बेलझुण्डी । वरपरका विद्यालयहरुमा धमाधम भौतिक उपस्थितिबिच कक्षा चलिरहँदा आयुर्वेद चिकित्सा शास्त्र अध्ययन गर्ने विएएमएसका विद्यार्थीहरु कक्षा माग्दै रजिष्टारको कार्यकक्षमा ताला लगाउन बाध्य छन् । अन्य स्कुलका बसहरुले विद्यार्थीहरु बोकिरहँदा भारत सरकारले विद्यार्थी बोक्नका लागि सहयोग गरेको केन्द्रीय आयुर्वेद विद्यापीठको बसले भने विश्वविद्यालयभरीका कर्मचारीलाई बोकिरहेको छ ।
लुम्बिनी प्रदेश सरकारले नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस भवनमा अस्थायी रुपमा सञ्चालन गरेको कोरोना विशेष अस्पताल दुई वर्षसम्म पनि स्थायीरुपमा व्यवस्थापन हुन नसक्दा आयुर्वेद चिकित्सा अध्ययन गर्दै आएका करीव ३ सय विद्यार्थीहरु दुई वर्षदेखि क्याम्पस जान पाएका छैनन् । प्रयोगात्मक कक्षामा समेत उनीहरुलाई मुस्किल भएको छ । निरन्तर प्रयोगात्मक कक्षा हुनुपर्ने प्राविधिक विषयलाई कोरोना संक्रमणको वाहनामा अनलाइनमा मात्रै सीमित गर्दा विद्यार्थीहरुले यसबाट न्युनतम ज्ञान समेत हासिल गर्न सकेका छैनन् । विश्वविद्यालय पदाधिकारीहरु भने यो विषयमा कानमा तेल हालेर बसिरहेका छन् ।
विद्यार्थीहरुले आफ्नो क्याम्पस माग्दै आन्दोलन थाल्दा उनीहरुको मागमा समर्थन जनाउने नेपाल संस्कृत विश्वविद्यालयका उच्च अधिकारीहरु नै आयुर्वेद चिकित्सा शिक्षालाई बेलझुण्डीबाट यो र त्यो वाहनामा विस्थापित गर्न चाहेको विश्वविद्यालय सम्बद्ध एक अधिकारीले बताएका छन् । ‘केही संस्कृतका गुरुहरु नै किन हो कुन्नि ने.स..वि.मा चल्दै आएको आयुर्वेद चिकित्सा शिक्षाप्रति सकारात्मक देखिनु हुँदैन’, ती अधिकारीले भने । खासमा नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीहरु नै गम्भीररुपमा प्रस्तुत नहुँदा तीन सय विद्यार्थीहरुको शिक्षा विगत दुई वर्षदेखि अन्योलको अवस्थामा छ । चार वर्षे विएएमएस ७ वर्षमा पनि पुरा हुन सक्ने अवस्थामा देखिंदैन ।
विद्यार्थीहरुले कोरोनाको संक्रमण न्युन हुँदै गएर अस्पतालमा बिरामीको संख्या अत्यन्तै न्युन भएको अवस्थामा अघिल्लो वर्ष पनि आफ्नो क्याम्पस माग गर्दै सडक आन्दोलन समेत गरेका थिए । सडक अवरुद्ध गरेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी दलवलसहित बेलझुण्डी आएर बाटो खुलाएका थिए । यो वर्ष पनि कोरोना संक्रमण न्युन भएको अवस्थामा विद्यार्थीहरुले क्याम्पस प्रशासनसँग आफुहरुको भौतिक उपस्थितिबीच पढाइ हुनुपर्ने माग गरे । प्रशासनले सुनेन । अन्ततः सोमबार उनीहरुले नेपाल संस्कृत विश्वविद्यालयका रजिष्टार माधव अधिकारीकै कार्यकक्षमा एक घण्टा ताला समेत लगाए । बेलझुण्डी, हेमन्तपुर मात्र नभएर इलाका प्रहरी चौकीका सुरक्षाकर्मीहरु समेत बोलाउन बाध्य भयो, ने.सं.वि. प्रशासन ।
तर विद्यार्थीका समस्याका विषयमा विश्वविद्यालयका रजिष्टार भने हल्कारुपमा प्रस्तुत हुँदै आएका छन् । विद्यार्थीहरुको भौतिकरुपमा पठनपाठन कहिलेदेखि हुन्छ ? सम्वाददाताको प्रश्नमा रजिष्टार माधव अधिकारीले भने, त्यो त क्याम्पसका प्राचार्यलाई सोध्न्स् । जहिले टिचर जुट्छन् त्यहिले पढाइ सुरु हुने रजिष्टार अधिकारीको अभिव्यक्ति थियो । दुई वर्षदेखि पटक पटक आन्दोलन भैरहँदा पनि रजिष्टार अधिकारीले दिएको यस्तो अभिव्यक्तिलाई विद्यार्थीहरुले पनि गम्भीरता नभएको अभिव्यक्तिका रुपमा लिएका छन् ।
नेपाल संस्कृत विश्वविद्यालयले अस्थायी कोरोना विशेष अस्पताललाई अन्यत्र व्यवस्थापन गर्नका लागि प्रदेश सरकारसँग अर्थपूर्ण पहल गर्न सकेको छैन । विश्वविद्यालयका केही उच्च पदाधिकारीहरु अस्पताललाई त्यहि राख्ने तर क्याम्पस र शिक्षण अस्पताललाई अन्तै विस्थापित गर्ने गृहकार्यमा रहेका छन् ।
विश्वविद्यालयका जिम्मेवार पदाधिकारीहरुले क्याम्पस भवन अन्तै बनाउनका लागि भन्दै अघिल्लो आर्थिक वर्ष प्रदेश सरकारसँग ८० लाख रुपैया माग समेत गरेपछि प्रदेश सरकारले आयुर्वेद क्याम्पस भवन बनाउनका लागि ५० लाख रुपैया विश्वविद्यालयलाई उपलव्ध गराइसकेको छ । भवन कहाँ बनाउने भन्ने आन्तरिक कसरतमा विश्वविद्यालयका अधिकारीहरु लागिरहेका छन् । नेपाल संस्कृत विश्वविद्यालयले निर्माण गरिसकेको संरचनाको स्वामित्व प्रदेश सरकारलाई सुम्पने अभ्यास समेत सुरु भएको विश्वविद्यालय श्रोतले बताएको छ ।
‘क्याम्पस भवन विश्वविद्यालयमा फर्काउनका लागि गएको ५ महिनामा शुन्य प्रगति भएको छ, विद्यार्थीहरुलाई आन्दोलनमा होस्टेमा हैसे गर्नु खालि उच्च पदाधिकारीहरुको नाटक मात्रै हो’, ती अधिकारीले भने । विश्वविद्यालय आफ्नो भवनको स्वामित्वप्रति गम्भीर हुन्थ्यो भने अन्यत्रै क्याम्पस भवन बनाउनका लागि प्रदेश सरकारसँग पैसा लिनु उपयुक्त होइन । विश्वविद्यालयले प्रदेश सरकारलाई नै अस्पताल भवन बनाउनका लागि कुनै पनि उपयुक्त स्थानमा जग्गा उपलव्ध गराउन सक्थ्यो ।
आयुर्वेद अध्ययन संस्थानका डिन प्रा.डा. सन्जय पोख्रेलले विद्यार्थीहरुलाई क्याम्पस भवन हस्तान्तरणको अर्को विकल्प नरहेको भन्दै नेपाल संस्कृत विश्वविद्यालयका सबै पदाधिकारीहरुको अर्थपूर्ण पहलको आवश्यकता रहेको बताएका छन् । ‘आजको छाक टर्यो, भोलि हेरौंला’ भन्ने प्रवृत्ति हावी हुँदा अस्थायी कोरोना विशेष अस्पताललाई अन्यत्र व्यवस्थापनमै आनाकानी भैरहेको पनि डीन पाख्रेलले बताए ।
विद्यार्थीहरुको माग अत्यन्तै स्वाभाविक भएको भन्दै उपकुलपति लगायतका पदाधिकारीले अस्थायी कोरोना अस्पताललाई अन्तै व्यवस्थापनका लागि प्रदेश सरकारसँग अर्थपूर्ण पहल गर्नुपर्ने बताए । पछिल्लो समयमा कोरोनाको संक्रमण घटेर घोराही, लमही र तुलसीपुर अस्पतालमा गरी एक दर्जन पनि भर्ना बिरामी नभएको अवस्थामा एउटै स्थानमा कोरोना संक्रमितलाई उपचार हुने गरी दीर्घकालीन व्यवस्था गर्न पनि उनको आग्रह थियो ।
विद्यार्थीहरुले अब एक सातासम्म बाटो हेर्ने बताएका छन् । असोज ७ सम्म पनि आफ्नै क्याम्पसमा भौतिक उपस्थितिबीच पठनपाठन नभएको अवस्थामा अझै शसक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् । तत्कालीन अवस्थामा सरकारलाई सहयोग गर्न विश्वविद्यालयको पनि दायित्व भएको भन्दै सधैका लागि विद्यार्थीहरुको पढाइलाई गुमराहमा पारेर क्याम्पस भवन अस्थायी अस्पताललाई भर्पाइ गरिदिइरहन नहुने पनि विद्यार्थीहरुको भनाइ छ ।
क्याम्पस प्रमुख डा. मंगलाकान्त झाले आउँदो असोज ६ गतेदेखि विएएमएसको भौतिक उपस्थितीबीच पठनपाठन सञ्चालन हुने बताएका छन् । यसका लागि चाँडैनै विश्वविद्यालयको टोली प्रदेश सरकारसँग आग्रह गर्न बुटवल जाने बताए । तर प्रदेश सरकारबाट ल्याएको ५० लाख रुपैया कहाँ खर्च गर्ने भन्ने विषयमा नेपाल संस्कृत विश्वविद्यालय भने आन्तरिक कसरतमा रहेको बताइएको छ । विश्वविद्यालय पदाधिकारीहरुको जोडबल अस्पताल सार्नेमा भन्दा क्याम्पस भवननै अन्यत्र बनाउनेमा देखिएको छ ।