तोकिएको समय भन्दा ५ महिना अघि सम्पन्न उद्घाटनको तयारीमा सिस्नेका जुम्ल्याहा पुल
दाङ । समय नपुगेका जुम्ल्याहा हुन् यी । अहिले विधिवत रुपमा चल्नकालागी आतुर छन् । प्रदेश सरकारको बजेटमा निर्माण सम्पन्न भएका यी जुम्ल्याहा पुल संभवतः जिल्लामा पहिलो पटक देखिएको स्थानियबासीको दावी छ ।
घोराही उपमहानगरपालिकाको कुइरेपानी देखि सर्रा जोड्ने सडक । जुन सडकले कुइरेपानी क्षेत्रलाइ पवित्र धाम धारपानी मन्दीर सम्म पनि जोड्छ । यो सडकलाइ दामोदर सडकका नामले पनि चिनिन्छ । सोहि सडक खण्डको सिस्ने खोलामा निर्माण सम्पन्न भएका यो पुल उद्घाटन भने भएको छैन । निर्माण कम्पनीले सडक पुर्वाधार कार्यालयलाइ हस्तान्तरण गरेसंगै कार्यालयले यो पुललाइ विधिवत रुपमा उद्घाटनको चांजोपाजो मिलाउने छ ।
पुल निर्माण तोकिएको समय भन्दा अघिनै सम्पन्न भएपछि स्थानियबासी पनि निकै खुसी छन् । ‘हामीले आशा गरेका थिएनौं, कि यी जुम्ल्याहा पुल यो बर्षा अघिनै निर्माण सम्पन्न भैसक्लान भनेर, तर निर्माण सम्पन्न भैसकेकोमा हामी निकै खुसी छौं’, स्थानिय आशाराम चौधरीले भने । खोला बढ्दा स्थानियहरुलाइ स्कुल पुग्न समेत समस्या हुन्थ्यो । तर अव यो बर्षादेखि यो समस्या टरेर गएको छ ।
एकै स्थानमा दुइ वटा पुल निर्माण भएको देख्दा स्थानियहरुले यसलाइ जुम्ल्याहा पुलको नाम पनि दिएका छन् । पुल हेर्न आउनेहरु पनि बढेका छन् । टिकटक र फेबुकमा भाइरल भएका छन् यी पुलहरु । पुलमा पुग्दा दुइ जोडिहरुले टिकटक बनाइरहेका देखिन्थे । फेसबुकमा तस्वीर देखेर पुल हेर्न आएको उनीहरुले बताए । स्थानियबासीका अनुसार अहिले पुल हेर्न र तस्वीर खिचाउन दर्जनौं मानिसहरु आउने गरेका छन् ।
पुल निर्माणको ठेक्का एलाइट कन्स्ट्रशन कम्पनी काठमाण्डौले पाएको थियो । सन २०२२मा निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता सन २०२० मे मा भएको थियो । बढिमा २८ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने समयावधि आउन अझै केहि महिना छ । तर निर्माण कम्पनीको कुशल क्रियाशिलताका कारण तोकिएको समय भन्दा अगावै पुल निर्माण सम्पन्न भएको स्थानियबासीले बताएका छन् ।
पुल निर्माण्को काम सुरु भएलगत्तै मुलुकमा विश्वव्याधि कोरोना भाइरसको संक्रमणको महामारी फैलियो । कोरोना संक्रमणका कारण धेरै विकाश निर्माणका परीयोजनाहरु अवरुद्ध भए । कहिकतै पनि तोकिएको समयमा निर्माण सम्पन्न हुने अवस्था नआएपछि निर्माण व्यवसायी महासंघको आग्रहमा सरकारले मुलुकभरका विकाशे परीयोजनाको म्याद थप गर्यो । तर सिस्नेखोला पुल निर्माणको कामलाइ भने कोरोनाको संक्रमणले कत्तिपनि असर गरेन । ‘हामी आफै संक्रमित भयौ, प्राविधिक कर्मचारीहरु पनि धेरै संक्रमित भएर साइटमै क्वारेन्टाइन निर्माण गरेर बस्यौं, तर हामीले काम भने कहिल्यै रोकेनौं’, एलाइट कन्स्ट्रक्शनका व्यवस्थापक अच्युत लम्सालले पत्रकारलाइ बताए ।
मुलुकभर कोरोनाको संक्रमण भैरहंदा पनि पुल निर्माणका क्रममा यहांको स्थानिय सरकार र प्रहरी प्रशासनबाट काममा कुनै अवरोध नभएको निर्माण कम्पनीले जनाएको छ । दुवै पुल ३÷३ स्पानका छन् । दुवै पुलको लम्वाइ ९०÷९० मिटर रहेको परीयोजनामा उल्लेख गरिएको छ । पुल निर्माण मुल्य अभिवृद्धि कर सहित १९ करोड ६० लाख १४ हजार ७ सय ९९ रुपैया रहेको निर्माण कम्पनीले जनाएको छ । यस अघि घोराही—तुलसीपुर सडक खण्डको ग्वारखोलामा पनि तोकिएको समय अगावै पक्कि पुल निर्माण सम्पन्न भएको थियो । अन्य पुलहरु भने म्याद थप नभै सम्पन्न भएका थिएनन् ।