एकादेशमा एक जना राजकुमार रहेछन् । आफ्ना बाबु महाराजको मृत्युपछि उनले खोला किनारमा गएर तर्पण दिन लाग्दा एकैपल्ट तीन वटा हात अगाडी आएछन् । अचम्म मानेर उनले तीन वटा अलग अलग हात कसरी आए ? यसको अर्थ के हो ? भनेर वरिपरी हेरेछन् । कोही बुढापाकाले यसको अर्थ खोज्नका लागि नदी किनारमा बस्ने सेतै कपाल फुलेकी बुढीआमा कहाँ जान सुझाव दिएछन् । सोही किनारमा दशकौं बिताएकी ती बुढीआमा सामु गएर घटना विवरण दिंदै राजकुरमारले सोधेछन्—यो के भएको आमा ? के मेरा तीन वटा बाबु थिए ? ती आमाले राजकुमारलाई तिमीले पाखुरामा बाजु लगाएका छौ ? भनेर सोधिछन् । राजकुमारले ‘छ’ भन्दै बाजु देखाएपछि आमाले भनिछन्—हो राजकुमार, तिम्रा तीन वटा बाबु थिए । ती आमाको जवाफ पछि छक्क पर्दै राजकुमारले तपाई कसरी यस्तो भन्न सक्नुहुन्छ ? तपाईसँग के प्रमाण छ ? भनेर सोधेछन् । आमाले भनिछन्, त्यसको प्रमाण म आफै हुँ, म नै तिम्री त्यो अभाागी आमा हुँ ।
त्यसपछि राजकुमारको हात पक्डिएर उनले कहानी बताइन—म किशोरी थिएँ, म हुर्किएको देशको राजकुमारलाई ठूलो मुद्दा लागेपछि मृत्युदण्ड दिने निर्णय गरियो । जेलमा मृत्युदण्ड दिनु अघि अन्तिम इच्छाका बारेमा उनलाई सोधिएछ । उनले बिवाह गर्ने र कसैलाई जिन्दगीमा एक पल्ट आफ्नी पत्नी बनाएर मर्ने इच्छा ब्यक्त गरेछन् । फाँसी हुन लागेको राजकुमारलाई कसले पो छोरी दिन्थ्यो र ? मेरो परिवार गरिब थियो । बाबु आमा निर्धन थिए । गाउँमा कसैले राजकुमारलाई छोरी दिए जिन्दगीभर सुखी हुने कुरा मेरो बुवा र परिवारलाई बताएछन् । सम्पत्तिको लोभमा हत्कडी लागेका राजकुमारसँग मेरो बिवाह भयो । बिवाह त भयो तर हामीलाई सँगै बस्न दिइएन ।
घरपरिवारमा हामी असमान सम्बन्धहरुका बीच बाँची रहेका छौं । महिला, पुरुष र अन्य लिङ्गीबीचको बिभेदले आदर सम्मान जगाउदैन । समाजमा समानताको वातावरण हुनका लागि हाम्रा घर परिवारहरुमा समानताको ब्यवहार लागु गर्नु पर्ने हुन्छ ।
राजकुमार र म फलामको बार वारीपारी बस्थ्यौं । त्यतिकैमा दिन बित्दै गए, उनको मृत्युदण्डको दिन पनि आयो । हामीसँगै बस्न नसके पनि फालामे बारको प्वालबाट एक अर्काको हात समाउन भनें सक्थ्यौं । मृत्युदण्ड दिनु अघिल्लो रात राजकुमारको हात समाएर म खुब रोएँ । आखिर यो सबै जान्दाजान्दै तपाईले किन बिवाह गर्नु भो ? म अब कसरी जिन्दगी बिताउन ? भनें । उनले मसँग माफी मागे । मलाई एउटा बाजु, सुनको सिक्का र बहुमुल्य जुहारतहरु दिंदै भनें—तिमी यो बेच र राम्रो घर किन । एक जना यस्तो मान्छे खोज जसले तिमीसँग एक पल्टलाई शारीरिक सम्बन्ध राखोस् र त्याहाँबाट विदा होस् । उसको मुख थुन्नका लागि तिमी उसलाई सम्पति देउ र कहिल्यै फर्किएर नआउने बाचा गराउ । त्यसपछि तिमी गर्भवती हुनेछौ, छोरा जन्मिने छ । उ हाम्रो छोरा हुनेछ । यो बाजु बच्चालाई लगाइ देउ, आमाछोरा सुखका साथ जीवन बिताउ ।
राजकुमारलाई मृत्युदण्ड भयो, मैंले उनले भनें झैं गरें । तर त्यो मान्छे बेइमान निस्कियो । तिमी जन्मिएपछि त्यो फर्किएर आयो, मैंले अपनाउने कुरै थिएन । हामी आमा छोराको संसार बर्बाद नगर भनेर सम्झाउदा उसले मानेन । जबरजस्ती गरेपछि मैंले त्यसलाई मारें र घरको मझेरीमा गाडें । अब म त्यहाँ बस्न सक्ने अवस्था थिएन, तिमीलाई बोकेर त्याहाँबाट भागें । हिड्दै जाँदा नदी भटें र किनारमा तिमीलाई छोडें । परबाट आउँदै गरेका यो देशका राजाले तिमी रोएको सुनें । उनका सन्तान थिएनन, उनले तिमीलाई गोद लिए र राजकुमार बनाए । यसरी तिम्रा तीन वटा बाबु भए ।
सबै कुरा सुनि सकेपछि राजकुमारले आमालाई प्रश्न गरे—त्यसो भए, मेरा असली बाबु को हुन ? मैंले अब तर्पण कसलाई दिने त ? तिमीलाई ज–जसले जे गरेका भए पनि तिमी उही राजकुमारको अवधारणा हौ जोसँग मैले बिवाह गरेकी थिएँ । यदि उनले त्यसो नभनेका भए तिमी अहिले यो संसरमा हुने थिएनौं । अवधारणा सबै भन्दा ठुलो कुरा हो बाबु, तिमीले ति राजकुमारलाई नै आफ्ना पिता मान्नु पर्छ । तिमीले उनैको श्राद्ध गर, तर्पण देउ ।
कुनै पनि कुराको अवधारणा आफैमा कति ठूलो कुरा हो भन्ने कुरा माथि उल्लेखित कथाले स्पष्ट गर्छ । पछि बन्ने संरचना, नेतृत्वलगायतका कुराहरु जोडिएर आए पनि ती सबैभन्दा महत्वपूर्ण कुरा चाँही सपना कसले देख्यो र त्यसले कसरी साकार रुप लियो भन्ने हो । यो कुरा मुलुक, समाज, परिवारदेखि मानिसको ब्यक्तिगत जीवनमा समेत लागु हुन्छ । नेपाल देश बनाउने अवधारणा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको थियो । यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो भनेर अभिब्यक्ति दिनुको अर्थ मुलुक बनाउने उत्तरदायित्व सबै नेपालीको हो भन्ने हो । मुलुकलाई कसरी अघि बढाउने भन्ने कुरा समयसँगै परिवर्तन हुने ब्यवस्था र नेतृत्वको हो । तर अवधारणा अनुरुप मुलुक अघि बढ्न सकेको अवस्था छैन ।
यसैगरी हाम्रो समाज कता लाने ? कसरी अघि बढ्ने भन्ने बिषयमा एकअर्काको आदर र सम्मानलाई मुख्य केन्द्र बिन्दु बनायौं भनें समाज सधै शान्तिपूर्ण हुन्छ । समाजलाई यी दुई कुराले डोर्याउनु अघि परिवारमा हामीले यस्तो अवधारणा लागु गर्नु पर्ने हुन्छ । घरपरिवारमा हामी असमान सम्बन्धहरुका बीच बाँची रहेका छौं । महिला, पुरुष र अन्य लिङ्गीबीचको बिभेदले आदर सम्मान जगाउदैन । समाजमा समानताको वातावरण हुनका लागि हाम्रा घर परिवारहरुमा समानताको ब्यवहार लागु गर्नु पर्ने हुन्छ ।
हाम्रा पुर्खाले बाबुको सम्मानका लागि बाबुको मुख हेर्ने दिन, आमाको सम्मानका लागि आमाको मुख हेर्ने दिन, दिदी बैनीको सम्मान र मायाका लागि तीज, दाजुभाईप्रतिको आदर र मायाका लागि जनै पूर्णिमा र तिहार जस्ता रितिरिवाजहरुको अवधारणा बनाएका थिए । हामीमध्ये धेरैले अहिले यिनलाई पछ्याइ रहेका छौं । यसरी परिवारका सबै सदस्यका लागि एकअर्काप्रतिको सम्मान ब्यक्त गर्ने दिन तोकिनुको अर्थ वर्षभरी त्यस्तै सौहाद्र्धपूर्ण सम्बन्ध रहोस् भन्ने हो भनी बुझ्न गाह्रो पर्दैन । हाम्रा रितिरिवाजहरुको अवधारणा नराम्रो कुनै पनि छैन, हामीले अभ्यास गर्ने क्रममा तिनलाई कसरी अघि बढायौं त्यो हाम्रो दक्षता, क्षमता र नियतको कुरा भयो ।
मानिसको ब्यक्तिगत र ब्यवसायिक दुबै जीवनमा अवधारणाको महत्व बिशाल छ । तपाई के गर्न खोजी रहनु भएको छ ? जीवनप्रतिको दृष्टिकोण के हो ? तपाई आफूलाई कस्तो ब्यवहार गर्नुहुन्छ ? त्यसले हाम्रो जीवन शैलीलाई निर्देश गरिरहेको हुन्छ । त्यसैले अवधारणागत स्पष्टताका साथ जीवन अघि बढाउदा बाँच्न सहज हुन्छ । कुनै पनि काम गर्दा म किन गरिरहेको छु ? कुनै पनि ठाउँमा जाँदा म कहाँ गईरहेको छु ? कुनै पनि शब्द बोल्दा मेरो बोलीले कसलाई के असर या प्रभाव पर्छ ? जस्ता कुरामा स्पष्ट हुन जरुरी छ । कहिलेकाँही काम गर्दै जाँदा, जीवन बाँच्दै जाँदा सोचे जस्तो नहुन सक्छ जसरी माथिउल्लेखित कथामा ती महिला र राजकुमारले सोचे जस्तो भएको थिएन । अवधारणामा हामी स्पष्ट भयौं भनें जीवन त्यति ‘कमप्लिकेटेट’ हुँदैन जति हामी बनाइरहेका हुन्छौं ।