श्राद्ध भनेको के हो र कसरी गर्ने ?

श्राद्ध शब्दलाई विभिन्न तरिकाबाट अर्थ्याए पनि मूलतः यसले इङ्गित गर्न खोजेको अर्थ एउटै हो– पितृहरूलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु । जीवित हुँदा मातापिताप्रति सेवा गर्नु मानव कर्तव्य मानिएको छ । यसैगरी उनीहरूको मृत्यु हुँदा शरीरलाई दाहसंस्कार आदि क्रिया गर्नु एवं अज्ञातस्थलमा पुगेका पितृहरूको सम्झना गर्दै श्राद्धादि कार्य गर्नु पनि उसको कर्तव्य मानिएको छ । वेदादि आफ्ना शाखाका शास्त्र हरूले बताएका विधि विधानअनुसार आफ्ना पितृहरूका निमित्त गरिने पैतृक कर्म नै श्राद्ध हो ।

श्रद्धया क्रियते इति श्राद्धः । अतःआफ्ना पुर्खाद्वारा ग्रहण गरिएको वेदशाखा सम्बद्ध गृह्यसूत्र निर्देशित भएर गरिने कार्यलाई नै श्राद्ध भनिएको हो ।

पितृकार्यं द्विजातीनां देवकार्याद्विशिष्यते । पितृकार्य अन्य देवकार्यको तुलनामा अतिश्रद्धापूर्वक गर्नुपर्ने विशेष कर्म भएकोले पनि भौतिक तथा पारलौकिक सफलताका प्राप्तिकालागि पितृहरूको उपासना गर्न वेदादि शास्त्रहरूले निर्देशन दिएका हुन् । यसकारण दुधआदि पदार्थहरू श्रद्धापूर्वक चढाउँदै गरिने कार्य नैं श्राद्ध हो । यसैगरी पितृहरूको स्मरण गर्दै पितृहरूका प्रतीक बनेर आफ्ना निमन्त्रणामा आफ्ना घर आएका ब्राह्मणहरूलाई पितृहरूलाई प्यारो लाग्ने वस्तु दान गर्नु वा प्रियभोजन गराउनु पनि श्राद्ध नैं हो ।

आध्यात्मिक व्यक्तिहरू संसारको पहिलो ग्रन्थ ऋग्वेद नै मान्दछन् । ऋग्वेदका अनुसार पूर्वजहरूलाई श्रद्धापूर्वक सम्झन अर्थात् श्राद्ध गर्न जुनसुकै धर्म सम्प्रदायलाई रोकावट छैन । विष्णु पुराण, नृसिंह पुराण, गरुड पुराण आदिले पनि ऋग्वेदको अनुसरण गरेको पाइन्छ । श्राद्धको निमित्त पवित्र इच्छा, भक्ति, श्रद्धा, ताजा संस्मरण अनिवार्य मानिएको छ । पिता माताबाट नै आफ्नो शरीर पैदा भएको र लालनपालन, शिक्षादीक्षासमेत प्राप्त हुने हुँदा उनीहरूका निमित्त श्रद्धा सुमन चढाउने निर्देशन हिन्दु धर्मले दिएको छ ।

अथर्ववेदमा (पृथ्वी, अन्तरिक्ष र स्वर्ग) यी तिनै लोकमा पितृको निवास हुन्छ भनेर बताइएको छ । पहिलो पुस्ता पिता–माताव सुस्वरुप, दोस्रोपुस्ता हजुरबुवा–हजुरआमा रूद्रस्स्वरूप तथा तेस्रोपुस्ता बुढोहजुरबुवा–बुढीहजुरआमा आदित्यस्वरूप भएर श्राद्धकर्म स्विकार गर्दछन् र श्राद्धको फलबाट देवलोकमा पुगी दीर्घकालसम्म सुख पाउँछन् र आफ्ना सन्ततिहरूलाई इच्छित फल प्रदान गर्दछन् भन्ने कुरा वेदमा प्रष्छ्याइएको छ ।

श्राद्ध कसरी गर्ने –

श्राद्धको प्रमुख अङ्ग सिधादान, पिण्डदान र ब्राह्मण भोजन हुन् तर यति मात्र हुन् भन्ने होइन । अन्य पनि त्यति नै महत्वपूर्ण छन् । पिण्डदानको अगाडि पितृसूक्त पाठ गर्ने नियम छ । हिन्दू धर्म तथा संस्कृति अत्यन्त प्राचीन भएकोले देश, काल, समय र परिस्थिति अनुसार गर्नु भनेकोले पनि सजिलोको लागि उत्तिकै उदार र लचिलो मानिन्छ । पितृपक्षमा मांसाहार गर्नेहरु पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृहरूलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन् । साथै गुरु, ज्वाइँ, छोरी, भानिज, नाति नातिना र ब्राह्मण वर्गलाई भोजन गराई दक्षिणा दिन्छन् । हिन्दुधर्ममा नै आस्था राख्ने कुनै जाति विशेषले भने श्राद्धमा पनि रक्सी, मासु चढाउने गरेको पाइन्छ । तर यो सबैको लागि नभई आ–आफ्नो जातीको संस्कृतिअनुसार बनाईएको चलन हो ।

श्राद्धमा पृथिवीका विविध वस्तुसँग मात्र नभई स्वर्गका देवता, पातालका नागदेवता पितृलोकका पितृहरूसँग भावनात्मक सम्बन्ध जोडिएको हुन्छ । त्यसैले श्राद्धमा पितृको निमित्त तर्पण दिंदा आफन्त बन्धुबान्धव मात्र नभई आब्रह्मपर्यन्तं देवर्षि पितृमानवा अर्थात् ब्रह्मादेखि किरा फट्यांरासम्मको तृप्तिको कामना गरिएको हुन्छ । सामान्य अर्थमा पिण्ड भनेको सुन्तलाकारजस्तो डल्लो हो तर श्राद्धमा यसले विशेष महत्व राखेको पाइन्छ । गाईको दूधमा पकाएको खीर वा गाईको दूधमा मुछिएको जौको पिठोको डल्लोलाई पिण्ड भनिन्छ ।

जसमा दूध, दही, घ्यू, मह र सक्खरसहित यसमा तुलसीपत्र र कालो तिल मिसाई श्राद्धविधिअनुसार कर्ताले औंलामा कुशको पवित्र लगाई पितृको नाम, गोत्र, उल्लेख गरी पिण्ड वेदीको माथि थालीमा अर्पण गरिन्छ । श्राद्धको निमित्त शुद्ध वस्त्र र शुद्धभोजन अनिवार्य छ । अघिल्लो दिन केशमुण्डन गर्न समय नभएको अवस्थामा कुश र जलले टाउको नुहाई पवित्र हुने चलन छ । शास्त्रमा श्राद्ध गर्ने व्यक्ति सदाचारी हुनुपर्ने उल्लेख छ । यसैगरी श्राद्ध गराउने अर्थात् श्राद्धमा प्रयोग हुने ब्राह्मण पनि सदाचारी हुनुपर्दछ । श्राद्ध गर्नेको शरीर, श्राद्ध गर्ने धन, श्राद्ध गर्नेकी पत्नी, श्राद्धगर्ने भूमि, श्राद्ध गर्नेको मन, श्राद्धमा प्रयोग हुने मन्त्र, र श्राद्धमा भोजन गर्ने वा पढ्ने ब्राह्मण यति सात कुरा शुद्ध हुनै पर्दछ भन्ने शास्त्रको भनाइ छ । जुनसुकै श्राद्ध गर्दा पनि पौराणिक मन्त्रलाई भन्दा वैदिक मन्त्रको प्रयोगलाई प्राथमिकता दिइन्छ । देवताहरूभन्दा पितृ रिझाउन कठिन हुने हुनाले श्राद्ध गर्दा मन्त्रहरू शुद्ध रूपमा पढ्नुपर्ने शास्त्रमा उल्लेख छ ।

पार्वण श्राद्धमा चार जना ब्राह्मण चाहिन्छ । तर चारैजना व्राम्हणहरु भेला गर्न नसकिने भएकाले ब्राह्मणको प्रतीकका रुपमा कुशको ब्राह्मण थापी काम चलाउने गरिएको छ । पहिले पहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राह्मण अगाडि राखेर पूजा गर्ने परम्परा थियो । त्यो परम्परा लोप हुँदै गएर श्राद्धमण्डपमा कुशको ब्राह्मण राखिएको हो । दुवै पट्टी दुई–दुई ब्राह्मणलाई क्रमशः विश्वदेव र पितृब्राह्मण भनिन्छ । अन्य श्राद्धको विधि जस्तै सुरूमा देव (मनुष्य) दिव्यपितृ र स्वपितृलाई तर्पण दिइसकेपछि पार्वण श्राद्ध सुरू हुन्छ । यसपछि प्रत्येक ब्राह्मणलाई निमन्त्रणा गरिन्छ । पहिले पहिले अघिल्लै दिनमा गरिन्थ्यो । ब्राह्मण निमन्त्रणपछि भूस्वामीलाई अन्नदान गरिसकेपछि चारै जना ब्राह्मणलाई विधिपूर्वक सिधादान गरिन्छ । यसपछि विकरलाई छुट्टै दान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ । प्रत्येक पितृलाई पिण्ड दिनुअघि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ । सोह्रश्राद्धमा पितृतर्फ र मातृतर्फका गरी तीनतीन पुस्ता, सासू ससुरा र गुरुसमेतलाई ससम्मान श्रद्धा गरिन्छ । देवता र पितृप्रति श्रद्धापूर्वक नियमित भक्ति गर्नको लागि यो श्लोक पनि आफ्नो नित्यकर्ममा समावेश गर्नसक्नु हुनेछ ।

देवताभ्यः पितृभ्यश्च महायोगिभ्य एव च । नमः स्वधायै स्वाहायै नित्यमेव नमो नमः ।।

अर्थ –‘देवता, पितृ, महायोगी, स्वधा (पितृपत्नी) र स्वाहा(देवपत्नी) सहितको लागि मेरो सर्वदा नमस्कार छ । (अग्निपुराण ः ११७.२२) श्राद्धको आरम्भ र अन्त्यमा यो मंत्र तीन पटक उच्चारण गर्नाले श्राद्ध गर्दा भएको त्रुटि क्षम्य हुन्छ । पितृ प्रसन्न भएमा आसुरी शक्तिको नाश भएर जानेछ ।

यस वर्ष कहिले कुन श्राद्ध गर्ने –

१. अश्विन ५ गते मंगलबार प्रतिपदा श्राद्ध
२. अश्विन ६ गते बुधबार द्वितीया श्राद्ध
३. अश्विन ७ गते बिहीबार तृतीया श्राद्ध
४. अश्विन ८ गते शुक्रबार चतुर्थी श्राद्ध
५. अश्विन ९ गते शनिबार पञ्चमी श्राद्ध
६. अश्विन १० गते आइतबार षष्ठी श्राद्ध
७. अश्विन ११ गते सोमबार सप्तमी श्राद्ध
८.अश्विन १३ गते बुधबारअष्टमी श्राद्ध
९. अश्विन १४ गते बिहीबार नवमी श्राद्ध
१०. अश्विन १५ गते शुक्रबार दशमी श्राद्ध
११. अश्विन १६ गते शनिबार एकादशी श्राद्ध
१२. अश्विन १७ गते आइतबार द्वादशी श्राद्ध
१३. अश्विन १८ गते सोमबार त्रयोदशी श्राद्ध
१४. अश्विन १९ गते मंगलबार चतुर्दशी श्राद्ध
१५. आश्विन २० गते बुधबार औंशी श्राद्ध
१६. आश्विन २१ गते बिहीबार घटस्थापना मातामह श्राद्ध ।

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस