मा.वि.कालाखोलामा ‘सुनाखरी तुलसीपुर सिकाई मेला’
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित माबि कालाखोलामा ‘सुनाखरी तुलसीपुर सिकाई मेला’ २०७९ सम्पन्न भएको छ ।
तुलसीपुर उपमहानगरपालिका भित्रका बिभिन्न ८ वटा बिद्यालय र तुलसीपुर उपमहानगरपालिकाको कार्यालयको संयुक्त आयोजना तथा टिचफर नेपालको प्राविधिक सहयोगमा एकदिने सुनाखरी तुलसीपुर सिकाई मेला मावी कालाखोलामा भएको हो ।

‘प्रर्दशनी र अन्तरक्रियामा आधारित शिक्षा,समूह कार्य र अनुभव आदानप्रदान सबैको इच्छा’ भन्ने मुल नाराका सुरु भएको सिकाई मेलाको उद्धघाटन शिक्षाबिद् डा. विद्यानाथ कोइरालाले गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले नेतृत्व परिवर्तन गर्नका लागि विद्यार्थीहरुलाई मार्सवादी बनाउनुपर्ने तर्क गर्नुभयो । ‘विद्यार्थीहरुलाई सृजनशिल बनाउन ठुलो काम गर्नुपर्दैन,जस्तो छ त्यसलाई भिन्दै तरिकाले सोचे मात्र पनि पुग्छ,उहाँले भन्नुभयो,तर त्यसका लागि शिक्षकहरुमा चिन्तन ल्याउन जरुरी छ । उहाँले मेलाले विद्यार्थीलाई आधुनिक ज्ञानसगं जोडेर गुणयुक्त बनाउन मद्धत गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा बरिष्ठ कलाकार सुनिल थापाले विद्यार्थीहरुले मनबाट पढेमा मात्र सफल हुने बताउनुभयो । मावि कालाखोला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले तुलसीपुरलाई शिक्षाको ज्ञान केन्द्रका रुपमा बिकास गर्ने बताउनुभयो । त्यस्तै उपप्रमुख स्यानी चौधरीले पढाईलाई गुणस्तरसगं जोडेर लैजाने तर्क गर्नुभयो ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावत, मावी कालाखोला बिद्यालय ब्यबस्थापन समितिका पुर्व अध्यक्ष जोगेन्द्र विश्वकर्मा,तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष रामबहादुर जिसी लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी संगीत डिसी र प्रमिला वलिले गर्नुभएको थियो ।
४१ स्टलमा विभिन्न प्रर्दशनी
८ वटा विद्यालयको संयुक्त आयोजनामा सञ्चालित सुनाखरी तुलसीपुर सिकाई मेलामा विद्यार्थीहरुले निर्माण गरेका वस्तु प्रदर्शन गरिएको थियो । ४१ वटा स्टलमा बिभिन्न विद्यालयका विद्यार्थीले तयार पारेका ३१ वटा प्रदर्शनी, फुड स्टल १,ब्यापारीक स्टल २, खेल स्टल ३, कलेज स्टल २ हेल्थ डेक्सक २ स्टल राखिएको थियो। प्रदर्शनी हेर्न पुगेका विद्यार्थी,अभिभावक, नागरिक, शिक्षक, बिभिन्न पेशाकर्मीले चासोका साथ जानकारी लिएका थिए । सुनाखरी तुलसीपुर सिकाइ मेलाबाट बालबालिकाहरुले सिकाइ आदानप्रदान गरेको सञ्चार उपसमितिका संयोजक लक्ष्मी न्यौपानेले जानकारी दिनुभयो ।
सिकाई मेलामा कम्तीमा ५ हजार विद्यार्थीहरुलाई अवलोकन गराउने लक्ष्य लिइएको थियो तर मेलामा लक्ष्य भन्दा धेरै विद्यार्थीहरुले अवलोकन गरेका छन । संयोजक लक्ष्मी न्यौपानेका अनुसार सिकाई मेलामा करिब ७ हजार बढी विद्यार्थीहरुले अवलोकन गरेका छन ।

मेलाले दिगो विकासको लक्ष्य प्राप्त गर्न मद्दत पु¥याउने,सिक्ने र सिकाउने प्रयोगात्मक विधिलाई सवलीकरण गर्ने, बिद्यार्थी, शिक्षक र शैक्षिक अभियन्ता बिच बलियो सञ्जाल निर्माण गर्ने अवसर प्रदान गर्न, शिक्षक र बिद्यार्थीलाई सिक्ने सिकाउने अवसर खुला रुपमा प्रदान गर्न र नेतृत्व विकास गर्न सक्ने सीपको विकास भएको मूल आयोजक समितिले जनाएको छ । टिच फर नेपालसँग सहकार्य गरेका तुलसीपुर उपमहानगरपालिका भित्रका सरस्वती माबि दमारगाउँ, अम्बेश्वरी माबि अम्बापुर, माबि प्रतापकोट, माबि भित्री सक्राम, नवजागरण माबि कुटेचौर, माबि बालापुर र जनज्योती माबि तुहिरनियापुर संयुक्त आयोजनामा सिकाइ मेला भएको हो ।
उक्त मेलामा तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालयका शिक्षक,विद्यार्थी र अभिभावकहरुको सहभागिता रेको थियो । तुलसीपुरले २०७५ साल देखि टिचफर नेपालको सहकार्यमा विभिन्न विद्यालयहरुमा सिकाई मेला आयोजना गर्दै आएको छ ।
एक दिने सिकाई मेलाको मुख्य प्रायोजकमा राष्ट्रिय बाणिज्य बैंक रहेको थियो भने सह–प्रायोजकमा तुलसीपुर मेट्रो कलेज रहेको थियो ।