
दाङ । तिहार नजिकिदैँ जाँदा बजारमा चहलपहल बढ्दै गएको छ । बजारमा विषेशगरी तेल, मैदा लगायतका खाद्यवस्तुको खरिद गर्नेहरुको भिड छ । तर चाडपर्वको मुखैमा बजारमा मुल्य वृद्धि पनि भएको छ । अखाद्य वस्तुको बिक्रि वितरण पनि उस्तै छ ।
अनुगमन भएपनि औपचारिकतामा सिमित हुँदा उपभोक्ता दिनदहाडै ठगिन बाध्य छन् । बजारमा अहिले प्रतिकेजी ४५ रुपैँया पर्ने ५० रुपैँया पुगेको छ । प्रतिलिटर २ सय ४५ पर्ने तेलको मूल्य २६० देखि ३७० सम्म पर्ने गरेको छ । चाडपर्वको मुखैमा बजारमा मूल्यवृद्धि भएपनि उपभोक्ता मारमा परेका छन् ।
व्यवसायीले उद्योगबाटै मूल्यवृद्धि भएकाले मूल्य बढेको बताएका छन् । अरु समयमा भन्दा चाडपर्वको समयमा अलि बढी मूल्य हुने गरेको न्यु सिन्दुर किराना पसलका संचालक कृष्ण पोखरेलले बताए । ‘मैदाको मुल्य अहिले ५० केजीमा १ सय देखि २ सय बढी परेको छ ।’ उनले भने-‘चाडपर्वको समयमा मूल्य बढेपनि बिक्रि हुन्छ भनेर हो कि के हो, सामान्य अवस्थाको भन्दा केहि भाउ बढेको छ ।’
चाडपर्वको समयमा मूल्यवृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य अस्वभाविकरुपमा वृद्धि हुँदा आफुहरु मारमा परेको उपभोक्ता चन्द्रा बस्नेतले बताईन् ।‘भाउ बढेपनि आवश्यक किन्नै परेको छ ।’ उनले भनिन्-‘म्याद गएका सामान पनि बिक्रि वितरण हुने गरेको छ, खै यसको नियमन कसले गरेको छ ।’
बजारमा व्यवसायीले अखाद्य वस्तु बिक्रि वितरण गर्ने गरेपनि नियमन हुन नसकेको उनले गुनासो गरिन् । ‘बजारमा कालो बजारी रोक्न सम्बन्धित निकायको तुरुन्त ध्यान जावस् ।’ उनले भनिन्-‘अनुगगमन औपचारिकतामात्रै देख्छु मत ।’
चाडपर्वको समयमा उपभोक्ताले अझ बढी ख्याल गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष केशबकुमार शर्माले बताए । ‘अनुगमन पनि भइरहेको छ बजारहरु तर त्यतिले बजारमा सबै ठिक छ भन्ने अवस्था छैन् ।’ उनले भने-‘उपभोक्ताले पनि वस्तु खरिद गर्दा मूल्य, म्याद भए/नभएको आदि अवस्था बुझ्न आवश्यक छ ।’ उपभोक्ता सचेत हुन सकेमा बजारको अवस्था सुधार गर्न समय नलाग्ने उनको भनाई छ ।
बजारमा हुन सक्ने कालोबजारी रोक्न पालिकाहरु नै सक्रिय हुनुपर्ने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘बजारको महंगी नियन्त्रण, कालो बजारी रोकथामको जिम्मा स्थानीय तहलाई छ’ उनले भने-‘हामीले पनि बेला-बेलामा अनुगमन गरी मापदण्ड विपरित संचालन हुने व्यवसायलाई कार्बाहीको दायरमा ल्याएका छौँ, यद्यपी अहिलेको तिहारको समयमा अनुगमनलाई निरन्तरता दिन सकिएको छैन् ।’
बजारमा सामान किन्दा उपभोक्ता सचेत हुन सके अझ सहज हुने उनले बताए । ‘उपभोक्ताले पनि मैले कस्तो वस्तु किन्ने, कतिमा किन्ने ? आदि कुरामा ध्यान दिनुपर्छ ।’ उनले भने-‘उपभोक्ता सचेत भएमा बजार सुध्रन्छ ।’
चाडपर्वको समयमा हुन सक्ने महंगी र कालोबजारी रोक्न स्थानीय तहले बजार अनुगमनलाई तिब्रता दिएका छन् । तर पालिकाले गर्ने अनुगमन औपचारिकतामा सिमित बन्ने गरेको छ । बजारमा हरेक पटक म्याद गुज्रिएका वस्तु फेला गर्ने गरेपनि व्यवसायीमाथि कार्बाही हुन सकेको छैन् ।
‘अनुगमन गर्ने अधिकार स्थानीय तहलाई भएपनि कार्बाही गर्ने स्पष्ट नीति नभएका कारण व्यवसायीलाई सचेतनाबाहेक अरु केहि गर्न नसकिएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले बताइन् ।‘अनुगमनको क्रममा हरेक समय त्रुटी फेला पर्छ ।’ उनले भनिन्-‘तर कार्बाही गर्ने अधिकार स्थानीय तहलाई छैन्, स्पष्ट नीति नहुँदा बजार अनुगमनबाहेक अरु केहि गर्न सकिएको छैन् ।’