
विश्वकै पर्यटकीय गन्तव्यको लागि प्रचुर सम्भावना भएको देश हो नेपाल । चाहे विश्वकै सबैभन्दा अग्लो सगरमाथा हिम शिखर होस् वा बुद्धको जन्मस्थल लुम्बिनी, सीताको जन्मभूमि जनकपुर, भृकुटीको जन्मस्थल वा प्राकृतिक सुन्दरताले भरिएका सुन्दर तथा मनोरम फेवा र रारा जस्ता अनगिन्ति ताल, पोखरी तथा झरनाहरू वा धार्मिक आस्था विश्वासले भरिएका पाशुपति क्षेत्र, गोसाईंकुण्ड, स्वर्गद्वारी, मुक्तिनाथ, पाथीभरा, हलेसी, चन्दननाथ जस्ता ऐतिहासिक धार्मिक गन्तव्यहरूमा साहसिक पर्यटकको लागि रहेका क्रीडा स्थलहरू वा जैविक विविधताले भरिएका बन, जङ्गल, भिर, पाखाहरू तथा गुफाहरू यी सबै हेर्न र रमाउन पाउने स्थानहरू नेपालमै रहेकोले सबै किसिमका पर्यटकका लागि आकर्षक गन्तव्य नेपाल रहेको मान्न सकिन्छ ।
यस्तै नेपालका आकर्षक गन्तव्यहरू मध्ये एउटा गन्तव्य हो नेपालकै ठुलो तथा एसियाकै तेस्रो ठुलो उपत्यका र हावा पानी बसोबासको दृष्टिकोणले उत्कृष्ट तथा साँस्कृतिक विविधता भरिएको ऐतिहासिक स्थान हो दाङ जिल्ला । यस जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित प्राकृतिक रूपले अत्यन्त सुन्दर तथा रमणीय पुरन्धारा झरना जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ । जिल्लाको सदरमुकाम घोराहीदेखि करिब ५५ किलोमिटर पश्चिम रहेको यो छहरा साबिक पुरन्धारा गाविस वडा नं. ८ हाल बबई गाउँपालिका वडा नं. ५ को जङ्गलमा रहेको छ । यो करिब ५० मिटर उचाइबाट झरेको प्राकृतिक झरना हो ।

माथि निरन्तर बगिरहने पानीको मुहानबाट तल चट्टानमा ठोक्किएर झर्दा यसले सुन्दर झरनाको स्वरूप लिएको देखिन्छ । यो पुरन्धारा झरना उत्तरतर्फ बगेको बबई नदीको किनारमा झर्दछ र झरनाको नजिकै बबई नदीमा बनेको ‘झोलुङ्गे पुल’ ले गर्दा यहाँको सौन्दर्यतालाई थप आकर्षण बनाएको छ । धार्मिक दृष्टिकोणले हेर्दा समेत उत्तर बाहिनी नदीको आफ्नै महत्व रहेको छ भने यो झरनाभित्र शिवजीको जटा रहेको र सो जटाबाट नै झरनाको पानी बगिरहेको भन्ने किम्बदन्ती रहेता पनि धार्मिक ग्रन्थहरूमा यसको प्रमाणित आधार भने देखिएको छैन ।
दाङलगायत नेपालका धेरै स्थानमा पर्यटकहरूको लागि आकर्षक यस्तै झरना, ताल, पोखरी, गुफाहरू रहेका छन् तर पनि हाम्रो संकुचित विकासको नीति, अव्यवस्थित योजना तथा राजनैतिक स्वार्थ सिद्धिको कारण यस्ता पर्यटकीय स्थलहरू ओझेलमा परेका मात्र होइन राजनीतिको कोपबिभाजनमा समेत परेका छन् । दाङको दोस्रो ठुलो सहर तुलसीपुर देखि करिब ३० किमी पश्चिममा रहेको पुरन्धारा झरना नजिक रहेको दाङको राजनैतिक रूपमा चर्चित स्थान हापुरे बजार देखि करिब ७ किमी मात्र टाढा रहेको छ । तुलसीपुरदेखि हापुरेसम्मको बाटो आकर्षक तथा सारै सुन्दर रहेको छ भने हापुरेदेखि झरनासम्म अहिलेसम्म पक्की बाटो हुन सकेको छैन र बाटोमा पर्ने कुलो, खाल्साहरू समेत सहज यातायातको लागि अवरोध नै रहेको छ ।
विकासको लागि पहिलो सर्त बाटो नै हो त्यसपछि बिजुली, पानी, सञ्चार तथा अन्य रहेका छन् तर हामी अहिलेसम्म बाटोमै रुमलिएका छौ । प्राथमिकताका साथ बन्नु पर्ने बाटाहरू बनेका छैनन् पहुँचका भरमा एउटै स्थान पुग्न दुई तिन वटा बाटाहरू समेत बनेका छन् भने कयौँ ठाउँमा भाइरल रोड समेत बनेका छन् जसमा टिकटक बनाउन बाहेक निश्चित गन्तव्यको खासै महत्व देखिएका छैनन् । बनेका बाटाहरू पनि नियमित मर्मत सम्भार भएका छैनन् ।
हाम्रो देशका नेताहरू भनौँ या योजनाविद्हरु भनौँ या विज्ञहरू या देशको नियति भनौँ दोष कसको हो मैले यकिन साथ भन्न सक्दिँन तर जिल्लाकै पहिचान चिनाउने यति सुन्दर आकर्षक झरनासम्म पुग्ने बाटो अहिले होइन उहिले बनाउनु पथ्र्यो । नजिकमा पर्यटकहरूलाई सुविधा युक्त बसोबास, खानपिनको व्यवस्था हुनु पथ्र्यो । नजिकमा रहेको बबई नदीमा र्याफ्टिङ, डुंगाहरू चलाउन सकिन्थ्यो । आकर्षक बिचको व्यवस्था गर्न सकिन्थ्यो । बच्चाहरूको लागि पार्क तथा खेल मैदान र जङ्गल सफारीको व्यवस्था गर्न सकिन्थ्यो तर देशको अस्थिरसँगै विकास स्थिर हुन सकेन ।
करिब ५ किमी बाटोको अभावमा आज पुरन्धारा झरना सबैको ओझेलमा परेको छ । घर घर गाउँ गाउँमा बाटो पुर्याउँदै गर्दा एउटा राष्ट्रकै आम्दानीको नियमित स्रोत बन्न सक्ने झरना दाङ बासीकै बिरानो भएको छ । हामी यसै साता त्यस क्षेत्रको भ्रमण गरेका थियौ । तुलसीपुरदेखि हुइँकिएर गएका हामी त्यहाँको बाटो र त्यस वरपरका रमणीय दृश्य हेर्दै जाँदा ज्यादै प्रफुल्लित भएका थियौ जब हापुरे हजार पुग्यौ त्यहाँको बजार पनि अपेक्षित रूपमा राम्रो देख्यौ तर जब एक डेढ किलो मिटर अगाडी बढ्दा केही खिन्नता महसुस भयो । कच्ची बाटो बिच बिचमा खोला खोल्साहरू सहजै सानो गाडी जान नसक्ने रहेछ । तर पनि हामी हिम्मत साथ पुग्यौ । झरना नजिक रहेको पार्किङ स्थलमा गाडी पार्किङ गरी झरना खोज्दै जाँदा केही पर झोलुङ्गे पुल र अझै केही पर झरना फेला पार्यौ ।
शनिबारको दिन केही भिडभाड होला भन्ने ठानेका थियौ तर २–४ जोडी तस्बिर खिच्दै टिकटक बनाउँदै गरेको बाहेक धेरै भिड देखिएन सबैको गुनासो त्यहाँ पुग्ने बाटोप्रति नै थियो । खानपिनको लागि समेत एक दुई वटा नाङ्ले पसल बाहेक अरू देखिएन र वासस्थानको को सम्भावना नै थिएन । तर पनि यहाँ रहेको झरना, पुल, लेक, टाकुरा दृश्यावलोकन र सानो ट्रेकिङको अनुभव गर्दा केही समय बिताउन भने आनन्ददायक नै थियो ।
झट्ट हेर्दा एउटा झरना र झोलुङ्गे पुल मात्र देखिएता पनि यसको प्राकृतिक स्वरूपलाई नबिगारीकन यहाँको पर्यटकीय सम्भावनालाई थप आकर्षक बनाउन सकिने रहेछ । झरनाको दृश्यावलोकन गर्ने स्थानलाई सुरक्षित र व्यवस्थित गर्नु पर्ने देखिन्छ । त्यस्तै झरना हुँदै बबई नदी किनारासम्म पुग्ने बाटो र त्यहाँ व्यवस्थित बिच र झरनाको दृश्यावलोकन हुने गरी साना साना रिसोर्टहरु सञ्चालन गर्न सकिन्छ । त्यसैगरी पुरन्धाराबाट नेपालगन्ज सुर्खेत रोडमा जोडिने गरी बाटो बनाएर त्यस क्षेत्रका आगन्तुकहरूलाई आकर्षण गर्न सकिन्छ ।
यसरी पर्यटकको आकर्षण गर्न सर्व प्रथम आकर्षक दृश्यावलोकन गर्ने स्थान, सहज सडक तथा यातायात, सानो बजार, होटेल, रेस्टुरेन्ट तथा बाल बच्चाहरूको लागि मनोरञ्जन स्थल आवश्यक देखिन्छ । नेपाल जस्तो प्राकृतिक सौन्दर्यताले भरिएको देशमा सबै भन्दा महत्वपूर्ण सडक नै हो र त्यहाँ निर्माण गरिएका भौतिक पूर्वाधार तथा सुरक्षा व्यवस्थापन नै महत्वपूर्ण रहन्छ ।
यसर्थ पुरन्धारा झरनाको संरक्षण तथा प्रवद्र्धनको लागि त्यहाँसम्म पुग्न बाँकी रहेको पक्की सडक तत्काल पक्की गरिनु पर्छ र क्रमशः झरनाको दृश्यावलोकन गर्ने स्थानको व्यवस्थित स्पटहरू तयार गर्नुका साथै सुरक्षाको व्यवस्थापन गर्नु पर्ने देखिन्छ । बाटोको व्यवस्थापन भए स्वतः बजारको विकास हुनेछ र दाङकै एउटा ऐतिहासिक पुरन्धारा झरना नेपालकै आकर्षक गन्तव्य बन्न सक्नेछ ।