलीमा र कवितालाई भाषणको शैलीमा वाचन गरेर हेरौ त कस्तो सुनिन्छ ? निश्चयनै त्यसो गर्दा कथा समाचार जस्तो र कविता राजनीतिक भाषण जस्तो हुन्छ । कहिलेकाही कतिपय कार्यक्रम प्रस्तोताबाट घटना वा विषयअनुसारको शैली प्रस्तुत नहुँदा कार्यक्रम नै खल्लो सुनिन्छ । यसर्थ शब्द उही भए पनि वाचन शैलीले गर्दा भिन्नता आउँछ ।त्यसो हुँदा रेडियोमा कार्यक्रमअनुसारको शैली अपनाउनु जरुरी हुन्छ ।