सोह्र श्राद्धको महिमा

वस्तुतः सोह्र श्राद्ध भनेको सोह्र दिनमा आफ्ना पितृहरुको सम्झना गर्ने दिन हो । यो अवधिलाई पितृपक्ष अर्थात सोह्र श्राद्ध पनि भनिन्छ । श्रद्धाद्वारा गरिने तर्पण पिण्डदानादी कर्मलाई श्राद्ध भनिन्छ । हिन्दु धर्मशास्त्रअनुसार श्राद्ध भनेको पितृ यज्ञ हो । सम्पूर्ण पितृहरुको तृप्तिका निमित्त पितृहरुको नाम उच्चारण गर्दै ब्राह्मणहरुलाई श्रद्धा पूर्वक गरिने दानलाई नै श्राद्ध भनिन्छ ।

श्राद्ध कस्ले गर्ने ?

शास्त्रअनुसार श्राद्ध भनेको छोराले नै गर्नुपर्छ, छोरा नभए श्रीमतीले गर्नुपर्छ, श्रीमती र छोरा पनि नभए सहोदर दाजु भाइले श्राद्ध गर्नुपर्छ ।

कपाल मुन्डन नगरि श्राद्ध गर्दाको फल के हुन्छ ?

श्राद्ध कल्पमा बताइएअनुसार
छयौर कर्म बिना श्राद्धम य करोति नराधनः ।
जलम च रुधिरम प्रोक्तम ।
अन्नम बिस्ठा समम बिभुः ।।
अर्थात मुन्डन नगरिकन दिएको तर्पण रगत समान हुन्छ ।
अन्न दान बिस्टा समान हुन्छ भनेर श्राद्ध कल्पमा बताइएको छ।

श्राद्ध कति प्रकारका हुन्छन् ?

धर्म शास्त्रअनुसार श्राद्ध १२ प्रकारका हुन्छन् । नित्य श्राद्ध अर्थात् दिन दिनै गरिने श्राद्ध, नैमित्य श्राद्ध अर्थात् एक वर्षमा एक पटक गरिने श्राद्ध जसलाई एको तिष्ट श्राद्ध पनि भनिन्छ, काम्य श्राद्ध अर्थात् आफुले सोचेको काम सफल होस् भनेर गरिने श्राद्ध, वृद्धि श्राद्ध यो श्राद्ध विवाहादी कार्यमा गरिन्छ, सपिन्डी श्राद्ध मृत्यु कार्यको १२ दिनमा गरिने श्राद्ध, पार्बण श्राद्ध पितृ पक्षमा गरिने श्राद्ध, शुद्धी श्राद्ध पितृ तृप्ती विद्वानहरुको सुख प्राप्ति शुद्धिका निमित्त गरिने श्राद्ध, गोष्ठि श्राद्ध गाई भैसीले धेरै दुध दिउन पशु चौपायहरुको वृद्धि होस् भन्ने कामनाका साथ गरिने श्राद्ध, दैबिक श्राद्ध देवताहरुलाई सम्झिने श्राद्ध, यात्रा श्राद्ध देश विदेश यात्रा गर्दा गरिने श्राद्ध, पुष्टि श्राद्ध शरीर शुद्धि होस् भनेर गरिने श्राद्ध, कर्माङ्ग श्राद्ध सिमन्तोनयन पुन्सवन आदि संस्कारका निमित्त गरिने श्राद्ध गरी शास्त्रमा १२ प्रकारका श्राद्धको वर्णन गरिएता पनि यमस्मृतिमा भने नित्य, नैमित्य, काम्य, वृद्धि पार्बण श्राद्ध आदिको मात्र वर्णन गरिएको पाइन्छ ।

श्राद्ध गर्न नहुने स्थान

अर्काको घर, अर्काको जमिन, गाई भैंसी बाँध्ने गोठ हात्ती घोडा बस्ने ठाउँ, खनजोत गरेको ठाउँ आदिमा श्राद्ध गर्दा श्राद्ध गरेको फल प्राप्ती हुँदैन ।

श्राद्धमा पिण्ड कस्तो बनाउने ?

एको तिष्ठ श्राद्धमा बेलको फल जत्रो पिण्ड बनाउनु पर्छ, सोह्र श्राद्धमा सुकेको अमलाका दाना जत्रा पिण्ड बनाउनु पर्छ ।

श्राद्धमा शास्त्रले बर्जित गरेका कुराहरु

शंख, घण्ट बजाउनु हुँदैन, ठूलो ठूलो आवाज आउने गरि बोल्नु हुँदैन, तास खेल्नु हुँदैन तामसिक पदार्थ खानु हुँदैन, दोश्रो पटक खाना पकाउनु खानु पनि हुँदैन । रुख काट्नु हुँदैन, सह बास गर्नु हुँदैन, लौका, कुभिन्डो, भान्टा, लसुन, प्याज, कोइरालको साग, बिरेनुन, तामा, चनालाई बिलकुल बर्जित गरिएको छ । श्राद्ध कर्ममा रातो पुष्प रातो टीकालाई बिल्कुलै बर्जित गरिएको छ ।

बद्रीनाथमा गएर श्राद्ध गरेपछि श्राद्ध गर्न हुन्छ कि हुँदैन ?

गाउँ घरमा बद्रीनाथमा श्राद्ध गरेपछि घरमा आएर तर्पण मात्र दिए पुग्छ पिण्ड दानादी कार्य नगरे पनि हुन्छ भनेर एक खालको भ्रम छ के बद्रीनाथका पण्डाले श्राद्ध पश्चात् तुमारा बाप तर गया है भनेर धाप मार्दैमा हाम्रा पितृ तर्छन् त ? यो विधिसम्मत् शास्त्रसम्मत् छैन भनेर धर्म शास्त्रका ज्ञाताहरुले बताउँछन् बद्री गएर श्राद्ध छोड्नु र श्राद्धका बेला बिरालो बाधेर श्राद्ध गर्नु उस्तै उस्तै हो । बरु शास्त्रमा सिधै बताइएको छ कि रोगी अशक्तहरुले श्राद्ध गर्न सक्दैनन् भने तर्पणादी कार्य गरे पुग्छ भनिएको छ । यसरी यस्तो जनश्रुति मान्यतालाई आधार बनाएर बद्रीका पण्डाले तुमारा बाप तर्गया है अब श्राद्ध नै करोगे भनेर सबैले बद्री जाँदै श्राद्ध छोड्दै जाने हो भने श्राद्ध लोप हुने अवस्थामा पुग्छ भनेर हिन्दु परमपराका ज्ञाताहरुको चिन्ता र चासो बढ्दै गएको छ । यसलाई चिर्न नेपाली विद्वान वर्गको ध्यान जान जरुरी छ । ॐसर्बेभ्यो पितृभ्यो नमः ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस