![](https://pradeshpatra.com/wp-content/uploads/2021/10/khemraj-2000x923.jpg)
दाङ- एउटा खोरमा तयारी अवस्थाका ब्रोइलर कुखुरा, अनि अर्को खोरमा साना चल्ला ।
दुवै खोरका कुखुराको दानापानीमै दैनिकी बित्छ खेमराज र मेघराज रोकाको ।
वैदेशिक रोजगारीबाट फर्र्किएका सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ को सिस्नेरी दुवै जना युवा अहिले कुखुरा पालन व्यवसायमा व्यस्त छन् ।
विदेशको बसाईपछि पौरख स्वदेशमै पोखेका दुवै जना अहिलेको कुखुरापालन व्यवसायबाट सन्तुष्ट छन् ।
मलेसीयामा १० वर्ष बढी बसेर फर्किएका खेमराज रोका र कतारमा चार वर्ष बढी बसेका मेघराज अहिले कृर्षि व्यवसायमा रमाउन थालेका हुन् ।
उनीहरु दुवै जना काका भतिज हुन् । विदेशको बसाईपछि दुवै जना अहिले कृर्षी कर्मबाट स्वरोजगारी बनेका छन् ।
‘विदेशमा लामो समय बसियो तर विदेशमा कमाएकोले काम गरेन् , बरु स्वदेशमै थोरै भएपनि काम गर्छ ।’ खेमराजले भने-‘घरपरिवारसंगै काम गरेर कृषि कर्ममा रमाउनुको मज्जा बेग्लै ।’
कोरोनापछि घर फर्किएर कृर्षि पेशा व्यवसायमा जोडिएको उनले बताए ।
‘कोरोना महामारीका बिचमा विदेशबाट फर्किएको थिएँ’ उनले भने-‘म घरमा फर्किएर व्यवसायीक कृर्षी व्यवसाय गर्न थालेपछि घर परिवार पनि खुशी भएका छन् ।’
कुखुरा पालन व्यवसाय संगसंगै बाख्रापालन, भैसीपालन व्यवसाय पनि शुरुवात गरेको उनीहरुले बताएका छन् ।
लामो समयको विदेशको बसाईपछि स्वदेशमा कृषि तथा पशुपंक्षि व्यवसायबाट राम्रै आम्दानी गरेको उनिहरुको भनाई छ । घरपरिवार तथा साथीभाईसंगै बसेर कृषि तथा पशुपंक्षि पालनबाट पनि राम्रो आम्दानी भएपछि दुवै जना दंग छन् ।
घरपरिवार तथा साथीभाई संग टाढा रहेर विदेशको भूमिमा परिश्रम गर्नुभन्दा स्वदेशमै आफ्नै व्यवसाय गर्दा सबैभन्दा बढी आनन्द मिल्ने भोगाई दुवै जनाको छ ।
करिब दुई लाखको लागतमा कुखुरा पालन शुरु गरेका दुवै जनाले अहिले भैसीपालन , बाख्रा पालन व्यवसाय पनि शुरुवात गरेका हुन् ।
नाताले काकाभतिज पर्ने दुवै जनाले कुखुरापालन व्यवसायबाटमात्रै मासिक करिब १ लाख आम्दानी गरिरहेको बताए ।
‘लगानी पनि थोरै लागेको छ तर आम्दानी अहिले ठिकै छ ।’ मेघराजले भने-‘काकाभतिज मिलेर कृषि व्यवसाय गर्दा आनन्दको अनुभूति भएको छ ।’ पहाडी क्षेत्रमा कृषि कर्म गर्न सजिलो नभएपनि चुनौतिको सामाना गर्दै मनग्य आम्दानी गरिरहेको उनले बताए ।
‘पहाडमा विद्युत, पानी लगायतको सुविधा छैन् तर पनि कृषि कर्ममा हात हालेका छौँ ।’ उनले भने-‘हामी काका भतिजलाई कृषि कर्म नै फलिफाप होला जस्तो छ ।’ व्यवसायीक कृषि कर्म गरेपनि सरकारबाट पाउने अनुदान अहिलेसम्म पाउन नसकेको उनले बताए ।
![](https://pradeshpatra.com/wp-content/uploads/2021/10/1634891448012-1024x473.jpg)
‘पहुँचवालाले हो अनुदान खाने भनेको त, हामी त पहुँच छैन् ।’ उनले भने-‘सरकारको पनि सहयोग हुन सक्यो भने कृषिकर्मलाई निरन्तरता दिन सजिलो हुने थियो ।’
रोजगारीका लागि अहिले पनि दैनिकजसो १ हजारभन्दा बढी युवा विदेशीरहेका छन् ।
स्वदेशमा रोजगारीको अवसर नभएको भन्दै विदेश जाने युवाहरुलाई रोका काकाभतिजको कृषि कर्मले लोभ्याएको छ ।
विदेशमा जाने युवाहरुलाई विदेशमा जान लाग्ने लगानी स्वदेशमै लगाउन मेघराज रोकाको सुझाव छ । ‘विदेश जाने लगानी पनि कम्तिमा पनि दुई लाख लाग्छ ।’ उनले भने-‘त्यो लगानी बरु स्वदेशमै लगाउन सकियो भने घरपरिवासंगै बसेर कर्म गर्न सकिन्छ ।’
विदेशमा १ लाख कमाउनु र स्वदेशमा १० हजार कमाउनु बराबरजस्तै भएको उनको भनाई छ ।
‘विदेशमा पैसा मात्रै कमाउन सकिन्छ तर स्वदेशमा पैसामात्रै होइन साथीभाई पनि कमाउन सकिन्छ ।’ उनले भने-‘विदेशमा गएपछि भएका साथीभाई पनि टाढा हुन्छन् ।’
कृषि पेशाप्रति युवाहरुको आर्कषण बढ्दै गएको छ ।
विदेशबाट फर्किएर कृषि कर्ममा रमाएका मेघराज र खेमराज जस्ता युवालाई सरकारको साथ र सहयोग रह्यो भन्ने अबको केहि समयमै नेपालले कृषि तथा पशुपंक्षि जन्य वस्तुको आयात गर्नुपर्ने छैन् ।