नेपाली कांग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत अहिले पालिका स्तरीय नेतृत्व छनौटको लागि यही असोज ९ गते पालिका अधिवेशन हुन लागेको छ । पालिका हाँक्नका लागि अहिले पार्टीभित्रै छुट्टाछुट्टै प्यानल प्रतिस्पर्धामा छन् । सल्यानको कपुटरकोट गाउँपालिकामा पनि युवा पुस्ताको प्यानल र पुरानो पुस्ताको प्यानल अहिले प्रतिस्पर्धामा छन् । मत परिणाम आफ्नो पक्षमा पार्नका लागि दुवै प्यानल चुनावी मैदानमा छन् । आज हामीले सभापति पदमा उमेदवारी दिनुभएका युवा नेता यगराज वलीसँग कुराकानी गरेका छौँ । – सम्पादक
१. स्वागत छ यहाँलाई ?
धन्यवाद ।
२. चुनावी गतिविधि कस्तो चल्दैछ ?
अधिवेशनको मिति नजिकिदै जाँदा गतिविधि अझ झन् बढ्दै गएको छ । गाउँ–गाउँमा पुगरे म मेरा आदणीय सक्रिय कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि, अग्रजसँग भेटघाट तीव्र बनाएको छु । सबैको साथ, सहयोग र मायाले म सभापति पदमा उमेदवारी दिएको छु । आशा छ चुनावी मत परिणाम मेरो पक्षमा आउँछ । मैले मतमात्रै मागेको छैन । कांग्रेसलाई चलायमान बनाउन योजना पनि लिएर गएको छु ।
३. गाउँपालिका हाँक्ने जिम्मा आफुलाई आउँछ भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?
मत मेरो पक्षमा आउँछ भन्नेमा कुनै शंका छैन । मैले कपुरकोट गाउँपालिकाका ६ वटै वडामा अहिले मात्र होइन्, बिगतमा पनि पार्टी बलियो बनाउन खेलेको भूमिका र विभिन्न किसिमका सामाजिक कामले पनि मलाई चिनाएको छ । मलाई मेरा युवा साथीहरुको अझ बढी साथ छ , यति भन्दै गर्दा पुरानो पुस्ताको साथ छैन् भन्ने होइन्, पुरानो पुस्ताले झन् बढी साथ दिनुभएकै कारणले मैले सभापति पदमा उमेदवारी दिएको हुँ ।
४. कांग्रेसलाई बलियो बनाउन तपाईका योजनाहरु के छन् ?
कांग्रेस आफै एक शसक्त पार्टी हो तर पनि यसभित्र केही समस्या छन् । कपुरकोट गाउँपालिकामा पार्टी कार्यालय आफ्नै भवनमा छैन । संगठनभित्र केही असन्तुष्टि छन् । ती कुरालाई व्यवस्थापन गरेर लैजाने मेरो प्राथमिकता हो । मेरो अरु कुनै व्यक्तिगत स्वार्थ छैन् । पार्टीलाई अझै चलायमान बनाउनका लागि गाउँपालिकामा पार्टी कार्यालय भवन बनाउन मेरै नाममा रहेको १ रोपनी जग्गादान गरिसकेको छु । मेरो जितपछि भवन बनाउने प्रण गरेको छु । यस्तै गाउँपालिका ६ वटै वडामा ईकाइ कार्यालयलाई फर्निचर सामग्री सहयोग गर्नेछु र पार्टीलाई मजवुत बनाउनका लागि संगठन सुदृढीकरणमा लाग्ने छु ।
५. पार्टीमा व्यक्तिरुपमा ठुलो लगानी गर्नुभएको छ, यसलेमात्रै पार्टी बलियो होला त ?
पैसा सबथोक होइन्, यो कुरा सत्य हो । पैसाले नै राजनीति हुने भए , पैसाले नै राजनीतिमा सफलता मिल्ने भए सायद बिनोद चौधरी सांसदमा बस्नुपर्ने थिएन । उहाँ आजको प्रधानमन्त्री या राष्ट्रपति हुनुहुन्थ्यो । पैसा भगवान त होइन्, तर भगवान भन्दा कम छैन् भनेर भन्नु भएको छ एक जना विद्वानले । ठिक त्यसै गरेर पैसाले राजनीतिलाई शसक्त बनाउन भूमिका भने खेल्दछ । पैसाबिना भौतिक पूर्वाधार बनाउन, युवालाई रोजगारीमा जोड्न असम्भव छ । पार्टीलाई चलायमान बनाउन पैसा पनि महत्वपूर्ण हो भनेर स्विकार्ने मान्छे हुँ म ।
६. युवाका सवाललाई कसरी अगाडी लैजानुहुन्छ ?
म युवा हो, युवाका सवाललाई प्राथमिकता नदिन त कुरै भएन् तर म अहिले राज्यको नेतृत्व लिन जाँदै छन् । म गाउँपालिकाको सभापतिमा आइसकेपछि युवाका मुद्धालाई अघि बढाउन अवश्य कोशिस रहन्छ । पार्टीलाई थप शसक्त बनाउँदै युवालाई रोजगारी सृजना गर्न गर्नुपर्ने सबै भूमिका निर्वाह गर्नेछु ।
७. कांग्रेसभित्र गुट उपगुट धेरै देखिन्छ, अहिले तपाईहरु पनि एउटै पार्टीभित्र दुई वटा प्यानल भएर चुनावी मैदानमा होमिनुभएको छ, यसको अन्त्य गर्न भूमिकालाई कस्तो बनाउनुहुन्छ ?
म अहिले गाउँपालिकाको सभापतिको उमेदवार भएको कारणले केन्द्र र प्रदेशको कुरा धेरै गर्न चाहन्न तर कुरा के हो भने गुट भनेको मन पर्ने मान्छेको जमघट हो । मलाई मनपर्ने मान्छेहरु मसंग आउनुहुन्छ । मसंग भेट्नुहुन्छ । उहाँहरुलाई मेरो गुट भनेर आरोप लगाइन्छ । कसैले मेरो प्रतिद्वन्द्वि साथीहरुसंग गएर भेट्ला । उहाँलाई व्यक्तिगतरुपमा काम गर्ने शैली मन परेको होला । उहाँहरु उहाँहरुको पछाडी लाग्नुभएको होला । यसलाई मैले गुटको रुपमा लिने पक्षमा छैन् । यदि उहाँहरुले जित्नु भयो भने पनि उहाँहरुलाई म सहयोग गर्ने छु, पराजित हुनुभयो भनेपनि मैले उहाँहरुलाई पार्टीमा समान मिलाएर अझ शसक्त बनाउने छु ।