दाङ, २ कार्तिक ।
आइतबार राति देखि भएको बर्षाका कारण दाङसहित देशभरको जनजीवन प्रभावित बनेको छ । बर्षाले थन्क्याउने बेलाको धान नै डुबाउँदा कृषकहरु मर्कामा परेका छन् । धान भित्र्याउने बेलामा वर्षाले धानबाली नष्ट गरेपछि किसानहरु वर्ष दिनसम्म के खाने भन्ने चिन्तामा डुबेका छन् ।
वर्षाले दाङका पनि विभिन्न स्थानमा काटेको धान र काट्न तयारी अवस्थामा रहेको धानबालीमा क्षति पुगेको छ ।
दंगिशरण गाउँपालिकाको वडा नम्बर ६ को थप गाउँ र वडा नम्बर १ को रहरपुरमा करिब २५ बिगाह क्षेत्रफलमा धानबाली डुबानमा परेको गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काले जानकारी दिनुभयो । दुई वडा वडामा बढीमात्रामा क्षेति पुगेको र अन्य वडामा पनि अविरल पानीले धानबालीमा क्षति पुगेको उहाँले बताउनुभयो ।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिका , घोराही उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका बबई गाउँपालिकासहित देउखुरीका पालिकामा पनि पानीले धान बालीमा क्षति पुर्याएको छ ।
खेतका गह्रामा पानी जमेपछि काटेको धान डुुवानमा पर्दा किसानहरुले पानीबाट निकालेर पानी नजम्ने ठाउँमा थुपारेका छन् । खोलामा भेल बढेका कारण पनि खेतमा पानी जलमग्न हुदा काटेर फिजेका धान डुुवानमा परेको हो ।
लामो मेहनत र लगानी गरेर भित्र्याउने अबस्थामा बर्षाले धानमा क्षति पुुर्याएपछि चिन्ता बढेको गढवाका किसान सुुन्दर चौधरीले बताउनुुभयो । जिल्लाका विभिन्न खोला एंव नदी आसपासमा काटेको धानबाली बाढीले बगाएको छ ।
यसैगरी, धेरै ठाउँहरुमा हावाले धान ढलाएको छ । नकाटेका धान पनि हावाले ढालेको किसानहरुले बताएका छन् । यता कृषि ज्ञान केन्द्र दाङले दसंै अघि करिब २० प्रतिशत किसानले धान काटेको जनाएको छ ।
जिल्लामा ३९ हजार हेक्टर क्षेत्रफलमा धानखेती भएको र दसैं अगाडि २० प्रतिशत धान काटेको अनुमान रहेको केन्द्रका सूचना रुद्रमणि अधिकारी पौडेलले जानकारी दिनुुभयो ।
बर्षाले काटेको धानबालिमा ठूलो क्षति पुगेको तर बर्षा नरोकिएकाले क्षतिको बिवरण भने प्राप्त भइ नसकेको उहाँको भनाई छ । दश वटै स्थानिय तहका कृषि शाखाहरुले बर्षाले धानबालिमा पुर्याएको क्षतिको बिवरण संकलन सुरु गरेको उहाँले जानकारी दिनुुभयो ।
बर्षाले काटेर राखेको धानबालिमा ठूलो क्षति पुगे पछि किसानले अब कसरी छाक टार्ने भन्ने चिन्ता गर्न थालेका छन् ।
मनसुन सकिने बेला बाढी पहिरो आउने गरि वर्षा हुनुलाई विज्ञहरुले जलवायु परिवर्तनको असर भनेका छन् । मनसुन सकिएपछि हुने अप्रत्यासित वर्षाले धेरै मानवीय र भौतिक क्षति गराउने सम्भावना रहने जलवायु विज्ञको भनाई छ ।
नेपाल सरकार सँग मौसम जन्य विपद्को पूर्वसूचना चुस्त दुरुस्त नभएका कारण यस्ता वेमौसमी बर्षा लगायतका विपद्को क्षति न्युनीकरण गर्न नसकिएको जलवायु विज्ञ बताउँछन् ।
यसैबिच मौसमको अवस्था बुझेर मात्रै धान भित्राउन कृषि विज्ञले सुझाव दिएका छन् । धान पाके पनि पानीले भिजाउनु भन्दा केही दिन पर्खनु नै उपयुक्त हुने धानबाली विज्ञ हरिकृष्ण उप्रेतीले बताउनुुभयो । धान काटेर खेतमै छोड्दा नोक्सान हुने भएकाले मौसममा सफा आए मात्रै धान काट्नुपर्ने उहँँको सुझाव छ ।