
२३ भदौ, तुलसीपुर । तुलसीपुरको आधुनिक बसपार्क निर्माण भएको करिब दुई वर्ष पुग्नै लागेको छ । दुई वर्षअघि करिब १० करोड ५० लाखको लागतमा निर्माण गरिएको बसपार्क दुई वर्ष नपुग्दै अस्तव्यस्त बनेको छ । नाम आधुनिक बसपार्क तर फोहरको सहि व्यवस्थापन नहुँदा स्मार्ट सिटीको आधुनिक बसपार्क नाममा मात्रै सीमित भएको छ ।
बसपार्कको सरसफाई र उचित ब्यवस्थापनको जिम्मा तुलसीपुर उपमहानगरपालिकाको भए पनि उपमहानगरपालिकाले सरसफाईमा ध्यान दिन नसकेको त्रिसिद्धेश्वरी यातायात प्रालिका प्रशासनिक प्रमुख कृष्ण केसीले बताए । ‘उपमहानगरपालिकाले हामीबाट कर मात्रै असुल्ने गरेको छ, सरसफाईमा चासो दिएको छैन् ।’ उनले भने–‘नगरको चासो नहुँदा आधुनिक बसपार्कको नामले बदनाम बनाएको छ ।’

यातायात व्यवसायी लगायत नागरिकबाट विभिन्न बहानामा उपमहानगरले कर मात्र असुल्ने गरेको उनको गुनासो छ । आधुनिक बसपार्क संरक्षणमा ध्यान पुग्न नसक्दा काउण्टरमा जाने मुख्य गेटको सेन्सरयुक्त ढोकासमेत फुटेको छ भने अन्य ठाउँका झ्यालका सिसा पनि फुटेका छन् । शौचालय लगायतका संरचनाको अवस्था पनि सहजैे अनुमान लगाउन सकिन्छ कि संरक्षण र सरसफाईमा कसैले ध्यान दिएको छैन ।
बसपार्क जस्तो स्थानमा जस्तो स्थानमा हप्तामा सातै दिन सरसफाईको व्यवस्थापन गर्नुपर्ने भए पनि त्यो पनि नियमित हुन नसकेको यातायात मजदुरहरुको गुनासो छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका जिल्ला अध्यक्ष केशब बहादुर भण्डारीले उपमहानगरपालिकाले कम्तिमा पनि दुई जना कर्मचारीलाई व्यवस्थापन गर्न सकेमा फोहर फाल्न कडाई गर्न सकिने बताए ।

‘बसपार्कमा फोहर फाल्ने विषयमा कडाई नहुँदा पनि जथाभावी फोहर फाल्ने क्रम बढेको छ ।’ उनले भने–‘यस्तो अवस्थामा नगरले दुई जना कर्मचारी राखेर फोहर फाल्नेलाई कडाई गर्न सक्नुपर्छ , तब मात्रै फोहरको उचित व्यवस्थापन हुन सक्थ्यो ।’ तुलसीपुर बजारक्षेत्रको फोहोर व्यवस्थापनको लागि तुलसीपुर उपमहानगरपालिकाको सरसफाई ब्यवस्थापन शाखाले काम गरे पनि पर्याप्त हुन नसक्दा बसपार्क दुर्गन्धित बनेको हो ।
शाखाले पूर्वाधार अभावमा बजार क्षेत्र अझ त्यसमा पनि बसपार्क क्षेत्रको फोहोरमैलाको उचित ब्यवस्थापन गर्न नसकिएको स्वीकार गरेको छ । नगरले बसपार्क क्षेत्रको फोहोर चाडै ब्यवस्थापन गरिने सरसफाई ब्यवस्थापन तथा सरसफाई शाखा प्रमुख काजु शर्माले बताए । ‘फोहर व्यवस्थापनका लागि हामीसँग पर्याप्त साधनको अभाव छ, तैपनि जेतनेत चलाइरहेका छौँ ।’ उनले भने–‘बसपार्क फोहर बढ्दै गएको अवस्थामा अब हामीले तत्काले फोहर व्यवस्थापनमा ध्यान दिने छौँ ।’
बसपार्क क्षेत्रको सरसफाई, संरक्षण र सम्बद्र्धनमा उपमहानगरपालिकाले ध्यान नदिएको गुनासो बढेको छ । आधुनिक बसपार्क स्थापना भएपछि देशकै उत्कृष्टको सम्मान पाइसकेको अबस्थामा बसपार्क क्षेत्रको संरक्षणमा नगरको ध्यान पुग्न सकेको छैन ।
बसपार्कको फोहर व्यवस्थापनका लागि तत्काल ध्यान दिने उपमहानगरपालिकाका प्रवक्ता सुर्यबहादुर डाँगीले बताए । ‘बसपार्कको सरसफाईमा सबैको ध्यान पुग्न आवश्यक छ ।’ उनले भने–‘सरसफाईका लागि नगरले अभिभावकीय दायित्व निर्वाह गर्छ ।’ बसपार्कमा धेरै ठाउँका नागरिक आउजाउ गर्ने भएकाले पनि पर्यटनसँग सम्बन्धित क्षेत्र हो तर नमुना बसपार्कको उपमा पाएको नयाँ बसपार्कलाई बदनाम गरिदिएको छ ।

दैनिक करिब २ सय सवारीमा पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका हजारौँ यात्रु बस चढ्ने र ओर्लिने तुलसीपुरको नयाँ बसपार्क अस्तव्यस्त हुँदा आधुनिक बसपार्कको नाम नै बदनाम हुन थालेको छ । करिब पाँच बिगाह क्षेत्रफलमा फैलिएको बसपार्कमा काउण्टरदेखि सार्वजनिक शौचालय अस्तव्यस्त तरिकाले सञ्चालन भएका छन् ।
स्थानीय तहको निर्वाचन भएदेखि नै तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई स्मार्ट सिटी बनाउने योजना अघि सारेका छन् । स्मार्ट सिटीको एउटा सुचक आधुनिक बसपार्क हो । करिब डेढ वर्ष अघि २०७६ सालको पुसको अन्तिमतिर तुलसीपुरको आधुनिक बसपार्क सञ्चालनमा आयो तर व्यवस्थापन फितलो हुँदा आधुनिक बसपार्क अस्तव्यस्त बन्दै गएको छ ।
बसपार्क संरक्षणको अभावमा संरचनामा क्षति पुग्दै गएको छ भने फोहर व्यवस्थापन सहि नहुँदा फोहरले बसपार्क कूरुप बनेको छ । बसपार्कको मुख्य काउण्टर वरपर फोहरले भरिएको छ भने शौचालय पनि सरसफाईको अभावमा दुर्गन्धित बनेका छन् ।